निर्मलाको संघर्षको कथा
विगतमा गृहिणीको रूपमा सिमित कैलालीकी निर्मला विष्टले यतिबेला संस्थाको नेतृत्व गर्न गरिरहनु भएको छ । विभिन्न कार्यक्रममा सहभागी हुनथालेपछि आफूमा ज्ञानको स्तरमा निकै बढेको उहाँ बताउनुहुन्छ ।
कुनैबेला नयाँ मान्छेहरूसँग बोल्नसमेत डराउने निर्मला आज आफ्नो छोरा र अन्य बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार स्थापित गर्न स्थानीय सरकार तथा प्रदेश सरकारसँग पैरवी गर्ने कार्यमा निकै अगाडि हुनुहुन्छ ।
आफ्नो क्षेत्रका महिलाको प्रेरणास्रोत बनेकी निर्मला हाल राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको सहसचिव जस्तो गरिमामय जिम्मेवारीसमेत उत्तिकै उत्कृष्ट ढंगले निर्वाह गरिरहनु भएको छ ।
एक सामान्य गृहिणीबाट महासंघको प्रदेश सहसचिवसम्मको उहाँको यात्रा साँच्चै नै संघर्षमय र प्रेरणादायी छ । उहाँको स्नेह पाएका उहाँका छोरा प्रशान्तको जीवनशैली पनि निकै फेरिएको छ ।
एक समय थियो जतिबेला प्रशान्तलाई आफ्नो शरीरमा कपडा भए/नभएको समेत थाहा हुँदैन थियो । उहाँको छेउमा कोही गयो कि कोपर्ने र चिथोर्ने गर्नुहुन्थ्यो तर आज उहाँ एक सामान्य मानिससरह जीवनयापन गरिरहनु भएको छ ।
आधारभूत तहको अध्ययनसमेत पूरा गरेका प्रशान्त सूचना प्रविधिको प्रयोगमा समेत आफ्ना साथीहरूभन्दा अगाडि हुनुहुन्छ । यसरी उहाँलाई सामाजिकीकरण गर्न उहाँकी आमाको योगदान अतुलनीय छ ।
धनगढी उप-महानगरपालिका- ३ निवासी निर्मला विष्टले आजभन्दा करिब १९ वर्ष अघि अर्थात २०६२ सालमा आफ्नो जेठो सुपुत्रको रूपमा प्रशान्तलाई जन्म दिनुभयो । पहिलो सन्तानको रूपमा छोरा भएपछि उहाँलाई परिवारका सबै सदस्यहरूको अत्याधिक माया प्राप्त हुनथाल्यो । त्यसले उहाँलाई हर्षित बनाउनु त स्वाभाविक नै थियो । यसरी उहाँको वैवाहिक एवं पारिवारिक जीवन निकै सुखमय ढंगले अगाडि बढिरहेको थियो ।
समय बित्दै जाँदा उहाँका छोरामा बौद्धिक अपाङ्गता भएको थाहा भएको निर्मला बताउनुहुन्छ । सुरुमा त बौद्धिक अपाङ्गताबारे जानकारी नभएकी निर्मलालाई छोराले गर्ने व्यवहारप्रति आश्चर्य लागेछ । छोरा ठूलै हुँदासम्म पनि शरीरमा कपडा भए/नभएको थाहा नपाउने, मानिसहरूलाई चिथोर्ने जस्ता गतिविधिले प्रशान्तका आमा-बुबा आजित भएका थिए ।
आफ्नो छोराको यस्तो व्यवहारबाट चिन्तित रहेका उहाँहरूले छोराको उपचारका लागि धेरै ठाउँ धाएको जानकारी निर्मलाले दिनुभयो । अन्ततः उहाँको छोरामा बौद्धिक अपाङ्गता भएको र त्यसको उपचार सम्भव नरहेको भन्ने कुरा थाहा पाएपछि यो तीतो सत्यलाई स्वीकार गर्नुको विकल्प त्यस परिवारसँग रहेन ।
छोरोलई जन्म दिँदा सबैको मायाको पात्र बनेकी निर्मला छोरामा बौद्धिक अपाङ्गता देखिएपछि भने सबैको हेयको पात्र बन्न थाल्नुभयो । समाज तथा परिवारका सदस्यहरू त छँदै थिए श्रीमानले समेत उहाँलाई कुटपिट गर्दै यातना दिनथाले । एकातिर छोराको त्यस्तो अवस्थाले चिन्तित बनेकी निर्मलालाई परिवार र समाजको व्ययहारले झन पीडा थपिदिएको उहाँ बताउनुहुन्छ ।
समय बित्दै जाँदा उहाँको भेट राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशकी प्रदेश व्यवस्थापक प्रिया खड्कासँग भयो । खड्काले निर्मलालाई महासंघका कार्यक्रममा सहभागी हुन प्रेरित गर्नुभयो । पहिलो पटक कार्यक्रममा सहभागी हुन आग्रह गर्दा लाज र डरका कारण आफू सहभागी नभई बहिनीलाई सहभागी गराएको उहाँले जानकारी दिनुभयो । बहिनीबाट कार्यक्रमको प्रभावकारिताबारे सुनेपछि त्यसपछिका कार्यक्रममा आफैँ सहभागी हुन थाल्नुभयो । त्यसपछि उहाँको जीवनमा नयाँ मोड आयो ।
पहिलो पटक कार्यक्रममा सहभागी हुँदा आफ्ना छोराहरू जस्तै थुप्रै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू देखेपछि आफूमा सकारात्मक उर्जा पैदा भएको उहाँको अनुभव छ । निरन्तर कार्यक्रमहरूमा सहभागी हुँदैजाँदा अपाङ्गतामैत्री व्यवहार र विशेष गरी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह र उनीहरूमैत्री व्यवहारबारे राम्रो ज्ञान पाएको उहाँले बताउनुभयो ।
निर्मला विष्टका अनुसार उहाँका छोरा प्रशान्तको मानसिक अवस्था अरू बच्चा जस्तो छैन । आँखा पनि अलि कम देख्नुहुन्छ, जुन अवलोकन गर्दा हामीले पनि थाहा पायौँ । आफूले छोरालाई बौद्धिक अपाङ्गता विशेष विद्यालयमा राख्न नचाहेको कारणमा निर्मलाले भन्नुभयो- त्यस्ता अपाङ्गता विशेष विद्यालयमा प्रशान्तको राम्रो हेरचाह नहुने मेरो बुझाइ छ ।
निर्मलाका दुई छोरा छन् । प्रशान्त उहाँका जेठा छोरा हुनुहुन्छ । प्रशान्तले नजिकैको श्री केदार बोर्डिङ्ग विद्यालयबाट कक्षा ८ सम्मको अध्ययन गर्नुभएको छ । तर प्रधानाध्यापकलाई कक्षा उन्नतिका लागि आग्रह गरी कक्षा ८ सम्म पुर्याएको भन्ने उहाँका आमा-बुवाको भनाइ छ । आफूसँगैका साथी माथिल्लो कक्षामा गएको तर आफू चाहिँ एउटै कक्षामा सीमित रहेको भनी प्रशान्तलाई हीनताबोध नहोस् भनेर यसो गरेको जानकारी आमा निर्मलाले दिनुभयो ।
यहाँ पनि विद्यालयले भर्ना गर्न आनाकानी गरेको थियो । शुल्क तिर्ने शर्तमा मात्र प्रशान्तको भर्ना लिइएको थियो । यद्यपि उनी भाइको विद्यालयमा भाईसँगै पढ्ने भनेर जिद्दी गर्दथे ।
परिवारबाट प्रशान्तलाई कुनै किसिमको अपहेलना छैन । परिवारका सबै सदस्य उनलाई अपाङ्गता भएको नै सोच्दैनन् । प्रशान्तमा अपाङ्गता भएको भनी समाजमा कसैलाई पनि थाहा नदिएको र परिचयपत्र पनि नबनाएको अवस्था थियो तर राष्ट्रिय अपाङ्ग माहासंघको पहलमा प्रशान्तको अपाङ्गता परिचयपत्र बनेको छ ।
निर्मला भन्नुहुन्छ- मेरो छोरामात्रै किन यस्तो भयोहोला, अरूको त छैन भन्ने सोच्दा धेरै नराम्रो लाग्ने गर्दथ्यो । हाल बुझ्दै जाँदा यसलाई सामान्य रूपमा लिन थालेकी छु ।
घरमा आफूमैत्री वातावरण पाउन थालेपछि प्रशान्तले पनि धेरै कुरा सिक्न थाल्नुभयो । नयाँ मानिसहरूसँग घुलमिल हुनथाले । यतिबेला त प्रशान्त जोकोहीसँग पनि सजिलै अन्तरक्रिया गर्न सक्ने हुनुभएको छ । तरकारी काट्ने, पिठो मुछ्ने, पानी बोक्ने, आफ्नो कोठा सफा गर्ने जस्ता घरायसी कामसमेत गर्दै आउनुभएको छ ।
प्रशान्त विष्ट यतिबेला बौद्धिक अपाङ्गता अभिभावक संघ कैलालीद्वारा गठित स्ववकालतकर्ताहरूको समूहमा समेत आबद्ध हुनुहुन्छ । पैरवीका लागि विभिन्न कार्यालयहरूको भ्रमणसमेत गर्नुहुन्छ । कार्यक्रमका क्रममा खिचिएका तस्बिर तथा भिडियोहरूको भ्लग तयार पारी युट्युबमा समेत अपलोड गर्नुहुन्छ ।
प्रशान्तको सक्रियता त्यतिमा मात्र सिमित छैन । उहाँ सीबीएम ग्लोबलसँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशमा संचालित “हामीलाई पनि समावेश गर” परियोजना अन्तर्गत गठन गरिएको प्रदेश परियोजना कार्यदलको सदस्यसमेत हुनुहुन्छ । उहाँ त्यस कार्यदलको बैठकमा निरन्तर उपस्थित भएर आफ्ना विचार व्यक्त गर्न रुचाउनुहुन्छ । त्यस्तै, कार्यदलले गर्ने नियमित वकालत तथा पैरवीका गतिविधिहरूमा समेत उहाँ संलग्न हुँदै आउनुभएको छ ।
प्रशान्तलाई यो अवस्थासम्म पुर्याउन उहाँकी आमा निर्मलाले निकै ठूलो संघर्ष गर्नुभएको छ । निर्मलाको संघर्षको यात्रा त्यतिमा मात्र सीमित छैन । उहाँले राष्ट्रिय अपाङ्ग महासंघसँगको समन्वयमा आफ्नो क्षेत्रमा सर्वेक्षण गरेर अन्य बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई समेत समावेश गरी बौद्धिक अपाङ्गता अभिभावक संघ कैलाली स्थापना गर्नुभएको छ । यसबाट आफ्नो छोरा जस्तै अन्य बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास र अधिकार प्राप्तिका लागि वकालत गर्न सहज भएको छ ।
यसबीच सीबीएम ग्लोबलसँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संचालन गरेको “हामीलाई पनि समावेश गर” परियोजनाबाट उहाँको संस्थाले अनुदान रकम प्राप्त गर्यो । परियोजनाको उद्देश्यबमोजिम प्राप्त अनुदान रकमबाट संस्थाको कार्यालय स्थापना गरी आवश्यक भौतिक सामग्रीसमेत खरिद गर्न सहज भयो । त्यस्तै, एक जना कर्मचारीसमेत राख्न पाउने भएपछि त झन कार्यालयको नियमित गतिविधि अगाडि बढ्न थाल्यो ।
बौद्धिक अपाङ्गता अभिभावक संघ कैलालीले यतिबेला बौद्धिक अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरूको क्षमता विकासका लागि निरन्तर कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । त्यसका साथै स्थानीय तहसँगको समन्वयमा समेत विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । निर्मलाको नेतृत्वमा संचालित यस संस्थाले अब प्रदेश सरकारसँग समेत समन्वय गरी कार्यक्रमहरू संचालन गर्ने लक्ष्य लिएको छ ।
हाल निर्मला विष्टको पहलमा सुदूरपश्चिम प्रदेशका अन्य केही जिल्लामा समेत बौद्धिक अपाङ्गता अभिभावक संघका शाखाहरू संचालनमा छन् । त्यस्तै उहाँ पनि विभिन्न कार्यक्रममा सहभागी भई बौद्धिक अपाङ्गताका सवालहरूलाई उठान गर्ने गर्नुहुन्छ । आ.व. २०८१/८२ का लागि स्थानीय तह तथा प्रदेश सरकारसमक्ष बजेट तथा कार्यक्रमका लागि प्रस्तावसमेत पेस गरेको जानकारी उहाँले दिनुभएको छ ।
यसरी कुनैबेला बौद्धिक अपाङ्गता भएको छोरालाई जन्म दिएकै कारणले समाज र परिवारसमेत बाट अपहेलना खप्नु परेकी निर्मलाको जीवनमा आज राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र “हामीलाई पनी समावेश गर” परियोजनाले गर्दा निकै परीवर्तन आएको छ । आज उहाँ आफ्नो समाजमा एक कुशल नेतृमात्र हुनभएको छैन, आफू जस्तै अन्य अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूका लागि प्रेरणाको स्रोतसमेत बन्नुभएको छ । उहाँको यो कार्यमा उहाँका श्रीमानले समेत मन खोलेर साथ दिँदै आउनुभएको छ ।
जीवन रहुञ्जेल आफूलाई यस क्षेत्रमा समर्पित गरिरहने उहाँ बताउनुहुन्छ । उहाँका छोराले पनि अहिले खुसीका साथ आफ्नो जीवन व्यतित गरिरहनु भएको छ । रचनात्मक एवं दैनिक जीवनका गतिविधिहरू गर्दै उहाँको जीवनशैली चलिरहेको छ ।