सुन्दर भविष्यको यात्रामा पासाङ्गचोमु

आजभन्दा २५ वर्ष अगाडि ताप्लेजुङ्ग जिल्लाको सामान्य परिवारमा पासाङ्गचोमु शेर्पाको जन्म भएको हो । उनको परिवारमा आमा बुवा सहित ३ बहिनी र १ भाइ छन् । उनी परिवारको जेठी छोरी हुन् ।

घरको आर्थिक अवस्था अत्यन्त दयनिय थियो । आफ्नो वारीमा फलेको अन्नले वर्ष धान्न पुग्दैन थियो । गरिब भए पछि ऋण पनि कसैले दिदैनथ्यो । कसरी परिवार चलाउने उनको बुबाको ठूलो चिन्ता थियो । छोराछोरीलाई खुवाउनै पर्यो । बुबाले सबै कुरा नभने पनि त्यो समस्या उनले नजिकबाट महसुस गरिरहेको थिईन् ।

बुबाको दुःखलाई कसरी सहयोग गर्ने ? उनको मनमा खेलिरहेको थियो । अन्नत उनले आर्थिक अवस्था  सुदृढ गर्ने आशामा वि स. २०५९ मा द्धन्द्धकालको समयमा जनयुद्धमा होमिईन् । भूमिगत भएपछि घरको आर्थिक अवस्था र देशको मुक्तिको लागि अगाडि बढि नै रहिन् ।

 

A woman with physical disability who is selling handicrafts

मुक्तिका लागि लड्दा कयौ ठक्कर खादैं अगाडि बढ्ने क्रममा २०६१ सालमा सेनासँगको दोहोरो भिडन्तमा बम पड्किदा उनी बमको धमाकामा परिन् । जसको कारण उनको शरीरको तल्लो भाग नचल्ने भयो । उपाचार गरिन् । तर विसेक भएन । अन्नतः उनी शारिरीक अपाङ्गता भएको व्यक्ति बनिन् ।

यसरी उनको जीवनले अर्को मोड लियो, सोच्दै नसोचेको कुरा भएपछि उनको जीवन झनै कष्टकर बन्दै गयो । आर्थिक हिसावले मात्रै होइन अब मानसिक हिसावले पनि तनाव बढ्दै गयो । के गर्ने, कसो गर्ने ? अगाडिको बाटो बुझ्नै सकिनन् । ५ बर्ष भुमिगत जीवनले उनलाई जीवन जीउने तरिका त सिकायो तर आर्थिक अवस्था भने जस्ताको त्यस्तै नै भयो ।

उनले ताप्लेजुङ्ग छोडिन्, सामान्य जीवन जिउँदै झापा जिल्लाको दमक नगरपालिकामा बस्न थालिन्  । यसै समयमा २०७१ सालमा उनी राष्ट्रिय अपाङ्ग महासंघले गठन गरेको सृजनसील अपाङ्गता महिला समुहको सम्पर्कमा पुगिन् । समुहमा सदस्य भएपछि उनलाई सीपमुलक तथा आयआर्जन कार्यक्रम अन्तरगत ३ महिने “गुडिया तथा कुसन ” बनाउने तालिम लिने मौका मिल्यो । यसले सीप मात्रै होइन जीवन जिउने कलापनि सिकायो ।

उनी भन्छिन्, यसले मेरो दिमाग नै परिवर्तन गरिदियो । मैले सोचें अब यसैको माध्यमबाट केही काम गर्छु । फलस्वरुप सजावटका सामान बनाउदै विक्री गर्न थालें । यसको लागि मैले महिला समुहबाट शुरुमा १० हजार र त्यसपछि ३० हजार ऋण लिएँ । जसको कारणले गर्दा मलाई व्यवसाय गर्न समस्या भएन । पसल पनि राम्रै चल्न थाल्यो ।

यसका साथै अन्य गाविसका समुहहरुमा उनी प्रशिक्षकको रुपमा काम पनि गर्दैछिन् । यी काम गरेवापत उनले मासिक १५ हजार आम्दानी गर्ने गरेकी छन् ।

यसका साथै उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । वडा नागरिक मञ्चको सदस्य भए पछि गाउँको विकास योजना र कार्यान्वयनमा समेत सक्रिय छिन् । समाजमा हैसियत बढ्दै गएपछि द्धन्द्धकालमा छुटेको पढाइलाई समेत निरन्तरता दिदै छिन् । हाल उनीले हिमालय मा.बि. दमकबाट  कक्षा १२ उतिर्ण गरेकी छिन् । अपाङ्गता भएपछि उनले देखेको अन्धकारमय भविष्यलाई मेहनत र राष्ट्रिय अपाङ्ग महासंघको सहयोगमा सुन्दर भविष्यको यात्रा गरिरहेकी छिन् । उनको आम्दानीले उनी आफ्नो पढाई र परिवारको सहयोग गरिरहेकी छिन्  । उनको उज्वल भविष्यको लागि शुभकामना छ ।