दृष्टिविहिन नागरिकहरु माथी भएको दुर्व्यवहार सम्बन्धी प्रेस विज्ञप्ती
०७९/०८०/१३
बौद्ध स्तुप परिसर विकास समिति सुरक्षागार्डको पोसाक लगाएका सुरक्षाकर्मीले मिति २०७९ /०४/१२ गते दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका छन । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको दफा ४५ को (४) मा अपाङ्गता भएका व्यक्तिले विना भेदभाव अन्य व्यक्ति सरह समानरुपमा मर्यादित र प्रतिष्ठापूर्वक जीवनयापन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि नेपाल सरकारले उपयुक्त उपायहरुको अवलम्बन गर्नेछ भन्ने व्यवस्था छ । तर बौद्ध स्तुप परिसर विकास समितिका सुरक्षागार्डले त्यसको विपरित दृष्टिविहिन नागरिकहरुको अपमान गरेर धज्जी उडाएका छन् ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ५३ ले अपाङ्गता भएका व्यक्तिहरुलाई घृणा, हेला वा तिरस्कार गर्न नहुने उल्लेख छ । सोही दफामा कसैले पनि अपाङ्गता भएका व्यक्तिलाई घृणा, हेला, उपहास वा तिरस्कार गर्न, जानी जानी निजको आत्म सम्मानमा चोट पुर्याउने कुनै कार्य गर्न वा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामग्रीको प्रयोगमा अवरोध वा हस्तक्षेप गर्न वा त्यस्तो सामग्री खोस्न वा बिर्गान हुँदैन ।यदी यस्तो गरेमा सोही ऐनको दफा ५५ (२) मा कसैले दफा ५३ विपरीत कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई तीनमहिना देखि नौ महिनासम्म कैद वा तीस हजार रुपैयाँदेखी नब्बे हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायहुनेछ भन्ने व्यवस्था छ । दफा ५३ विपरित काम गर्ने सुरक्षा गार्डलाई दफा ५५ बमोजिम कार्वाही गर्न महासंघ सम्बद्ध पक्षको ध्यानकर्षण गराउन चाहन्छ।
मिति २०७९/०४/१४ गते
राजु बस्नेत
महासचिव