अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण प्रश्नावलीको मस्यौदा तयारी विषयक छलफल
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण गर्नका लागि प्रयोग गर्ने प्रश्नावलीको मस्यौदा तयार गरेको छ । काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी उक्त प्रश्नावली सार्वजनिक गरिएको हो । प्रकाशित प्रश्नावलीले अपाङ्गता भएका व्यक्तिहरुको विस्तृत तथ्याङ्क लिनका लागि २ वटा मोड्युल तयार गरेको छ । जस अन्तर्गत पहिलो मोड्युलले परिवारका कोही सदस्य अपाङ्गता भए नभएको निर्क्योल गर्नेछ भने दोस्रो मोड्युलले पहिलो मोड्युलको स्क्रिनिङ्गबाट पहिचान भएका परिवारका सदस्यहरुसँग तथ्याङ्क लिनका लागि प्रयोग गरिनेछ । प्रश्नावलीको दुवै मोड्युलहरु Washington group of Questionnaire को ६ प्रश्नमा आधारित रहेर बनाइएको छ । यद्यपि उक्त प्रश्नावलीले नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको पुरा विवरण सहितको तथ्याङ्क संकलन गर्नका लागि पुर्ण अनुकुल नहुने र यसले विकासात्मक अपाङ्गता र रक्त सम्बन्धि समस्या भएका व्यक्तिहरुलाई सम्बोधन नगरिने हुँदा सो विषयलाई सम्बोधन गर्नका लागि समेत २ वटा थप प्रश्नहरु समावेश गरी प्रश्नावली निर्माण गरिएको कुरा जानकारी गराइएको थियो । उक्त प्रश्नावलीले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक‚ सामाजिक‚ स्वास्थ्य सम्बन्धि‚ सहायक सामाग्री प्रयोगको अवस्था‚ परिचय पत्र प्राप्तिको विवरण‚ निर्णय प्रक्रियामा उनीहरुको सहभागिता‚ बैंकिङ् सेवा तथा वित्तिय क्षेत्रको उपभोग‚ यौन तथा प्रजनन स्वास्थ्य लगायत अन्य विषयहरुको बारे जानकारी लिन ३३९ वटा प्रश्नहरु राखिएको कुरा जानकारी गराइएको थियो । उक्त प्रश्नावलीलाई अब अपाङ्गता भएका व्यक्तिहरुको विचमा पुर्याइ प्रारम्भिक नमुना सर्वेक्षण गरी प्राप्त पृष्ठपोषणको आधारमा अन्तिम रुप दिइने कुरा समेत जानकारी गराइएको थियो ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा सञ्चालित परियोजना अन्तर्गत गरिएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यसमितिका सचिव सृजना केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने‚ प्रश्नावली तयारी गर्नुभएका परामर्शदाता केशब कुमार गौतम र अपाङ्गता अधिकारकर्मी एंव राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सल्लाहकार डा विरेन्द्रराज पोख्रेलले प्रश्नावलीको बारेमा प्रस्तुतिकरण गर्दै सहभागीहरुको जिज्ञासा समेत समाधान गर्नुभएको थियो । उक्त कार्यक्रममा अपाङ्गताको क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधीहरु‚ अपाङ्गताको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाका प्रतिनिधीहरु‚ अपाङ्गता अधिकारकर्मीहरु र पत्रकारहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।