समावेशी शिक्षाका लागि नेपालगञ्ज घोषणा पत्र २०७९
अपाङ्गता भएका वालबालिकाहरुको समावेशी शिक्षाका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत अपाङ्गताको क्षेत्रमा काम ११ वटा संस्थाका १४ वटा संस्थाका ३४ जना प्रतिनिधिहरुको तीन दिने कार्यशाला होटेल सेन्टर प्लाजा कोहलपुर बाँकेमा सम्पन्न भएको छ ।
हेण्डिक्याप इन्टरनेशल र वल्ड एजुकेशनको सहयोगमा सञ्चालित कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाका सवालमा छलफल गरिएको थियो। कार्यशालामा नेपाल सरकार शिक्षा तथा मानव श्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाका निर्देशक डा. दिव्या दवाडी, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेत, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष तथा सल्लाहकार डा. बिरेन्द्रराज पोखरेल, कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्मा, सुदुरपश्चिम सचिव नन्दराज भट्ट, लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष देविदत्त आचार्य लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तीन दिनसम्म संचालन भएको उक्त कार्याशालाले १७ बुदे अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षा सम्बन्धी नेपालगञ्ज घोषणा पत्र २०७९ जारी गर्दै समापन गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षा सम्बन्धी नेपालगञ्ज घोषणा पत्र २०७९
२०७९ असोज ३
- अपाङ्गता एउटा अवस्था हो जुन विभिन्न भौतिक, सामाजिक, सञ्चार सम्बन्धी, संस्थागत र दृष्टिकोणजन्य अवरोधहरूको कारणले उत्पन्न हुन्छ र अवरोधलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने नविनतम धारणामा विश्वास गर्दै,
- नेपाल पक्षराष्ट्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको संयुक्त राष्ट्रसंघीय महासन्धीको धारा २४, दिगो विकासका लक्ष्य ४, नेपालको संविधानको धारा ३१, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को दफा २१, राष्ट्रिय शिक्षा नीति २०७६ को १० (छ) र अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन २०७५ हरूले सुनिश्चित गरेका अधिकारहरू लागू हुन्छन् भन्ने कुरामा पूर्ण सहमत हुँदै,
- नेपालका अन्य नीति, कानुन, नियम, निर्देशिका आदिले सुनिश्चित गरेका अपाङ्गता भएका व्यक्तिहरुका सेवा सुविधा र अवसरहरू सम्बन्धी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनको आवश्यकतामा विशेष जोड दिँदै,
अपाङ्गता भएका व्यक्तिहरू शिक्षाको अधिकारबाट बञ्चिन हुन नपरोस भन्ने अभिप्रायका साथ नेपाल सरकार, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरू, समावेशी शिक्षाका विज्ञहरु, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिहरू, आ-आफ्नो तर्फबाट देहायबमोजिम गर्ने प्रतिवद्धता समेत जाहेर गर्दै सम्बन्धित सबै सरोकारवालाहरूमा तपसिलमा उल्लेखित सवालहरुको सम्बोधनका लागि सम्बन्धित पक्षसँग सिफारिस गर्दछौँ ।
अपाङ्गता भएका व्यक्तिका संस्थाहरू
- १. समावेशी शिक्षाका विषयमा समुदायमा जनचेतना अभिवृद्धि गर्ने र अवलम्बन गरेका नियम, कानुन, नीति र कार्यक्रमहरूको बारेमा अपाङ्गता भएका व्यक्ति र स्थानीय सरोकारवालाहरूलाई सुसूचित गर्नुपर्ने ।
- २. समावेशी शिक्षामा सिकाई प्रकृयालाई समावेशी बनाउने अपाङ्गता भएका विद्यार्थीहरूको आवश्यकता अनुसार साङ्केतिक भाषा, ब्रेल लिपी, क्यापसनिङ्ग अडियो भिजुअल, स्पर्श संकेत, चित्रहरूको प्रयोग र तालिम प्राप्त शिक्षकको ब्यवस्था गर्न वकालत गर्नु पर्ने ।
- ३. अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा रहेका समस्याहरूको समाधानको लागि र समावेशी शिक्षाको कार्यान्वयनमा रहेका चुनौतिहरूको पहिचान गरि प्रचार, प्रसार, तालिम, क्षमता विकास र अभिमुखीकरण कार्यलाइ स्थानीय तहमा संचालन गर्ने गराउने।
- ४. अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको भावना अनुरुप सबै तहमा समावेशी शिक्षा नीति जारी गरी लागू गराउन पहल गर्ने ।
- ५. विद्यालय बाहिर रहेका अपाङ्गता भएका बिद्यार्थीहरुको तथ्याङ्क संकलन गरि उनीहरूलाई विद्यालय शिक्षा भित्र ल्याउन परिवार, विद्यालय र समुदायलाई तयार गर्ने साथै अभिभावक शिक्षा र सचेतनाको माध्यमबाट आफ्ना बालबालिकाको शिक्षामा सहभागी गराउने ।
- ६. संशोधनको क्रममा रहेको संघीय शिक्षा बिधयेयक विद्यालय संरचना, शिक्षकको क्षमता, सिकाइ प्रकृया, पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा प्रणाली तथा अनुकुलन लगायतका विषयसँग जोडिएका प्रावधानहरू सुनिश्चित गर्न सरकार, जनप्रतिनिधि र राजनैतिक दलसँग वकालत गर्ने
- ७. प्रारम्भिक पहिचान, प्रेशण (रेफरल), समावेशी शिक्षा सम्बन्धी असल अभ्यासहरुको सिकाइलाई निरन्तरता दिने, स्थानीय तह अन्य सञ्जालहरुमा आदान प्रदान गर्ने ।
नेपाल सरकार
- ८. समावेशी शिक्षालाई व्यवहारमा सुनिश्चित हुने गरी व्यक्तिका फरक फरक सिकाई आवश्यकता (learning needs) लाई सम्बोधन गर्न उपयुक्त मानव स्रोत विकास लगायत व्यवहारीक, व्यवसायीक शिक्षण सिकाइ पद्धति, परीक्षा प्रणाली, पाठ्यक्रम, मूल्याङ्कन पद्धति र शैक्षिक सामग्रीमा आवश्यक सुधार ल्याउने गरी योजना, कार्यक्रम र बजेट व्यवस्था गर्नुपर्ने ।
- ९. शिक्षामा सिकाई प्रकृयालाई समावेशी बनाउन अपाङ्गता भएका विद्यार्थीहरूको आवश्यकता अनुसार साङ्केतिक भाषा, ब्रेल लिपी, अडियो किताव, क्यापसनिङ्ग, स्पर्श संकेत, डेजी प्रविधि, ओसिआर, स्कृनिङ, रिडीङ सफ्टवेयर, ट्याकटाइल सचित्र सरल ठुला छापा स्पिच इन्टरप्रेटर, पहुँचयुक्तता, सेन्सरी रुम आदि जस्ता बिधि र माध्यमहरूको प्रभावकारी प्रयोग गर्न क्षमता विकास उत्पादन र थप प्रवर्द्धन गर्नुपर्ने ।
- १०. विद्यालयको भौतिक तथा शैक्षिक वातावरण अति अशक्त अपाङ्गता भएका बालबालिका, बौद्धिक अपाङ्गता, अटिज्म, श्रवणदृष्टिविहिन र विभिन्न सिकाइ सम्बन्धी अपाङ्गता भएका बालबालिका सुरक्षित तथा पहुँचयुक्त भएको सुनिश्चित गर्नुपर्ने ।
- ११. बहिरा व्यक्तिहरुका लागि नेपाली सांकेतिक भाषा र श्रवणदृष्टिविहिनहरुका लागि ट्याक्टाइल सांकेतिक भाषाका थप शब्दकोष विस्तार, अनुसन्धान तथा तालिमको विकासका लागि सरकारी तहबाट विशेष पहल हुनुपर्ने ।
- १२. उच्चशिक्षासम्म अपाङ्गता भएका युवालाई गुणस्तरीय, प्राविधिक तथा सीपमुलक शिक्षाको आजको मुल आवश्यकता रहेकोले राज्यले स्थानीय तहमानै युवाहरुको लागि नि:शुल्क अध्ययनको व्यवस्था मिलाउनु पर्ने ।
- १३. बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानध्यापक, शिक्षकहरु, पहिचान टोली, बिद्यार्थी प्राविधिक लेखाजोखा समितिलाई थप जिम्मेवारी बनाउने, क्षमता विकास गर्ने साथै सोको प्रभावकारी संचालनका लागि स्थानीय तह तथा बिद्यालयहरुमा स्पष्ट योजना सहित परिचान गर्नु पर्ने ।
- १४. अपाङ्गता बालबालिकाहरुका लागि हाल सञ्चालित बिशेष बिद्यालय तथा श्रोतकक्षाहरुलाई सबैको सिकाइ केन्द्रको रुपमा विकास गर्नु पर्ने ।
- १५. सबै स्थानीय तहबाट अपाङ्गता भएका विद्यार्थीहरुलाई सबै प्रकारका सहायक सामग्री र व्यक्तिगत सहयोगीको व्यवस्था मिलाउनु पर्ने ।
सञ्चार माध्यम
- १६. समावेशी शिक्षा सम्बन्धी लेख रचना, फिचर आदिलाई प्राथमिकता दिने र अपाङ्गता भएका व्यक्ति र अपाङ्गता प्रतिको नकारात्मक सामाजिक छवी (Negative Social Representation) लाई निरूत्साहित गर्दै सकरात्मक सन्देशहरु प्रवाह गर्ने ।
अन्तर्राष्ट्रिय गैर सरकारी संस्था
- १७. अपाङ्गता अधिकार सम्बन्धी जनचेतना, अपाङ्गता भएका व्यक्तिका संस्थाहरूको क्षमता विकास, आधुनिक सहायक सामग्रीको उत्पादन र प्रवर्द्धन , प्रवर्द्धन तथा वितरण, अपाङ्गता पहिचान, प्रारम्भिक हस्तक्षेप तथा पुनर्स्थापना आदिको लागि प्राविधिक क्षमताको विकास, अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारी तथा स्वरोजगारी, समावेशी शिक्षा, पहुँचयुक्त वातावरण निर्माण जस्ता क्षेत्रहरूमा लगानी वढाउनुपर्ने ।
संलग्न निकायहरु
- १. राष्ट्रिय अपाङ्ग महासंघ नेपाल महासचिव राजु बस्नेत
- २. अपाङ्ग सशक्तिकरण एव संचार केन्द्र (DECN) नेपाल बाँके अध्यक्ष हरीकला देवी थापा मगर
- ३. अपाङ्ग सशक्तिकरण केन्द्र (DEC) सुर्खेत, अध्यक्ष पुर्ण प्रसाद आचार्य
- ४. जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेलधुरा महासचिव राजेन्द्र प्रसाद पन्त
- ५. सर्वाङ्गिण अपाङ्गता विकास समाज धनगढी कैलाली कार्यकारी निर्देशक नन्दराज भट्ट
- ६. अपाङ्ग मानव अधिकार एव सरोकार मञ्च दाङ्ग अध्यक्ष भविसरा घर्ती
- ७. स्वावलम्बन जीवन पद्धती केन्द्र कार्यकारी निर्देशक हेम गुरुङ्ग
- ८. समानताका लागि आवाज अध्यक्ष रामप्रसाद मानन्धर
- ९. अपाङ्ग सेवा संघ धनकुटा उपाध्यक्ष प्रेम बहादुर तुम्बाहाङ्ग
- १०. मानव अधिकार सामाजिक सचेतन र विकास केन्द्र उपाध्यक्ष कृष्णगोविन्द अधिकारी
- ११. मुस्ताङ्ग अपाङ्ग समाज अध्यक्ष आइतलाल थकाली
- १२. पाइला नेपाल मुस्ताङ्ग, अध्यक्ष रजनी शेरचन (गुरुङ्ग)
- १३. नेपाल अपाङ्ग संघ पर्सा अध्यक्ष शम्भु प्रसाद पाश्वान
- १४. समाजिक संस्था जिल्ला समन्वय समिति पर्सा अध्यक्ष इब्राहिम देवान