Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our WorksExpand
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
logo of nfdn

अपाङ्‍गता भएका व्यक्तिहरूको पेशागत विकास र चुनौती

December 13, 2019December 27, 2019
आवरण लेख

श्रीकान्त सापकोटा

Shrikanta Sapkota

अपाङ्‍गता भएका व्यक्तिहरू पनि अन्य व्यक्तिसरह इच्छा, आकाङ्क्षा, भावना, चाहना र आवश्यकता भएका व्यक्ति हुन् । उनीहरूको पनि जीवन निर्वाह गर्न, आफ्ना आवश्यकताहरू परिपूर्ति गर्न तथा परिवार, समाज र राज्यप्रतिको निश्चित दायित्व पूरा गर्न विभिन्न पेशा, व्यवसायमा संलग्न हुने अधिकार हुन्छ ।

विद्वान् स्टिनेटका अनुसार profession भनेको पेशा हो, जुन विशिष्ट बौद्धिक अध्ययन र तालिममा आधारित हुन्छ । यसको उद्देश्य सीपयुक्त सेवा प्रदान गर्नु र निश्चित शुल्क वा बेतनका आधारमा अरूलाई सल्लाह दिनु हुन्छ ।

“व्यवसाय भन्नुको तात्पर्य यस्तो विशिष्ट कार्य हो, जसद्वारा व्यक्तिले आय आर्जन गर्दछ । यसमा निश्चित योग्यता, सीप तथा तालिमको आवश्यकता पर्न वा नपर्न पनि सक्छ । व्यवसाय सामान्य श्रममा आधारित अथवा सीपमूलक दुवै हुनसक्छ । यसविपरीत पेशा एउटा यस्तो विशिष्ट कार्य हो, जसका लागि विशेष योग्यता तथा तालिमको आवश्यकता पर्दछ । यो सीपमूलक कार्य हो । यी सीप शिक्षा तथा तालिमबाट मात्र प्राप्त गर्न सकिन्छ” (ज.ब.रा, २०६७) ।

a visually impaired person speaking infront of a mike

माथिको भनाइका आधारमा पनि पेशा एक विशिष्ट ज्ञान, सीप र योग्यताको आवश्यकता पर्ने कार्य हो । ज्ञान, सीप र योग्यता भएका सबै व्यक्तिलाई शिक्षण, प्राध्यापन, सञ्चार, वकालत, चिकित्सा, इन्जिनियरिङ, सरकारी तथा गैर सरकारी क्षेत्रमा परामर्शदाता तथा मानव संसाधनका रूपमा कार्य गर्ने जस्ता विभिन्न पेशाको रोजाइको हक हुनेगर्छ । यस्तो हकबाट कुनै पनि जात, जाति, वर्ग, क्षेत्र, लिङ्ग, भाषाभाषी र शारीरिक अवस्थाका आधारमा वर्जित गर्न नपाइने कुरा नेपालको संविधान (२०७२) मा समेत स्पष्टरूपमा उल्लेख छ ।

a person in a wheelchair at his workdeskअपाङ्‍गता भएका व्यक्तिहरूको सवालमा एक त शिक्षा र तालिमप्राप्त व्यक्तिहरू नै कम छन्, अर्कातर्फ शारीरिक अवस्थाले कार्य सिमितता ल्याएको हुन्छ । मानवीय अन्धविश्वास त्यस्तै तगारो बन्नेगरेको छ । पेशागत विकासका लागि सर्वमान्य ढाँचामा आधारित सामग्री र विधि अपनाउन सकिएको छैन । राष्ट्रिय/अन्तर्राष्ट्रिय-रूपमा बाधारहित अधिकारमा आधारित विभेदरहित काम र रोजगारको अधिकारलाई प्रत्याभूत गर्ने प्रयास कागजीरूपमा भएको भए पनि कार्यान्वयन प्रभावकारी छैन । मुख्य दुई उद्देश्य प्राप्तिका लागि मानिसले पेशा गर्छ– पहिलो उद्देश्य आफ्नो योग्यता, क्षमताको सदुपयोग गर्न र दोस्रो आफ्नो जीविकाको जोहो गर्न, गर्जो टार्न । जीविकासँग आर्थिक पक्षको निकट सम्बन्ध रहन्छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय तथ्यहरूका आधारमा अपाङ्‍गता र गरिबीबीच बलियो अन्तरसम्बन्ध रहेको पाइएबाट पनि सम्मानजनक जीवन निर्वाहका लागि अपाङ्‍गता भएका व्यक्तिहरू विभिन्न पेशा, व्यवसायमा संलग्न हुनुपर्छ । उनीहरू शारीरिक श्रम बढी खर्च हुने परम्परागत कृषिलगायतका साथै जोखिमपूर्ण पेशाहरूमा अन्य व्यक्तिसरह उनीहरूको कठिन शारीरिक अवस्थाका कारण संलग्न हुन सक्दैनन् ।

“अपाङ्‍गता भएका सबैलाई गाह्रो छ । एकातिर कुनै किसिमको शारीरिक अशक्तता वा असमर्थता सामना गरेर अरुसँग सँगै हिड्नु छ, अर्कातिर समाजको अविश्वास, हेला, भेदभावसित पनि भिडिरहनु छ । गाह्रो छ तर गाह्रो छ भनेर धर पनि छैन । त्यसैले सबैभन्दा पहिले गाह्रोलाई सजिलो बनाउनु छ ।” (शिक्षक मासिक, फागुन २०७२)

अपाङ्‍गता भएका पेशाकर्मीहरूका प्रतिनिधि आवाज सुन्दा लाग्छ सहजीकरणको प्रयास हुनसकेको छैन । उनीहरूको जीवनलाई झन् जटिल a person working in his officeबनाउने पेशागत भोगाइ छन् उनीहरूका । कार्यालयहरू भौतिक पहुँचयुक्त नहुनु, आफ्नो पेशागत विकासका लागि पर्याप्त सहायक सामग्री उपलब्ध नहुनु, समाजले आफ्नो कार्यसम्पादनप्रति पूर्ण विश्वास नगर्नु, सेवग्राहीहरू पूर्वाग्रही मानसिकताका कारण असन्तुष्ट हुनु, कार्यसम्पादनप्रति ध्यानाकर्षण गराउन नसकिनु, कार्यालय प्रमुख अपाङ्‍गतामैत्री व्यवहाररत हुन नसक्नु, सहकर्मीहरूले आफूलाई अब्बल र अपाङ्‍गता भएका सहकर्मीहरूलाई दुर्बलका रूपमा हेर्नु, कार्यस्थलको वातावरण सक्षम बनाउनेखालको नहुनु, अपाङ्‍गता भएका व्यक्तिहरूभित्रै पनि सामान्य अपाङ्‍गता भएका व्यक्तिको दाँजोमा अति अशक्त अपाङ्‍गता भएका व्यक्तिहरूका कठिनाइ धेरै हुनेहुँदा उनीहरू जिम्मेवारीको प्राथमिकतामा नपर्नु, उपलब्ध नवीनतम अपाङ्‍गतामैत्री प्रविधि कार्यालयमा भित्र्याउन नसिकनु, पेशाका क्रममा सम्पादन गरिनुपर्ने सबै जिम्मेवारीमा अपाङ्‍गता भएका व्यक्तिहरूको प्रभावकारी सहभागिता गराउन नचाहनु, मनोविज्ञान र यस प्रकारका पेशाकर्मीहरूको उत्थानका लागि संरक्षण गर्ने नीतिको अभाव, अन्य व्यक्तिहरूले अविश्वास गर्ने कठिनाइका कारण कार्यसम्पादनमा सीमितता आउनसक्ने पेशागत विकासका लागि स्वयं क्रियाशील हुनुको साटो परिस्थितिजन्य कारणहरूले गर्दा हीनताबोधको शिकार हुनुलाई मुख्य चुनौतीका रूपमा लिन सकिन्छ ।

अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, २००६ को धारा २७ मा काम, रोजगारी वा जागिर, स्वरोजगारीसम्बन्धी व्यवस्था अन्तर्गत अन्य व्यक्तिसरह नै अपाङ्‍गता भएका व्यक्तिहरूको पनि काम गरेर खान पाउने अधिकार छ भन्ने कुरा उल्लेख गरिएको छ ।

one day skill development training photo

नेपाल पनि महासन्धिको पक्ष राष्ट्र भइसकेको छ । महासन्धिको भावना अनुरूप संवैधानिक प्रत्याभूति पछिल्लो संविधानमार्फत् गर्न खोजिएको देखिन्छ । यद्यपि महासन्धिको भावना अनुरूप अपाङ्‍गता भएका व्यक्तिहरूको पेशागत जीवन व्यवस्थित हुनसकेको छैन । ती कुरालाई विश्लेषण गर्न केही विद्यालय, कार्यालय र सङ्घ–संस्थामा कार्यरत पेशाकर्मीका भोगाइ यहाँ प्रस्तुत गरिन्छ ।

  • “म एक दृष्टिविहीन शिक्षक हुँ । मलाई विद्यालयको कुनै पनि विभागीय, संयोजकको जिम्मेवारी नदिइँदा मैले कार्यसम्पादन मूल्याङ्कन फारम भर्दा जिम्मेवारी उल्लेख गर्नै पाइँन । बढुवामा नम्बर घट्ने भयो । निकै दु:ख लागेको छ ।”

एक दृष्टिविहीन महिला शिक्षकको यो भनाइले उहाँहरूप्रति कार्यस्थलमा सम्मानजनक व्यवहार भएको छैन भन्ने पुष्टि हुन्छ ।

  • “म क्षेत्रीय शिक्षा निर्देशनालयमा पी.ए. शाखामा काम गर्ने दृष्टिविहीन व्यक्ति हुँ । मलाई कार्यालयसँग सम्बन्धित सम्पर्क नम्बरहरू आफूमैत्री ढाँचामा उपलब्ध नहुँदा सम्पर्क नम्बर उपलब्ध गराउन र अन्य सूचना तथा अभिलेख राख्न असहज भएको छ ।”

यस भनाइबाट नवीनतम प्रविधिहरू, जसले अपाङ्‍गता भएका व्यक्तिहरूको कार्यसम्पादनलाई सजिलो बनाउँछ, त्यसको व्यापक प्रचार प्रसार हुन नसकेको, कार्यालयले नवीनतम प्रविधि नभित्र्याएको र पेशाकर्मी स्वयंमा पनि खोजी कम हुँदा कार्यस्थल अपाङ्‍गतामैत्री हुन नसकेको कुरा सङ्केत गर्छ ।

  • “मेरो कक्षामा झण्डै ८० जना विद्यार्थी हुन्छन् । कतिपय अवस्थामा दृष्टिविहीन भएकै कारण उनीहरूको ध्यानाकर्षण कम हुने वा हामीलार्इ ठग्ने भावना हुनेगर्छ । विद्यालय प्रशासनले रुटिन वितरण गर्दा होस् वा विद्यार्थीलाई आफूमैत्री बनाउने सन्दर्भमा चासो दिँदैनन् । सक्दैनस् र गाह्रो हुन्छ भन्ने अभिव्यक्तिमात्रै दिने गर्छन् । ब्रेल पाठ्यपुस्तक र शिक्षक निर्देशिका अनि पाठ्यक्रम समयमा त परैजाओस् अहिलेसम्म पनि हात पर्न सकेको छैन । कसले उपलब्ध गराउने, कहाँबाट पाइने हो ? न स्रोत व्यक्ति, न विद्यालय निरीक्षक, न शिक्षा कार्यालय, कसैले उत्तर दिँदैनन् । आफूमात्रै सधैँ सकारात्मक भएर पुग्दोरहेन छ ।”

एक जना शिक्षकको यो भनाइले विद्यालयहरूमा काम गर्ने दृष्टिविहीन शिक्षकका बग्रेल्ती समस्या छन् भन्ने सङ्केत गर्नुका साथै हाम्रा सबै पेशाकर्मीमा व्यावसायिकता (Professionalism) को पनि कमी छ भन्ने कुरासमेत जनाउँछ ।

  • “म कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) मा काम गर्छु । मैले धेरै ठाउँमा लेखा हेर्न जानुपर्छ तर ह्विल चियर जाने र्‍याम्प नभएको हुँदा निकै कठिन हुन्छ ।”

यस भनाइले कार्यालयहरूको भौतिक संरचना अपाङ्‍गतामैत्री छैनन् भन्ने कुरा स्पष्ट गर्छ । यतिमात्र होइन उनीहरूको अनुपस्थितिमा उनीहरूप्रति अविश्वास फिजाउने काम हुनेगरेका अनुभूतिहरू पनि छन् धेरै पेशाकर्मीका ।

“म शारीरिक अपाङ्‍गता भएको शिक्षक हुँ । मलाई कक्षामा कुर्सीमा बसेर नपढाउन भनिन्छ । त्यो कुरा मेरा लागि सम्भवै छैन” भन्ने शारीरिक अपाङ्‍गता भएका शिक्षकको भनाइ र “म दृष्टिविहीन शिक्षक हुँ । सेतो छडी टेकेर कक्षामा पढाउन जाँदा निरीक्षणमा आएका स्रोत व्यक्तिले मलाई छडी लिएर कक्षामा गएको भनी प्रधानाध्यापकमार्फत् बोलाएर स्पष्टीकरण लिए । सेतो छडी टेकेर पनि कक्षामा जान नपाइने निर्देशन दिए” भन्ने दृष्टिविहीन शिक्षकका भोगाइले हाम्रा प्रशासक यान्त्रिक प्रशासनिक प्रकृतिका छन् भन्ने कुरा छर्लङ्ग पार्दछन् । त्यसो त बहिरा पेशाकर्मीहरूका लागि अभिव्यक्ति गर्ने साङ्केतिक भाषाका शब्दहरूको सङ्ख्या नै कम छ । कार्यालयहरूमा दोभाषेहरू छैनन् ।

a teacher teaching in her class

कार्यस्थल अपाङ्‍गतामैत्री नभए पनि सेवाग्राहीबाट निकै हौसिने अपाङ्‍गता भएका पेशाकर्मीहरू पनि छन् । “हामीले पाएको पुरस्कार नै सेवाग्राहीको प्रतिक्रिया हो । प्रेरणा नै उनीहरू हुन्” भन्ने एक अपाङ्‍गता भएका शाखा अधिकृतका भनाइले उनीहरूको पेशागत जीवनमा अध्याँरा पक्षहरूमात्र होइन उज्याला पक्षहरू पनि छन् भन्ने जनाउँछ ।

  • “म महिला तथा बालबालिका कार्यालयमा लेखापालको रूपमा काम गर्छु । कार्यसम्पादनका शिलशिलामा मैले धेरै पटक कार्यालय प्रमुखको कक्षमा आवज जावत गर्नुपर्छ, जुन त्यति सहज छैन ।”

यस भनाइले कार्यालयहरू भौतिक संरचनाका दृष्टिले अपाङ्‍गतामैत्री नभएका कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

  • मलाई मेरा तीन कक्षाका विद्यार्थीले मेडम तपार्इंले भनेका कुरा बोर्डमा पनि लेखिदिनुहोस् न भने । त्यसले मेरो मन
    छोयो । विद्यालय प्रशासकसँग मलाई माथिल्लो कक्षामा ‘पिरियड’ दिएर यी बच्चाहरूलाई देख्ने शिक्षक उपलब्ध गराएर राम्रोसँग अक्षर लेख्न सिकाउने व्यवस्था गरिदिन अनुरोध गरें तर मेरा कुराको सुनुवाइ भएन ।”

यस प्रतिक्रियाले हाम्रा कार्यालयहरूमा ठीक व्यक्तिलाई उपयुक्त जिम्मेबारी दिने गरिंदैन, मानिसलाई कानुनका आधारमा लाद्नेमात्रै गरिन्छ भन्ने कुराको प्रतिनिधित्व गर्छ ।

कार्यालयमा जागिर खाएका अपाङ्‍गता भएका व्यक्तिहरू जागिरमा मात्रै मख्ख हुनुपर्ने उनीहरूका लागि त्यो सेवामा सेवा प्रवेश नै ठूलो कुरा भएकाले अन्य अवसर, पुरस्कार वा उत्प्रेरणा नै चाहिंदैन  भन्ने मनोविज्ञान बोकेका कथित साङ्ग पनि पाइन्छन् । कतिपय अपाङ्‍गता भएका व्यक्ति आफ्ना सहकर्मी, कार्यालय प्रमुख र कार्यस्थलप्रति सन्तुष्ट रहेका पनि पाइन्छन् ।

  • “मलाई मेरा कार्यालय प्रमुखले कार्यालय पुग्नासाथ हाजिरमा सहयोगको प्रस्ताव
    गर्छन् । सहकर्मीहरू उत्साहित बनाउँछन् । नजानेका कुरा मसँगै सोध्छन् । विद्यार्थीलाई पनि मर्यादित व्यवहार गर्नुपर्ने कुरा सम्झाउँछन् ।”

यस अभिव्यक्तिले सबै साङ्ग सहकर्मी नकारात्मकमात्रै पनि छैनन्, सफलता चुम्ने अपाङ्‍गता भएका व्यक्तिहरूलाई काँधमा काँध, हातमा हात मिलाउने, हरहमेसा साथदिने सकारात्मक मनोवृत्ति बोकेका संवेदनशील मानिस पनि छन् भन्ने देखाउँछ । तर, सरोकारको कुरा चाहिं कसरी धेरैलाई सकारात्मक बनाउने ? अझ भनौँ साङ्ग र अपाङ्‍गता भएका व्यक्ति सबैलाई सकारात्मक बनाउने भन्ने हो ।

a person at his workdesk. His workdesk contains a computer and other papers

त्यसो त कमजोरी एकोहोरोमात्र नहोला । आफ्नो जिम्मेवारी सम्पादन गर्दा अपाङ्‍गतालाई देखाएर पञ्छने, आफ्नो पेशागत विकासका लागि नतम्सिने, आफ्नो गहन दायित्वबाट उम्कन खोज्ने पेशाकर्मी पनि होलान् । प्रशासक र सहकर्मीहरूलाई मैत्रीपूर्ण बनाउँदै आधुनिक प्रविधि प्रयोग गरेर अपाङ्‍गता भएका व्यक्तिहरूको पेशागत जीवनलाई सहज बनाउनैपर्छ । उनीहरूबाट जतिसक्दो उपलब्धि लिन सक्नुपर्छ ।

अपाङ्‍गता भएका पेशाकर्मीहरूले कठोरतम मेहनत गर्दै आफूलाई समाजले लगाएको असक्षमता र अशक्तताको बिल्ला फ्याक्न जुट्नुपर्छ । प्रशासकहरूमा रहेको कार्यालय वा कार्यस्थल पूरै आफ्नो व्यक्तिगत पेवा हो कि भनेजस्तो प्रवृत्ति, जसमा अपाङ्‍गता भएका व्यक्तिलाई मानवोचित व्यवहार गर्नै नसक्ने पेशाकर्मीको रूपमा स्वीकार्दै नस्वीकार्ने जडसूत्रवादी मानसिकताको अन्त्य हुनु जरुरी छ । सरकारी संयन्त्र अपाङ्ता भएका पेशाकर्मीको मनोसामाजिक पक्षलाई सबल बनाउन संवेदनशील हुनैपर्छ । विश्वास नै हेराइ हो भन्ने मान्यताका आधारमा पूर्वाग्रही मानसिकता त्यागिनुपर्छ । आफूलाई समयानुकूल अध्यावधिक पनि गर्नुपर्छ ।

a teaching teaching in her class

रोटी एकोहोरो पाक्दैन न त एक हातले मात्र ताली बज्छ । साङ्ग र अपाङ्‍गता भएका व्यक्ति मिलेर सबैको हित गर्नुछ । त्यसका निम्ति फराकिलो छाती गर्दै मानवीय संवेदनालाई आत्मसात गर्दै परिवर्तनको विहंगम प्रयास अपाङ्‍गता भएका पेशाकर्मीहरूको पेशागत विकासका लागि आवश्यक छ । वैयक्तिक पेशागत विकास सहयोगात्मक र सहकार्यात्मक कार्यसम्पादन, प्रविधिको अधिक प्रयोग, आफूमा म सक्छु भन्ने दृढ आत्मविश्वास उनीहरूका सामु रहेका समस्या समाधान गर्ने उत्तम विकल्प हुन् ।

सधैँ कोही पनि आफैंमा पूर्ण निर्भर हुँदैन । ‘ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गो’ भनेझै विविधतालाई स्रोत र अवसरका रूपमा लिँदै एक अर्काका जटिलतालाई आपसको सहयोगबाट समाधान गर्नैपर्छ । पेशागत विकाससँग सम्बद्ध निकायहरूले पेशागत विकास र तालिमका कार्यक्रम समावेशी ढाँचाबाट सञ्चालन गर्नुपर्छ ।

a teacher using signlanguage to teach

कार्यालयहरूमा अपाङ्‍गता भएका व्यक्तिहरूको थोरै सङ्ख्या हुनु, उनीहरूका कुरा अरूले नसुन्नु, पेशागत छुट्टै अपाङ्‍गतासम्बन्धी सङ्गठन नहुनु, अन्य पेशागत सङ्गठनहरूमा उनीहरूको पहुँच, पहिचान र प्रतिनिधित्व प्रभावकारी हुन नसक्नु, समस्याहरूको कार्यस्थलमा समाधान गर्ने अपाङ्‍गता मैत्री परिपाटी विकास हुन नसक्नु, तँभन्दा म ठूलो भन्ने मानवीय अहङ्कार पनि कतिपय अवस्थामा समस्या बन्छ भने हीनताबोध र लधुताभाष पनि समस्याकै कारण हो ।

समस्या नभएको व्यक्ति, स्थान र परिवेश सायदै हुन्छ । तसर्थ, समस्याको वैचारिक, विवेकसङ्गत, न्यायोचित र विनयशील समाधान नै त्यस्ता चुनौती सामना गर्ने धारिला हतियार हुनसक्छन् ।

सन्दर्भ ग्रन्थसूची

* शिक्षक मासिक (२०७२), अपाङ्‍गता भएका शिक्षकलार्इ न्याय चाहियो, गिनिज पब्लिकेशन प्रा.लि. बाफल : काठमाडौं । वर्ष ८, पूर्णाङ्क ९५, फागुन ।

* ज.ब.रा., स्वयंप्रकाश र पौडेल, गिरिराज, (२०६७), शिक्षाको दर्शनशारीय र समाजशारीय आधार, भोटाहिटी : काठमाडौं ।

* अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि र ऐच्छिक आलेख, (२००७), राष्ट्रिय अपाङ्‍ग महासङ्घ, भृकुटीमण्डप, काठमाडौं ।

* २०७३ जेठ १ गते पोखरामा आयोजित अपाङ्‍गता र पेशागत सबाल विषयक कार्यक्रमको छलफलमा समेत आधारित ।

(लेखक अधिवक्ता तथा पृथ्वीनारायण क्याम्पसमा कार्यरत शैक्षिक योजना व्यवस्थापन विषयका प्राध्यापक हुनुहुन्छ ।)

Email : Shrikantasapkota@gmail.com

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Quick Links

  • Advocacy Documents
  • Publications
  • Press Release
  • Vacancy

Provincial Offices

  • Koshi Province
  • Madhesh Province
  • Bagmati Province
  • Gandaki Pradesh
  • Lumbini Province
  • Karnali Pradesh
  • Sudurpashchim Pradesh

Disability Data

A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

Language

English EN नेपाली NE
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal (NFDN)
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-5331159, 014587341
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our Works
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
Search