अन्तर्राष्ट्रिय मस्तिष्क पक्षघात दिवस सम्बन्धी प्रेश विज्ञप्ती
०७७/०७८/५५ मिति २०७७ असोज २० गते
मस्तिष्क पक्षघात समुदायमा पाइने बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरूको एक प्रमुख कारण हो । हरेक पाँचसय बालबालिकामा एक जनालाई मस्तिष्क पक्षघात भएको छ र संसारभरी एक करोड बालबालिकालाई मस्तिष्क पक्षघात भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क पक्षघातको शिकार हुने गरेका छन् भने १७ लाख मानिस यसबाट प्रभावित भएको देखिन्छ l मस्तिष्क पक्षघात भएका बालबालिका र उनीहरूको परिवारले ती बालबालिकाहरूको हिडडुल, दैनिक विद्यालय आउने जाने र स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा अप्ठ्यारा र चुनौतीहरू सामना गरिरहेका छन् । त्यस्ता बालबालिका र परिवारहरूलाई भेदभाव, हेला र पछाडि पार्ने गरिएको तथ्य अहिले पनि हाम्रासामु देखिन्छन् l
शारीरिक अशक्तता र अपाङ्गतालाई न्यूनीकरण गरी बालबालिकाको प्रारम्भिक विकास तथा स्वास्थ्य प्रवर्द्धन मार्फत न्यूनीकरण कार्यक्रमहरू सञ्चालन गरि मस्तिष्क पक्षघात भएकालाई तत्काल पुनस्थापनाका कार्यक्रमहरू सञ्चालन गर्न सके मस्तिष्क पक्षघातको संख्यामा न्यूनीकरण गर्न सकिन्छ । साथै , सामाजिकरुपमा घुलमिल गर्न सक्षम बनाउने, अभिभावक तथा बालबालिकालाई सहयोग गर्न प्राविधिक एवम् व्यावहारिक सिपमा जोड दिन जरुरी देखिन्छ l
मस्तिष्क पक्षघात भएका व्यक्तिहरू विकास र मुल प्रवाहीकरण हुन नसक्दा उनीहरू शिक्षा, रोजगारी, सहभागिता, आयआर्जन, स्वास्थ्य सेवा जस्ता आधारभूत अधिकारहरूबाट बञ्चित छन् । तसर्थ, आज परेको यो मस्तिष्क पक्षघात दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र अपाङ्गता भएका ब्यक्तिहरुको राष्ट्रिय/ अन्तर्राष्ट्रिय नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन भए मात्र साच्चै मस्तिष्क पक्षघात दिवसको सार्थकता हुनेछ । साथै नेपालमा मस्तिष्क पक्षाघात अपाङ्गता भएका समुदायका लागि उचित वातावरण, उत्प्रेरणा तथा सामाजिक जनचेतना र आवस्यकतामा आधारित यथोचित ब्यवस्था गर्न सरकारसँग माग गर्दछ।
……………
राजु बस्नेत
महासचिव