विश्वव्यापी पहुँचयुक्तता जागरूकता दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विज्ञप्ती
१८१/०७६/०७७
सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, संचारकर्मी, सरोकारवाला निकाय, दाजुभाइ तथा दिदि बहीनीहरू
प्रत्येक वर्ष मे महिनाको तेश्रो बिहीवारलाई “विश्वव्यापी पहुँचयुक्तता जागरुकता दिवस” को रुपमा मनाइन्छ । भनिन्छ, परिवर्तन एउटा व्यक्ति बाट सुरु हुन्छ, यसै क्रममा, सन २०११ मा एक वेब निर्माता, जो डेभनले बनाएको एउटा ब्लग पोस्ट पछी प्रेरित भइ यो दिवस मनाउन शुरुवात गरिएको हो। । डिजिटल पहुँचयुक्तताको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरू लगायत धेरै व्यक्ति, संगठनहरूले गरेका प्रयास, सफल अभ्यास र हासिल उपलब्धिहरूले आज अपाङ्गता भएका व्यक्ति लगायत धेरैको सूचनाको पहुँचमा ठूलो योगदान पुर्याएको छ । डिजिटल पहुँचयुक्तताले अपाङ्गता भएका ब्यक्ति (खास गरेर दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति) को शिक्षा र सशक्तिकरणमा सघाउ पुग्ने भएकोले यो दिवसलाई महत्वका साथ लिइन्छ । समावेशी र दिगो विकासको दिशामा महतवपूर्ण कदमको रुपमा डिजिटल पहुँचको आवश्यकतालाइ उजागर गर्न यो “विश्व पहुँचयुक्तता जागरुकताको दिवस” २०१२ बाट मनाउन सुरु भएको हो । जब प्रविधि समावेशी हुन्छ यसले सबैलाइ सिक्ने र यसबाट लाभान्वित हुने अवसर मिल्छ ।
डिजिटल पहुँचयुक्तताको विकासमा निकै राम्रो उपलब्धी हासिल भएको भएतापनि विधमान अवस्थामा खास गरेर हाम्रो जस्तो देशमा विभिन्न कारणले अधिकांश व्यक्तिहरु अझै पनि डिजिटल पहुँच र यसको बारेमा सचेत छैनन । नेपालमा पनि यसको बारेमा पर्याप्त सूचना र जनचेतनाका कामहरू हुन सकेका छैनन् । एकातिर डिजिटल पहुँचयुक्तताको बारेमा धेरै अपाङ्गता भएका व्यक्तिहरू जानकार हुन सकेका छैनन भने सरकारी निकायका डिजिटल सूचना प्रणालीहरू, वेवासाइटहरू अझैपनि पहुँचयुक्त हुन सकेका छैनन । मन्त्री परिषदबाट अनुमोदन भएको “पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९” प्रशंसनीय कदम हुँदा हुँदैपनि यसले डिजिटल पहुँयुक्तताको विषयलाइ समेटन सकेको छैन । तसर्थ पहुँचयुक्तको विषयमालाइ व्यापक बनाएर यससँग सम्बन्धित अभ्यास, प्रयोग र नीतिहरूका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न प्रयासहरू गर्दै आएको छ । पहुँचयुक्तता परीक्षण सम्बन्धी चेकलिष्ट बनाउनुका साथै वेवसाइटलाइ पहुँचयुक्त बनाउनको लागि सामान्य निर्देशिका निर्माण गरि महासंघले सार्वजनिक गरेको छ । यस्ता कामहरूको लागि आफै उदाहरण बन्नुपर्छ भन्ने तथ्यलाइ मध्यनजर गर्दै महासंघले आफ्नो आधिकारिक वेवसाइट र यसमा राखिएका सामग्रीहरूलाइ पहुँचयुक्त बनाउने प्रयास गरेको छ ।
त्यसैले सर्वप्रथम त राष्ट्रिय अपाङ्ग महासंघ विश्वमा डिजिटल पहुँचयुक्ततामा भएको यो पछिल्लो विकास र उपलब्धीमा आफ्नो खशी बाँड्न चाहन्छ । हामी आशा गर्दछौँ यो दिवसले डिजिटल पहुँचयुक्ततामा गर्न बाँकी काम गर्नको लागि सबै सरोकारवालाहरूमा प्रेरणा मिलोस । साथै यसै दिवसको अवसर पारेर हामी नेपाल सरकार, निजी क्षेत्र र सम्पूर्ण नागरिक समाजसँग यो पनि अनुरोध गर्न चाहन्छौँ कि नेपालमा डिजिटल पहुँचयुक्तताको क्षेत्रमा आफ्नो आफ्नो क्षेत्रबाट सबैले सक्दो प्रयास गरौँ सबैलाई, सूचना र ज्ञान प्राप्त गर्ने अवसर उपलब्ध गराउँ । अन्तमा हामी आशाबादी छौँ कि अबका दिनहरू डिजिटल पहुँचयुक्ततामा अझै धेरै सहकार्य, साझेदारी र कामहरू हुनेछन र धेरै भन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरू यसबाट लाभान्वित हुनेछन् ।
मिति २०७७ जेष्ठ ८ गते
राजु वस्नेत
महासचिव