पहुँचयुक्त कार्यस्थल

फिचर

सागर प्रसाई

Sagar Prasai

अपाङ्‍गताको क्षेत्रमा जब पहुँचयुक्तताको कुरा गरिन्छ, त्यसबेला हामी सबैको दिमागमा आइहाल्ने पहिलो कुरो भनेकै ह्विलचियर प्रयोगकर्ताहरूका लागि र्‍याम र अपाङ्‍गतामैत्री शौचालय निर्माण गर्नु भन्ने हुनेगर्छ । कुनै पनि स्थानलाई पहुँचयुक्त बनाउने कुरामा यी भौतिक पूर्वाधारको विकासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुर्इमतै छैन । तथापि, यी कुराले मात्र सबै प्रकृतिका अपाङ्‍गता भएका व्यक्तिहरूका लागि त्यस्ता स्थान पूर्णरूपमा पहुँचयुक्त भएको सुनिश्चित गर्न सकिंदैन । यसको अर्थ कुनै पनि स्थानमा पहुँचको कुरा गर्दा सबै प्रकृतिका अपाङ्‍गता भएका व्यक्तिहरूका निम्ति सहज हुने किसिमको वातावरण सिर्जना गर्ने योजना बनाउने तथा त्यसै अनुसार कामसमेत सम्पन्न गर्नुपर्छ भन्ने हो ।

अपाङ्‍गता भएका व्यक्तिहरूका निम्ति रोजगारीका अवसर सिर्जना गर्नु तथा पहुँचको सुनिश्चितताका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै कार्यस्थललाई पहुँचयुक्त बनाउनु हो । सबै किसिमका अपाङ्‍गता भएका व्यक्तिहरूका निम्ति कार्यस्थलहरू पूर्णरूपमा पहुँचयुक्त बनाउन त्यस्ता स्थान सबै प्रकारका अवरोधबाट मुक्त भएको सुनिश्चित गर्नुपर्ने हुन्छ । यस्ता अवरोध मुख्य गरेर तीन किसिमका हुन्छन्- भौतिक अवरोध, प्राविधिक अवरोध र अवधारणागत अवरोध ।

पहुँचका प्रकार

कुनै पनि कार्यस्थललाई पूर्णतया पहुँचयुक्त बनाउन त्यस्ता स्थानलाई तीन प्रकारले काम गर्नुपर्ने हुन्छ–

भौतिक पहुँच

भौतिक पहुँच विशेषतः आवागमनसँग सम्बन्धित छ । कुनै पनि व्यक्ति आफूले काम गर्ने ठाउँसम्म निर्बाधरूपमा पुग्नसक्नु र त्यहाँ पुगिसकेपछि पनि आफूले गर्नुपर्ने कामहरू अरू व्यक्तिसरह गर्नसक्ने वातावरण नै भौतिक पहुँच हो । कार्यस्थललाई भौतिकरूपमा पहुँचयुक्त बनाउन निम्न कुरा उपयोगी हुन्छन् :

  • कार्यस्थलमा ह्विलचियर प्रयोग गर्ने व्यक्ति सजिलै आउन-जान सक्ने व्यवस्था गर्ने । यसको अर्थ कार्यस्थलमा आउने-जाने बाटोमा रहेका सिँढी वा खुड्किला छन् भने ह्विलचियर हिड्नका लागि ‘स्लोप’ राख्ने । हरेक कोठाका ढोका ह्विलचियर पस्न सक्नेगरी चौडा तथा फराकिला बनाउने ।
  • शौचालयहरू अपाङ्‍गतामैत्री बनाउने । यसको अर्थ ढोकाहरू चौडा, कमोडको प्रयोग, समाउने डन्डीको प्रयोग, नचिप्लिने खालको, शौचालयभित्र ह्विलचियर छिराउने र आवश्यक परेको बखत सजिलै घुमाउन सकिनेगरीको चौडा ठाउँ हुनुपर्छ ।
  • हिँडडुल गर्ने बाटो (जस्तैः प्यासेजहरू) आदिलाई सफा र अवरोधहरूबाट मुक्त राख्ने ।
  • कुनै मेसिन वा कम्प्युटरहरू चलाउने काम हो भने त्यसलाई आवश्यकता अनुसार परिष्कृत गर्ने । (जस्तैः बस्ने कुर्सीको उचाइ, बटन थिच्नुपर्ने भए त्यो आकार वा रङ्ग परिवर्तन गर्ने आदि ।)
  • आगामी दिनमा कार्यस्थलमा कुनै पनि परिवर्तन भए अपाङ्‍गता भएका व्यक्तिहरूको सहजतालाई पनि ध्यानमा राखिने व्यवस्था भएको प्रणाली स्थापना गर्ने ।
  • कोठालाई उज्यालो बनाएर राख्ने ।
  • विभिन्न स्थानहरू जस्तैः शौचालय, बैठक वा कार्यक्रम हल आदिको दिशा देखाउनका लागि ठूला अक्षरमा प्रस्टरूपमा देखिनेखालका सङ्केत प्रयोग गर्ने, आदि ।

a man using wheelchair wheeling down the ramp

सूचना र प्रविधिगत पहुँच

भौतिक पहुँच जस्तै सूचना र प्रविधिगत पहुँचले पनि कार्यस्थललाई पहुँचयुक्त बनाउन सघाइरहेको हुन्छ । सूचना र प्रविधिगत पहुँच भन्नाले कार्यस्थलमा उपलब्ध हुने सबै प्रविधि तथा कार्यालयबाट उपलब्ध हुने सूचना सबै अपाङ्‍गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त हुनु हो । यसका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्छ :

  • कार्यालयको वेबसाइट तथा अन्य सूचना प्रदान गरिने पद्धति एवं स्थानहरूलाई पहुँचयुक्त बनाउने ।
  • काम गर्ने सिलसिलामा प्रयोग गर्नुपर्ने मेसिनरी सामान वा कम्प्युटर आदिलाई थप हार्डवेयर र सफ्टवेयरको प्रयोग गरेर पहुँचयुक्त बनाउने ।
  • कार्यस्थलमा आफ्नो दैनिक कार्य गर्नका लागि प्रयोग गर्नुपर्ने कुनै सफ्टवेयर छ भने त्यसलाई पहुँचयुक्त बनाउने ।
  • कार्यस्थलमा नयाँ आवेदन माग्दा यदि अनलाइन आवेदनको प्रक्रिया प्रयोग गरिन्छ भने त्यस्तो अनलाइन प्रणालीलाई पनि पहुँचयुक्त बनाउने ।
  • बहिरा एवं साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्तिहरूका निम्ति दोभासेको व्यवस्था गर्ने ।

 

अवधारणागत पहुँच

कुनै पनि कार्यस्थल भौतिक र प्रविधिगतरूपले पहुँचयुक्त भएर पनि यदि अपाङ्‍गता भएका व्यक्तिलाई तिनको कार्यस्थलमा स्वागत हुँदैन भने त्यस्तो ठाउँलाई पूर्णरूपमा पहुँचयुक्त मान्न
सकिंदैन । यस्ता अवरोधहरूलाई अवधारणागत अवरोध भनिन्छ ।

संसारका धेरैजसो कार्यस्थलमा अपाङ्‍गता भएका व्यक्तिहरूलाई निम्न अवधारणगत अवरोधहरू हुन्छन् :

  • उनीहरूलाई “दोस्रो दर्जाको” कर्मचारी मान्ने गरेको पनि पाइन्छ ।
  • अरूले उनीहरूप्रति बढी दयाको भावले हेर्ने गर्छन् ।
  • अरू व्यक्तिसरह स्वावलम्बी जीवन बिताइरहेका अपाङ्‍गता भएका व्यक्तिलाई “विशेष” वा “बहादुर” को रूपमा हेर्ने गरिन्छ ।
  • कतिपय त अपाङ्‍गतालाई सरुवा रोग जस्तो ठानेर तर्किन खोज्छन् ।
  • अपाङ्‍गता भएको व्यक्तिको दिमागले पनि राम्रोसँग काम गर्दैन वा अन्यको भन्दा अति विशिष्ट तरिकाले चल्छ भन्ने सोचिन्छ ।
  • अपाङ्‍गताका बारेमा सकारात्मक र नकारात्मक दुवै किसिमका भ्रम सिर्जना गरिएको छ ।
  • आफूले गलत बोलेर वा गरेर अपाङ्‍गता भएका व्यक्तिहरूलाई नराम्रो लाग्ने हो कि भनेर पनि अन्य कतिपय मानिस टाढा हुनेगर्छन् ।

यस्ता किसिमका अवधारणगत अवरोध हटाउन अपाङ्‍गता नभएका कर्मचारीलाई अपाङ्‍गताका बारेमा आधारभूत तालिम दिनु सबैभन्दा प्राथमिक समाधान हो । यसका साथै अपाङ्‍गता भएका र नभएका कर्मचारीलाई एक अर्कालाई बुझ्ने मौका दिने कार्यक्रमहरू आयोजना गर्नु पनि जरुरी हुन्छ ।

a visually impaired girl speaking on telephone in her office

यी फरकखाले अवरोधहरूलाई हटाएर कार्यस्थललाई पहुँचयुक्त बनाउन सबैभन्दा पहिले यी अवरोधहरू कुन कुनरूपमा रहेका छन् भनेर पत्ता लगाउनु जरूरी हुन्छ । यो प्रक्रियालाई एक्सेस अडिट (Access Audit) वा पहुँच परीक्षण भन्ने गरिन्छ । यस्तो परीक्षण गर्न पहुँचयुक्तताका विषयमा विज्ञता हासिल गरेका प्राविधिक व्यक्ति तथा अपाङ्‍गताका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिको सहयोग लिनु आवश्यक हुन्छ । यो परीक्षणबाट आएको प्रतिवेदन र त्यसमा उल्लिखित सुझावहरूका आधारमा कार्यस्थलमा रहेका विभिन्न अवरोध हटाएर एवं पूर्ण वा स्थायीरूपमा हटाउन सम्भव नभए न्यून गरेर वा उपयुक्त अनुकूलताको प्रयोग गरेर पनि त्यस्ता स्थानलाई अपाङ्‍गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त बनाउन सकिन्छ । यसरी तयार हुने पहुँचयुक्त कार्यस्थलले अपाङ्‍गता भएका व्यक्तिहरूलाई आफ्नो सीप एवं क्षमता अनुरूपको काम गर्न र कार्यालयको उत्पादकत्व बढाउनसमेत मद्दत गरिरहेको हुन्छ ।

कार्यस्थललाई पहुँचयुक्त बनाउनाले अपाङ्‍गता भएका कर्मचारीहरूलाई मात्रै नभर्इ संस्थागतरूपमा कार्यालय एवं त्यहाँ काम गर्ने अन्य कर्मचारी तथा त्यस कार्यालय वा व्यापारिक प्रतिष्ठानबाट सेवा लिने व्यक्तिहरूलाई समेत फाइदा हुनेगर्छ । उदाहरणका लागि एउटा सुपरमार्केटले आफ्ना कर्मचारीको सहजताका लागि आफ्नो कार्यस्थललाई पहुँचयुक्त बनाउनाले अपाङ्‍गता भएका ग्राहक एवं उनीहरूका नजिकका मानिससमेत अवरोधमुक्त रूपमा किनमेल गर्न त्यही सुपरमार्केटमा आउने गर्छन्, जसले गर्दा त्यहाँको व्यापारमा पनि बढ्छ । यसका साथै अन्य अपाङ्‍गता नभएका ग्राहकलाई समेत त्यस कुराले आकर्षण गरिरहेको हुन्छ ।

फेरि अपाङ्‍गता भएका व्यक्तिहरूलाई लक्ष्य गरेर छुट्टै संरचना वा कार्यस्थल बनाउनुपर्ने पनि होइन । त्यसैले अब तयार गरिने कार्यस्थल वा संरचनाहरू कुनै व्यक्ति वा समुदायविशेषलाई होइन बरु सबैजसो व्यक्ति एवं समूहलाई सहज हुनेगरी “Universal design” अर्थात विश्वव्यापी मापदण्डबमोजिम तयार गरिनुपर्छ, जुन विश्वव्यापीरूपमै स्वीकार्य मान्यता हो । त्यसलाई विकसित राष्ट्रहरूले अनिवार्य शर्तका रूपमा लागू गरिसकेका छन् । त्यसो भयो भने अपाङ्‍गता भएका व्यक्तिहरूलाई समेत सहज हुनेछ । अन्य व्यक्तिहरूलाई अप्ठ्यारो पर्ने त झन् कुरै हुँदैन ।

यसरी हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने अपाङ्‍गतामैत्री कार्यस्थल बनाउनु भनेको नै सबैका निम्ति सहज संरचना बनाउनु हो । उदाहरणका निम्ति भवनहरूमा सिँढीहरूको सट्टा र्‍याम्पको व्यवस्था गर्दा, बाहिर एवं भित्रसमेत खुला स्थान वा फराकिलो ठाउँको व्यवस्था गर्दा, जोखिमपूर्ण स्थानहरूमा समाउने चिज वा रेलिङको व्यवस्था गर्दा, बाटो वा दिशासूचक सङ्केतहरू राख्दा वा यस्तै अन्य व्यवस्थाहरू गर्दा अपाङ्‍गता भएका व्यक्तिहरूलाई मात्र नभर्इ सबै प्रकारका व्यक्तिलाई समेत सहज हुने कुरामा कसैको दुईमत हुनेछैन ।

(लेखक राष्ट्रिय अपाङ्‍ग महासङ्घ नेपालमा परियोजना संयोजकका रूपमा कार्यरत हुनुहुन्छ । वहाँलाई aware@nfdn.org.np मा सम्पर्क गर्न सकिन्छ।)