अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको प्रेश विज्ञप्ती

०७७/०७८/४१

जीवनका विविध पक्षहरूमा सहभागी हुन, सिक्न, काम गर्न र दैनिक जीवन संचालन गर्न मानव जीवनमा संचारको ठूलो महत्व हुन्छ । संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् । बहिरा व्यक्तिहरूको लागि एक आपसमा संचार गर्न र सुन्ने समुदायसँग संचार गर्न सांकेतिक भाषाको प्रयोग गर्छन् । तर हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरू आबाजमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकेका छैनन् ।

बहिरा व्यक्तिहरूले प्रयोग गर्ने सांकेतिक भाषाको प्रसार, विकास र मुल प्रवाहिकरण हुन नसक्दा उनीहरू शिक्षा, रोजगारी, सहभागिता, तालिम, स्वास्थ्य सेवा जस्ता आधारभूत अधिकारहरूबाट बञ्चित छन् । नेपालमा पनि बहिरा नागरिकहरूको लागि नेपाली सांकेतिक भाषाको सुरूवात भएको लगभग ३ दशक हुन लाग्दा पनि यसको अपेक्षाकृत विकास र प्रसार हुन सकेको छैन । नेपालको संविधान २०७२ मा बहिरा व्यक्तिहरूले सांकेतिक भाषामा सिक्न, शिक्षा लिन र संचार गर्न पाउने हक सुनिश्चित गरिएको भएपनि राज्यले यो भाषाको विकास, उपयोग र प्रसारमा जति काम गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । अत्यन्तै सिमित शब्दहरूमात्र सांकेतिका भाषामा रूपान्तरण गरिएको हुनाले यति ठूलो संचारको आवश्यकतालाइ सिमित संकेतबाट पुरा गर्न नसक्दा बहिरा व्यक्तिहरू असाध्यै ठूलो मार र विभेदमा परेका छन् । तसर्थ आज परेको यो सांकेतिक भाषा दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार नेपाल लगायत विश्वभरिका बहिरा व्यक्ति र वहाँहरूको संचारमा सहयोग गर्ने सबै व्यक्ति तथा निकायहरूप्रति अहिले सम्म यस क्षेत्रमा हासिल भएका उपलब्धीहरूप्रति गर्व गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ । अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको कार्यान्वयनको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघीय सिआरपिडी समितिले नेपाल सरकारकालाई गरेको सिफारिशको कार्यान्वयन भए मात्र साच्चै सांकेतिक भाषा दिवसको सार्थकता हुनेछ । साथै नेपालमा सांकेतिक भाषालाइ वृहत र व्यापक बनाउँदै यसलाई राष्ट्रिय मान्यता प्रदान गर्न यसको विकास र प्रसारको लागि तत्काल संस्थागत पहल सुरू गर्न सरकारसँग माग गर्दछ ।

धन्यवाद !

मिति २०७७ असोज ७ गते

…………….
राजु बस्नेत
महासचिव 

अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको प्रेश विज्ञप्ति