प्रेश विज्ञप्ती

अपाङ्गताको आधारमा गरिएको कुनैपनि भेदभाव र दुर्व्यवहार सह्य हुँदैन

सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, सञ्चारकर्मी, अधिकारकर्मी, नेपाल सरकार लगाययत सम्पूर्ण सरोकारवालाहरू,

२०७९ साल वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा देशभरिका विभिन्न स्थानबाट अपाङ्गता भएका व्यक्तिहरूले उत्साहजनक रूपमा मतदानमात्र गरेनन् विभिन्न स्थानबाट १२५ जना भन्दा बढी उम्मेद्वार पनि बनेका छन् । स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूले ससम्मान अवरोधमुक्त वातावरणमा मताधिकार प्रयोग गर्न पाउनुपर्ने र सबै मतदानकेन्द्रहरू अपाङ्गता मैत्री बनाउनुपर्ने माग राष्ट्रिय अपाङ्ग महासंघ नेपालले निर्वाचन आयोग तथा नेपाल सरकारसँग राख्दै आएको र यस विषयमा जनचेतना जगाउने काम समेत गर्दैआएको छ । स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० स्थित आदर्श मा.वि. मतदान केन्द्रलाई अपाङ्गता मैत्री बनाइ अपाङ्गता भएका मतदाताप्रति राज्यले आफ्नो दायित्व पुरा गर्नुको सट्टा, अनेक अवरोध झेलेर मतदान गर्न आएका अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको नैशर्गिक अधिकारको रूपमा रहेको सहायक सामाग्री (ह्वीलचियर) समेत लान नमिल्ने भन्दै बाटोमै खोसेर जबरजस्ति जमिनमा घिस्रिएर र अरूको ढाडमा बोकिएर मतदान गर्न जान बाध्य गराइएको समाचारले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भीर ध्यानाकर्षण मात्र भएको छैन यसमा समस्त अपाङ्गता भएका व्यक्तिहरूको समुदाय अत्यन्तै मर्माहित भएको छ । यो घटना अपाङ्गताको आधारमा गरिएको विभेद मात्र नभएर हिंसा, दुर्व्यवहार र अपमान हो भन्ने ठहर महासंघको छ । नेपाल पक्षराष्ट्र रहेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी र नेपालको संविधानको मर्म र भावना विपरित छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ मा भएको व्यवस्था विपरित यो कानुनी अपराध हो । यो व्यवहारले राज्यले अपाङ्गता भएका व्यक्तिमाथि गर्ने अत्याचारलाई उजागर गरेको छ र अन्तर्राष्ट्रिय स्तरमा देशको शिर झुकाएको छ ।
यस घटनाका दोषी उपर तत्काल कानुनी कार्वाही गर्न र घटनाप्रति सार्वजनिक माफि माग्न हामी निर्वाचन आयोग र नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । यदि यस घटनालाइ नजरअन्दाज गरेमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले थप कदम चाल्न बाध्य हुनेछ । साथै सबै सञ्चारकर्मी, अपाङ्गता भएका व्यक्तिहरू, संघसंस्था, नागरिक समाज, मानवअधिकारकर्मी लगाउत सबैलाइ यस दुर्व्यवहारको विरूद्धमा आवाज बुलन्द गर्न समेत सार्वजनिक अपिल गर्दछौँ ।
धन्यवाद ।
मिति २०७९ बैशाख ३० गते

राजु बस्नेत
महासचिव

अपाङ्गताको आधारमा गरिएको कुनैपनि भेदभाव र दुर्व्यवहार सह्य हुँदैन
प्रेश विज्ञप्ती