अपाङ्गता भएका व्यक्तिको रोजगारीसम्बन्धी प्रदर्शनी तथा क्षेत्रीय गोष्ठी
अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकारको अवस्था दिन प्रतिदिन जटिल बन्दैछ । उनीहरूसँग भएको क्षमताप्रति रोजगारदाताहरूको विश्वास कम भएको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिने र नदिने निकायबीच अन्तरक्रिया गरी अनुभव आदान प्रदान गर्ने तथा राज्यको रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्था कायम गर्न र त्यसलाई अझ बढी व्यवस्थित एवं प्रभावकारी बनाउन पहल गर्नु आज अति आवश्यक भइसकेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिने निकायहरू उनीहरूको कार्यशैलीबाट सन्तुष्ट बनिरहेको सन्दर्भमा त्यस्ता अनुभव अन्य रोजगारदाताहरूसम्म पनि पुर्याउन सके रोजगारीमा पहुँच विस्तार हुने यथार्थ एकातिर छ भने अर्कोतर्फ अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न किसिमका हस्तकलाका सीप हासिल गरी गुणस्तरीय सामग्री उत्पादन गरिरहे पनि प्रचार प्रसारको अभावमा बजारीकरणमा समस्या भइरहेको छ । यस्तो अवस्था चिर्न उनीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रवर्धनका लागि मेला जस्ता क्रियाकलाप आयोजना गर्नु जरुरी देखिन्छ ।
सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूको गुणस्तरीय जीवनको सुनिश्चितताका लागि क्रियाशील रहेको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गता भएका व्यक्तिहरूको क्रियाशीलतामा विषेश जोड दिंदै आएको छ । त्यसक्रममा अपाङ्गता भएका व्यक्तिहरूको उत्पादनशील जीवनयापनका लागि पछिल्ला दिनहरूमा रोजगारी तथा आयमा पहुँचका क्षेत्र पहिचान गरी सरकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य विस्तार गर्दै लैजाने सोचका साथ अगाडि बढिरहेको छ ।
महासङ्घले केही समयदेखि अपाङ्गता भएका व्यक्तिको रोजगारीसम्बन्धी क्षेत्रीयस्तरमा विभिन्न सरोकारवालाबीच अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने एवं अपाङ्गता भएका व्यक्तिहरूले तयार गरेका विभिन्न सामग्रीको प्रवर्धनका निम्ति मेलासमेत आयोजना गर्दै आइरहेको छ । यस किसिमका कार्यक्रममा सम्बन्धित क्षेत्रका रोजगारदाता, रोजगारीको खोजी गरिरहेका अपाङ्गता भएका व्यक्ति, पहिला नै आय आर्जनका क्रियाकलापमा संलग्न भइरहेका अपाङ्गता भएका व्यक्ति, अपाङ्गताका क्षेत्रमा काम गरिरहेका स्वावलम्बी संस्थाका प्रतिनिधिका साथै सरकारी निकायका प्रतिनिधिको व्यापक सहभागिता रहने गरेको छ ।
विशेषगरी काठमाडौंमा हुनेगरेका रोजगारीसम्बन्धी मेलाहरूको निरन्तरतास्वरूप २०७२ पुस ९ गते पोखरामा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी-सम्बन्धी क्षेरीय संवाद कार्यक्रम आयोजना गरियो । सी.बी.एम. नेपालसँगको साझेदारीमा आयोजना गरिएको त्यस कार्यक्रममा पश्चिमाञ्चल विकास क्षेत्रका ३० जना रोजगारी (जागिर) खोजिरहेका अपाङ्गता भएका व्यक्ति, १० जना रोजगारदाता, १० जना रोजगारी एवं स्वरोजगारी गरिरहेका अपाङ्गता भएका व्यक्ति तथा १५ जना अपाङ्गताका क्षेत्रमा काम गरिरहेका संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीसम्बन्धी प्रस्तुतीकरणबाट सुरु गरिएको औपचारिक संवाद कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिइरहेका केही रोजगारदाताले आफ्ना अनुभव प्रस्तुत गर्दै अन्य रोजगारदातालाई अपाङ्गता भएका व्यक्तिहरूले केही गर्नै सक्दैनन् भनेर सोच्नुभन्दा केही व्यक्तिसँग काम गरेर हेर्न सुझाव दिए ।
कार्यक्रममा सबै रोजगारदातासँग प्रतिबद्धता लिइनुका साथै सबै सहभागीलाई अपाङ्गता भएका व्यक्तिहरूद्वारा तयार गरिएका विभिन्न सामग्री राखिएका स्टलहरूसमेत अवलोकन गराइयो ।
कार्यक्रम अवधिमा गरिएको सामग्रीहरूको प्रदर्शनी, रोजगारी खोजिरहेका व्यक्तिहरूलाई प्रत्यक्षरूपमा विशेषज्ञद्वारा गरिएको परामर्श सेवा र सफल उद्यमीहरूका सफलताका कथा प्रस्तुतीकरण जस्ता कुराले कार्यक्रममा झनै बढी रौनक थप्ने काम गरेको अनुभव गरियो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका हस्तकलाका सामग्रीहरूको प्रवर्द्धनात्मक मेलाका साथै रोजगारदाता निकायहरूसँग वृहत अन्तरक्रिया आयोजना गर्यो ।
विराटनगरमा २०७२ माघ २, ३ र ४ गते आयोजित कार्यक्रम अन्तर्गत माघ ३ गते कार्यपत्र प्रस्तुत गरी ११ बुँदे पूर्वाञ्चल घोषणापत्रसमेत जारी गरियो ।
सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूको गुणस्तरीय जीवनको सुनिश्चितताका लागि क्रियाशील रहेको सन्दर्भमा महासङ्घले अपाङ्गता भएका व्यक्तिहरूको क्रियाशीलतामा विषेश जोडदिंदै आएको छ । त्यसक्रममा अपाङ्गता भएका व्यक्तिहरूको उत्पादनशील जीवनयापनका लागि पछिल्ला दिनहरूमा रोजगारी तथा आयमा पहुँचका क्षेत्र पहिचान गरी सराकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य विस्तार गर्दै जाने सोचका साथ अगाडि बढिरहेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकारको अवस्था दिन प्रतिदिन जटिल बन्दै आएको छ । उनीहरूसँग भएको क्षमताप्रति रोजगारदाताहरूको विश्वास कम भएको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिने र नदिने निकायबीच अन्तरक्रिया गरी अनुभव आदान प्रदान गर्ने तथा राज्यको रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्था कायम गर्न पहल गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिने निकायहरू उनीहरूको कार्यशैलीबाट सन्तुष्ट बनिरहेको सन्दर्भमा त्यस्ता अनुभव अन्य रोजगारदातासँग पनि पुर्याउन सकिएको खण्डमा रोजगारीमा पहुँच विस्तार हुने भएको हुँदा कार्यशालामा अनुभव साटासाट गरियो ।
अर्कोतर्फ, अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न किसिमका हस्तकलाका सीप हासिल गरी गुणस्तरीय सामग्रीहरू उत्पादन गरिरहे पनि प्रचार प्रसारको अभावमा बजारीकरणमा समस्या भइरहेको अवस्थालाई चिर्न उनीहरूले उत्पादन गरेका सामग्रीहरूको बिक्री मेला आयोजना गरिएको हो ।
तीन दिनका लागि आयोजित मेलामा विभिन्न जिल्लाबाट ल्याइएका लगभग सबै सामग्री बिक्री भई मेला हेर्न पुग्नुभएकाहरू रित्तै फर्कनुपरेको अवस्थासमेत सिर्जना भयो । यसबाट मेलाको सान्दर्भिकता थप स्पष्ट हुन्छ एकातिर भने उत्पादकहरूमा थप हौसला मिलेको देखियो ।
हस्तकलाका सामग्रीहरूको प्रवर्द्धनका लागि आयोजित मेला सञ्चालनका लागि एन.एल.आर. विराटनगर, करुणा फाउन्डेसन सुनसरी, धरान उपनगरपालिका, नेपाल लेप्रोसी फेलोसिफ सुनसरी, युनाइटेड मिसन टु नेपालले आर्थिक सहयोग गरेका हुन् ।
मेलामा १० वटा स्टल राखिएका थिए । ती स्टलमा सामर्थ्य समाजले फ्रक, जामा, म्याक्सी, कुर्ता–सुरुवाल तथा बालबालिकाका लुगाहरू, अपाङ्ग महिला सङ्घ मोरङबाट बालबालिकाका खेलौना, उपहार (गिफ्ट) का सामग्री, सजावटका सामग्री, कुसन, सल, टोपी, चप्पल, डस्टबिन राखेका थिए ।
त्यसैगरी, नेपाल चेलिबेटी अपाङ्ग महिला समाज (हाँसपोसा, सुनसरी) बाट चप्पल, किरिङ, रबर, रुमाल, थैली, धूप, चुरा, पर्स, पोते तथा जुना घिमिरे (धनकुटा) ले सल्लोका पातबाट बनेका सजावटका सामग्री, भद्रकला अधिकारले मुढा तथा कुर्ता सुरुवाल राख्नुभएको थियो ।
शम्भु सरदार र रूपलाल उराव (झोराहाट, मोरङ) बाट कुखुरा तथा तरकारीहरू, सी.बी.आर. विराटनगरबाट पुनःस्थापनाका सामग्रीहरूको प्रर्दशनी आदि राखिएको थियो ।
मेलाको २०७२ माघ २ गते पूर्वाञ्चलबाट उपस्थित ५० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू तथा केन्द्रीय अध्यक्षको उपस्थितिमा ताली बजाएर उद्घाटन गरियो ।
तयारीका लागि छोटो समयका साथै पहिलो अनुभव भएको हुँदा टाढाका जिल्लाबाट प्रतिनिधित्वमा समस्या भयो । मोरङ, सुनसरी, धनकुटा र झापा जिल्लाका सामग्रीमात्र प्रदर्शनी तथा बिक्रीका लागि राखिएको थियो । मेलामा राखिएका सामग्री दुई दिनमै ९० प्रतिशत बिक्री भइसकेकाले अन्तिम दिन धेरै खरिदकर्ता रित्तै हात फर्कनुपर्यो ।
कार्यक्रममा दृष्टिबिहीन व्यक्तिले बनाएका मुढा सबैभन्दा छिटो बिकेर अपुग भयो । त्यसरी सामान बिक्री भइदिंदा सहभागी सबैमा उत्साह जगायो । त्यसैको फलस्वरूप बेलाबेलामा यस्ता कार्यक्रम अयोजना गरेर अनि विभिन्न व्यापार मेलामा सहभागिताको वातावरण मिलाइदिन सहभागीहरूले आग्रह गर्नुभयो ।
रोजगारी प्रवर्द्धनका लागि आयोजित अन्तरक्रियामा महासङ्घका पूर्वाञ्चलका १६ जिल्ल्लाबाट सदस्य संस्थाका १०० भन्दा बढी, राजनीतिक दलका, रोजगारदाता निकायका, सरकारी निकायका र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायत २०० भन्दा बढीको उपस्थिति रह्यो ।
कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता क्षेत्रीय अध्यक्ष रामबहादुर कार्कीले गर्नुभयो । कार्यक्रमलाई थप भब्यता दिन प्रमुख अतिथिको रूपमा पुनरावेदन अदालतका निमित्त मुख्य न्यायाधीश शिवराज अधिकारी, राजनीतिकरूपमा प्रतिबद्धता जाहेर गर्न मोरङ क्षेत्र १ र ४ का सभासद ऋषिकेश पोखरेल र शिवकुमार मण्डल, महासङ्घका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदी, महासचिव राजु बस्नेत, केन्द्रीय सदस्यहरू धर्मराज घिमिरे, श्यामबहादुर बस्नेत, यदुनाथ अधिकारी, चन्द्रकान्त पौडेल, तृप्ता मगरलगायतका व्यक्तित्वको उपस्थिति रह्यो ।
कार्यशालाको उद्घाटनलाई अर्थपूर्ण बनाउन सात वटा माटाका घैलामा अपाङ्गताका प्रकृति लेखेर पुष्पगुच्छा राखी सबै अपाङ्गता भएका व्यक्तिहरूको आयमाथि पहुँच भयो भनेमात्र गुणस्तरीय जीवन सम्भव छ भन्ने सन्देश प्रवाह गरियो ।
कार्यक्रममा क्षेत्रीय समितिका कोषाध्यक्ष दीपकला राईले अतिथि तथा सहभागीको स्वागत गर्नुभयो । त्यसैगरी, क्षेत्रीय सचिव विष्णुप्रसाद बरालले विषय वस्तुबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा छलफललाई सहज बनाउन महासङ्घका क्षेत्रीय संयोजक उत्तम शिवाकोटीले रोजगारीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसैलाई आधार बनाएर सहभागीहरूले आ–आफ्ना अनुभव तथा धारणा व्यक्त गर्नुभयो ।
कार्यपत्र प्रस्तुतिपछि रोजगारदाताहरूले भनाइ तथा अनुभव आदान प्रदान गर्दै आउँदा दिनहरूमा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीका लागि ढोका खुला गरिएको घोषणा गर्नुभयो भने सबै सरोकारवालाले महासङ्घको यस अभियानमा साथ र सहयोग दिने प्रतिबद्धतासहित विराटनगर घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरियो ।
अपाङ्गता भएका व्यक्तिहरूको सीप तथा रोजगार प्रवर्द्धनबारे विराटनगर घोषणापत्र २०७२
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको चौथो पूर्वाञ्चल क्षेत्रीय अधिवेशन तथा सातौं साधारणसभाको अवसरमा २०७२ माघ ३ गते विराटनगरमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको सीप तथा रोजगार प्रवर्द्धनका लागि क्षेत्रीय कार्यशालाको अन्त्यमा,
नेपालको संविधान (२०७२), अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि– २००६ तथा मुलुकमा प्रचलित अपाङ्ग संरक्षण तथा कल्याण ऐन– २०३९, त्यसैको नियमावली– २०५१ र विशेष शिक्षा नीति– २०५३ लाई समेत आधार मान्दै,
राष्ट्रिय अपाङ्ग महासङ्घका पदाधिकारी, सदस्य तथा सरोकारवाला सङ्घ/संस्थाका प्रतिनिधिसमेतको उपस्थितिमा निम्नानुसार घोषणा गर्दछौं ।
- १. अपाङ्ग संरक्षण तथा कल्याण ऐन– २०३९, अपाङ्ग संरक्षण तथा कल्याण नियमावली– २०५१ मा व्यवस्था भएबमोजिम २५ जनाभन्दा बढी कामदार/कर्मचारी नियुक्ति गर्ने कारखाना, सरकारी कार्यालय, शैक्षिक तथा स्वास्थ्य प्रतिष्ठान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पाँच प्रतिशतमा नघटाई अपाङ्ता भएका व्यक्तिलाई रोजगारी प्रदान गर्नुपर्दछ ।
- २. सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिहरूको सहयोगी सम्बन्धमा गरेको फैसला चाँडोभन्दा चाँडो लागू गर्नुपर्दछ ।
- ३. विकासात्मक अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी सुनिश्चित गर्न त्यस्ता व्यक्तिहरूका लागि जीवन उपयोगी सीपको पनि सुनिश्चितता गरिनुपर्दछ ।
- ४. अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा संयुक्त राष्ट्रसङ्घीय निकायबाट सहयोग लिई सञ्चालन हुने जीविकोपार्जनसम्बन्धी कार्यक्रममा गरिने लगानीको एक प्रतिशत रकम अपाङ्गता क्षेत्रमा लगानी गर्ने सुनिश्चत गरिनुपर्दछ ।
- ५. अपाङ्गता भएका व्यक्तिहरूले कुनै उत्पादनमूलक व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न चाहेमा बैङ्क, वित्तीय संस्था तथा सहकारीहरूबाट सुलभ कर्जा दिने व्यवस्था मिलाउनुका साथै उनीहरूले उत्पादन गरेका वस्तुहरू खरिद गर्न राज्यले व्यक्ति, व्यापारिक फर्म तथा सरकारी कार्यालयलाई प्रोत्साहन गरी बजारको सुनिश्चिता प्रदान गर्नुपर्दछ ।
- ६. रोजगारीका लागि आवश्यक पर्ने शिक्षामा अपाङ्ता भएका व्यक्तिहरूलाई समान अवसर प्रदान गर्न समावेशी शिक्षाको नीति अवलम्बन गर्दै दृष्टिबिहीनमैत्री र बहिरामैत्री पाठ्यक्रम विकास गर्न विशेष ध्यान दिनुपर्दछ ।
- ७. अपाङ्गता भएका व्यक्तिहरूले गुणस्तरीय जीवन पाउने सुनिश्चित गर्नका लागि आय आर्जन र सम्पतिमा उनीहरूको पहुँच कायम गर्नुपर्दछ, त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्दछ ।
- ८. शिक्षालय र कार्यस्थलको भौतिक संरचना अपाङ्गतामैत्री बनाउन शौचालय र स्नानागारसमेत अपाङ्गतामैत्री बनाउनुपर्दछ । साथै, अपाङ्गतामैत्री कार्यवातावरण बनाउने र अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने व्यावसायिक फर्मलाई राज्यले करछूटको सुविधा दिनुपर्दछ ।
- ९. अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी प्रवर्द्धनका लागि अपाङ्गतामैत्री रोजगारी तयारी कक्षा सञ्चालन गर्नुपर्दछ, साथै अपाङ्गता भएका व्यक्तिहरूको योग्यता र दक्षतासहितको विवरण भएको बायोडाटा बैङ्क सञ्चालन गर्नुपर्दछ । साथै, अपाङ्गता भएका अन्य व्यक्तिका लागि विभिन्न प्रकारका स्वरोजगारमूलक तालिम सञ्चालन गर्नुपर्दछ ।
- १०. निरन्तर छ महिनासम्म काम गरिसकेको अपाङ्गता भएको व्यक्तिलाई रोजगारीबाट हटाउन नपाइने कानुनी व्यवस्थाको सम्मान गर्दै सरकारी कार्यालय, सार्वजनिक संस्थान, स्थानीय निकाय र विद्यालयमा अस्थायी दरबन्दीमा कार्यरत व्यक्तिलाई सामान्य प्रक्रिया पूरा गरेर स्थायी गर्नुपर्दछ ।
- ११. अपाङ्ता भएका व्यक्तिहरूको रोजगारी प्रवर्द्धनसम्बन्धी यो घोषणापत्र लागू गराउन राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आफ्ना शाखाहरू र अपाङ्गता भएका व्यक्तिहरू सम्मिलित संस्थाको पैरवी समूह बनाई सहजीकरण गर्न र आवश्यक परे दवावमूलक कार्यक्रम गर्न सक्नेछ ।