अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षणमा सोधिने प्रश्नावलीमा सरोकारवाला निकायहरूसँग छलफल कार्यक्रम सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले UNDP सँगको साझेदारीमा सञ्चालन गरिरहेको (अपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क विश्लेषण र सर्वे) परियोजनाको कार्यक्रम अन्तर्गत काठमाडौँमा फागुन ७ गते एक कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षणका लागि तयार पारेको प्रारम्भिक प्रश्नावलीमा सरोकारवाला निकायहरूसँग सुझाव लिएको छ ।
हालसम्म सम्पन्न भएका राष्ट्रिय जनगणनाबाट अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क आउन नसकेको र प्रकाशित तथ्याङ्कीय विवरणहरूबाट पनि अपाङ्गता भएका व्यक्तिहरूको विस्तृत जानकारी पाउन नसकिएको कारणले गर्दा महासङ्घले अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षण सञ्चालन गर्नको लागी तयारी गरिरहेको कुरा महासंघका संघीय अध्यक्ष देवीदत्त आचार्यले बताउनु भयो ।
कार्यक्रममा महासंघले निर्माण गरेको विज्ञ समुहले तयार गरेको प्रारम्भिक प्रश्नावलीमा छलफल गरिएको थियो । जसलाई राष्ट्रिय तथ्याङ्क कार्यलयका निर्देशक ढूण्डीराज लामिछाने र राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व अध्यक्ष विरेन्द्रराज पोखरेलले सहजीकरण गर्नु भएको थियो । छलफलमा सहभागी भएका अधिकांश सहभागीहरूले पछिल्लो क्रममा अपाङ्गताको दायरा फराकिलो हुँदै गइरहेको अवस्थामा अपाङ्गताको विभिन्न नयाँ प्रकारहरू समेत देखा परिरहेको हुँदा सो वर्गका व्यक्तिहरूको समेत तथ्याङ्क आउने गरी प्रश्नावली निर्माण हुनुपर्ने कुरामा जोड दिएका थिए ।