प्रेस विज्ञप्ति
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरूको एक मात्र छाता संस्था हो । संस्थाले आफ्नो स्थापनाकाल देखिनै अपाङ्गता अभियानलाई कल्याणकारी अवधारणाबाट अधिकारमुखी अवधारणा तर्फ डोर्याउदै आएको छ । देशमा परिवर्तनका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको समान सहभागिता हुँदै आएको छ भने अपाङ्गता अधिकारका लागि भएका सबै आन्दोलन र अभियानहरूमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरू सधैँ अग्रपङ्क्तिमा रही आफ्नो अधिकार प्राप्तिका लागि अनवरत सघर्षशिल रहेको ब्यहोरा यहाँहरू सबैलाई जानकारी नै छ ।
देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नको लागि संविधानले दिएको हक अधिकार प्रयोग गर्दै मिति २०८२ भाद्र २३ गते जेन-जी युवाहरूले गरेको प्रदर्शनमा राज्यबाट भएको दमनबाट १९ जना युवाहरूको हत्याको खबरले हामी अपाङ्गता भएका व्यक्तिहरू अत्यन्त दुःखित र मर्माहत भएका छौ । सम्पूर्ण पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौ साथै उक्त घटनाको घोर भर्त्सना गर्दै यथाशीघ्र स्वतन्त्र र निष्पक्ष छानबिनका लागि माग समेत गर्दछौ । आन्दोलनका पीडितका परिवारलाई उचित राहत र घाइतेहरूको उपचार सुनिश्चित गर्न पनि सरकार समक्ष अनुरोध गर्दछौ । यसै गरी मिति २०८२ भाद्र २३ गते जेन–जी पुस्ताका आन्दोलनमा युवाहरू मारिएपछि भएको स्वतःस्फूर्त प्रदर्शन आयोजकको नियन्त्रण बाहिर गई अराजक स्थिति बन्न पुगेको हामी सबैलाई जानकारी नै छ । उक्त अराजकता हिंसामा परिणत भई र मुलुकमा अकल्पनीय क्षति भएको छ । मुलुकको प्रशासनिक संरचना, न्यायालय, व्यवस्थापिका लगायत सबैजसो भौतिक संरचना पूर्णरुपमा ध्वस्त पारिएको अवस्था छ । यस घटनामा संलग्न जोसुकैलाई पनि कानुनको दायरामा ल्याई देशमा विधिको शासन कायम गर्न राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र यसका सम्पूर्ण आबद्ध सदस्य संस्थाहरू माग गर्दछौ ।
मुलुकमा सृजित गतिविधिका कारण समाजमा शान्ति सुरक्षाको स्थिति चिन्ताजनक अवस्थामा रहेको छ । यस विषम परिस्थितिमा आफ्नो शारीरिक, मानसिक, बौद्धिक, इन्द्रियजन्य, स्नायुगत र अन्य अवस्थाका कारण अपाङ्गता भएका व्यक्तिहरू अत्यन्तै जोखिममा पर्ने देखिएकोले अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी उनिहरुको सुरक्षाको सुनिश्चितता गर्न सुरक्षा संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गर्दछौ । जेन–जी पुस्ताले नेतृत्व गरेको आन्दोलन पश्चातको यस विशेष परिस्थितिमा राजनीतिक निकासका लागि भइरहेको चरणबद्ध संवादमा सम्बन्धित सबै निकायहरूसँग सहकार्य र समन्वय गरी हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नको लागी हार्दिक अनुरोध गर्दछौ । मुलुकमा देखा परेको अनिश्चितता, अन्यौलता र अस्थिरताको अन्त्यका लागि लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासन अनुरूप विद्यमान संविधानमा आवश्यक सुधार सहित नेपालमा यस अघी भएका सम्पूर्ण आन्दोलनका उपलब्धिहरूबाट प्राप्त समावेशी लोकतन्त्रको मूल्य र मान्यता समेत बर्करार रहने गरी अगाडि बढ्न राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सम्बन्धित सबैमा अनुरोध गर्दछौ ।
२०८२ साल भाद्र २६ गते बिहीबार
……………………
अध्यक्ष
देविदत्त आचार्य
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र यसका ४०० भन्दा बढी सदस्य संस्थाहरू
