कविता: दैवले रुवायो धर्धरी
प्रणय श्रेष्ठ
सबको आँसु वर्षन्छ बर्बरी
दैवले रुवायो धर्धरी
जताततै भूकम्प चलाउने
वर्षा गराई धर्तीलाई गलाउने
प्रकोप यो रोकिएन केही गरी
दैवलेनि रुवायो धर्धरी
खुल्ला आकाश मसानघाट बास भो
मानव लाश दैवको प्यास भो
उजाड भयो धेरैको छहारी
दैवले रुवायो धर्धरी
सबैको पाल हुरीले उढायो
बेहाल भइयो झरीले रुझायो
हुरीबतास रोकिएन केही गरी
दैवले रुवायो धर्धरी
परिस्थिति दु:खको सागर भो
सुन्दर बस्ती बालुवको बगर भो
हेर्दा छाती चर्कन्छ चर्चरी
दैवले रुवयो धर्धरी
गाँस, बास, कपास धेरैले गुमाए
कसैले त मृत्युलाई समाए
आफ्नै आश्रम भैदियो चिहानसरि
दैवलेनि रुवायो धर्धरी
आफ्नै सबल अङ्ग गुमाएर
बाँचे धेरै अपाङ्ग भएर
बाँकी जीवन बिताउने केगरी
दैवले रुवयो धर्धरी
हात गोडा केही छैन साथमा
गहिरो चोट लाग्या छ माथमा
अन्न छैन खानलाई पेटभरि
दैवले रुवायो धर्धरी
हाँसो खुशी अनायास खोसियो
मीठो सपना रगतमा मुछियो
कामिरहेछ धर्ती यो थर्थरी
दैवले रुवायो धर्धरी