कोभिड १९ को माहामारी र लकडाउनको परिस्थितिमा अपाङ्गता भएका व्यक्तिमा परेको प्रभावको लेखाजोखाले उजागर गरेका मुख्य तथ्यहरू
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
कोभिड १९ को माहामारीबाट सम्पूर्ण विश्व नै प्रभावित भैरहेको यस परिवेशमा नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल २०७६ साल चैत ११ गतेदेखी सम्पूर्ण देश लकडाउन अर्थात बन्दाबन्दीको अवस्थामा छ । यसबाट सबै जनता प्रभावित त भएका छन नै त्यसमा गरिब, विपन्न, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू धेरै प्रभावित भएका छन् । यसै सन्दर्भमा लकडाउनको अवस्थामा नेपालमा अपाङ्गता भएका व्यक्तिहरू कसरी प्रभावित भैरहेका छन् र उनीहरूका तत्काल संबोधन गर्नुपर्ने समस्या र सवालहरू के के छन् भन्ने विषयमा जानकारी लिन राष्ट्रिय अपाङ्ग महासंघ नेपाललले छिटो बिधिबाट लेखाजोखा गरेको छ । १२ देखि २२ अप्रील २०२० मा सबै प्रदेशलाइ समेटेर ७१ जिल्लाका ४२२ जना अपाङ्गता भएका व्यक्ति वा तीनका अभिभावक/संरक्षक र ६१ जिल्लाका १०१ जना अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूसँग टेलिफोन मार्फत अन्तरवार्ता लिइ गरिएको उक्त लेखाजोखाको प्रतिवेदनले देहायबमोजिम मुख्य तथ्यहरू बाहिर ल्याएको छ ।
- कोभिड १९ सँग सम्बन्धित सार्वजनिक सूचना र जनचेतना सामग्रीहरूमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू पहुँच नपुगेको हुनाले कोभिड १९ र यो माहामारीसँग सम्बन्धित सामान्य जानकारी पनि ४१.२३% ले ज्यादै कम पाएका छन् भने ५.९२% ले केहि पनि जानकारी पाएका छैनन । कोभिड १९ को संक्रमणबाट बच्न अपनाउनुपर्ने उपायहरूको बारेमा थोरै थोरै मात्र थाहा पाउने वा पुरा जानकारी नपाउने ४२.१८% छन् भने ६.८८% लाइ यस विषयमा केही पनि थाहा छैन । यस्तो माहामारीको अवस्थामा संख्या वा प्रतिशत सानो भएपनि महामारीबाट कसरी बच्चे भन्ने विषयमा कत्तिपनि जानकारी नपाउनु संक्रमणको दृष्टिले खतरापूर्ण छ ।
- कम मात्र जानकारी पाउने वा केहीपनि जानकारी नपाउनेमध्ये ६० प्रतिशत पूर्ण वा अति अशक्त अपाङ्गता भएका व्यक्तिको समुहमा पर्छन् । यसले अपाङ्गताको गम्भीरता बढी भएका व्यक्तिहरूनै सूचनाको पहुँचबाट टाढा छन् भन्ने देखाउँछ ।
- टेलिभिजनको माध्यमबाट सूचना लिने अपाङ्गता भएका व्यक्तिहरूको संख्या सबैभन्दा धेरै (६७%) छ । रेडीयो र साथी्भाइ/नातागोताबाट सूचना लिनेहरू क्रमश ६०% र ५६% सहित क्रमशः दोस्रो र तस्रो स्थानमा छन् ।
- ४६% अपाङ्गता भएका व्यक्तिहरूको विचारमा कोभिड सम्बन्धी सूचना तथा जनचेतना सामग्रीहरू उनीहरूका लागि थोरै मात्रामा मात्र पहुँचयुक्त छन् भने १५% का विचारमा त सामग्रीहरू पटक्कै पहुँचयुक्त छैनन् । यसले के देखाउँछ भने लगभग ६१% अपाङ्गता भएका व्यक्तिहरूका लागि उक्त सूचना सामग्रीहरू या त पटक्कै पहुँचयुक्त छैनन् या अलि अलि मात्र पहुँचयुक्त छन । यसरी सूचना तथा सचेतना सामग्रीहरू पहुँचयुक्त छैनन भन्नेहरू मध्ये अधिकांश (६९%) पूर्ण तथा अति अशक्त अपाङ्गता अन्तर्गत पर्छन् । यसले अपाङ्गता भएका व्यक्तिहरूको कोभिड सम्बन्धी सूचनामा र चेतनामुलक सामग्रीमा पहुँच निकै कम छ भन्ने देखाउँछ जसले उनीहरूमा संक्रमण बढाउन सक्ने खतरा छ ।
- लकडाउनको कारणले ४०.०८% ले आफ्नो आयस्रोत गुमाइसकेका छन् भने १९.८९% ले निकट भविश्यमै गुमाउनेवाला छन् । यसरी आयस्रोत गुमाउनेहरूमा ४८.६८% महिला छन् भने ५१.३२% पुरूष छन् ।
- कडा लकडाउनको कारणले ५४.५०% अपाङ्गता भएका व्यक्तिहरू खानेकुराको अभावको संकटको जोखिममा निकट भविश्यमै पर्ने देखिन्छ भने ७.८२% सँग खानेकुरा र अन्य दैनिक चाहिने अखाद्य वस्तुहरूको तत्काल अभाव भैसकेको छ । यो समस्या अपाङ्गता भएका व्यक्तिहरू अरू सरह राहत बाँडेको स्थानमा सहजै पुग्न नसक्ने कारणले पनि झनै गम्भीर हुने खतरा छ ।
- ७.५% अपाङ्गता भएका व्यक्तिहरूलाइ मनोसामाजिक परामर्शको जरूरी परिसकेको छ भने ४५% अपाङ्गता भएका व्यक्तिहरूलाइ अत्यावश्यक स्वास्थ्य सामग्रीहरू जस्तै क्याथेटर, डाइपर, ट्युव, मास्क, स्यानिटाइजर, युरिन व्याग लगायतका सामग्रीहरूको जरूरी परिसकेको छ । ३.०८% अपाङ्गता भएका व्यक्तिहरू विभिन्न प्रकारको हिंसा र दुर्व्यवहारको शिकार भैसकेका छन् ।
- ४५.१२% अपाङ्गता भएका व्यक्तिहरूको उनीहरूले नियमित रूपमा पाउँदै आएको स्वास्थ्य सेवा र औषधी पुरै अवरूद्ध भएको छ जसमा हेमोफिलिया भएका व्यक्तिहरू समेत पर्छन भने ३५.९७% ले पाए पनि पर्याप्त पाएका छैनन ।
- ६०.३४% अपाङ्गता भएका व्यक्तिहरूलाई राहतको जरूरी परेको देखिन्छ जसमध्ये ४५.३०% को मात्र वितरित राहतमा पहुँच पुगेको देखिन्छ भने ५४.६९% ले राहत पाउन सकेका छैनन् । राहत नपाउने मध्ये धेरै जसो (६२%) अति अशक्त वा पूर्ण अशक्त समुहमा परेका छन् ।
- लकडाउन र कोभिड १९ को माहामारीको यो अवस्थाको कारणले ७९% ले डर लागेको बताएका छन् र ३१.५१% त एकदमै धेरै डराएको भनेका छन् । अवस्था यस्तै रहेमा यसले भोली ति व्यक्तिहरूमा देखापर्न सक्ने मानसिक स्वास्थ्य समस्यालाइ संकेत गरिरहेको छ । यसको लागि तत्काल केहि मनोसामाजिक सहयोगको जरूरी छ । धेरै डराएका व्यक्तिहरुमध्ये ६०.१५% महिला छन भने ३९.८५% पुरूष छन् ।
नोटः विस्तृत जानकारीको लागि महासंघको वेवसाइटमा राखिएको निम्न लिङ्कमा जानु भइ प्रतिवेदन पढ्नुहोस