कोभिड -१९ को परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार सम्बन्धि भर्चुअल (अनलाईन) बैठक
काठमाण्डौ । २०७७ जेष्ठ ९
राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, अपाङ्गताको क्षेत्रमा कार्यरत बिभिन्न संस्थाहरु, अपाङ्गता भएका व्यक्तिहरु, उनीहरुका अभिभावक, महासंघका कार्यसमिति र प्रदेश कार्य समिति, महासंघका सदस्य संस्थाहरु र अन्य गैरसरकारी संस्थाहरु गरी ६४ जनाको सक्रिय सहभागितामा जुममार्फत कोभिड १९ बाट उत्पन्न वर्तमान परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था तथा अनुगमनको विषयमा भर्चुअल (अनलाईन) बैठक आज सम्पन्न भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुले हाल कोभिड १९ को जटिल समयमा भोग्दै आउनुभएको समस्याहरुको पहिचान तथा सोको सम्बोधनको लागि विभिन्न अपाङ्गता क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुबाट सुझाव संकलन गर्ने यस बैठकको उद्देश्य रहेकोको आयोगका निर्देशक यज्ञ अधिकारीले बताउनुभयो । यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले कोभिड १९ को परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरु अरु सिमान्तकृत वर्ग भन्दा अझै बढी जोखिममा रहेको बताउनु भयो र यसका लागि नेपाल सरकारले यसतर्फ अविलम्ब ध्यान दिनुपर्ने कुरा गर्नुभयो । साथै उहाँले सबै अपाङ्गता वर्ग र समुदायलाई समेटेर गरेको यस बैठकको लागि आयोगलाई धन्यवाद ज्ञापन पनि गर्नुभयो ।
सरकारले दिने सेवा र सुविधाहरुको बारेमा सबै अपाङ्गता भएका व्यक्तिहरुको पहुँच नभएकोले सोबाट लाभान्वित हुन सकेको छैन । लकडाउन (बन्दाबन्दी) को अवस्थामा अपाङ्गता भएका व्यक्तिहरुले खाद्यान्न सामग्री, नियमित आषधी, स्वास्थ्य तथा सहयोग सामग्रीहरुको अभाव, सुचना तथा संचारको पहुँच नहुनु, क्वारेन्टाइन स्थलहरु पहुँचयुक्त नहुनु, नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिका लागि बनाएको निर्देशिकालाई कार्यान्वयनमा पुर्ण रुपमा लागु नहुनु, आफ्ना दैनिक कामकाजमा समेत समस्या भोग्नुपरेको कुरा सहभागीहरुले बताउनु भयो ।
बैठकको समापनमा सम्बोधन गर्नुहुदै आयोगका आयुक्त सचिव वेद प्रसाद भट्टाराईले कोभिड १९ को जटिल समयमा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार अवस्था अनुगमन देशभरि नै भईरहेको र यसमा महासंघले पनि आफ्ना संरचनाबाट सहकार्य तथा समन्वयन गर्न सक्ने बताउनु भयो । यस कठिन समयमा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर नगर्ने भन्ने कुराले सबैलाई दुखि बनाएको र यस तर्फ मानव अधिकार आयोगको ध्यानाकर्षण भएको र सोको आधारिक पत्रचार छिट्टै नै गरिने कुरा बताउनु भयो । साथै उहाँले सरकारको राहत सामग्रीहरु जस्तै खाद्यान्न, औषधी, सहायक सामग्रीहरु लगायत सुचना तथा जानकारीलाई सबैको पहुँचमा पुर्याउन र बढाउन महासंघ लगायत अपाङ्गता क्षेत्रमा काम गर्ने संघ सस्थाहरुसंग समन्वयको कार्य गरिने कुरा गर्नुभयो ।
कार्यक्रममा लिइएका केही स्नापसर्टहरु देहायबमोजिम छन्ः