घरै छोड्ने निर्णय फिर्ता
आफ्नो अनुहार ऐनामा हेर्छु । लाग्छ म पनि अरु जस्तै त छु । तर किन मलाई सबैले हेला गर्छन ? समाजले त हेला गर्यो तर आफ्नै घरबाट पनि किन अपमान भएको होला ? मलाई किन मान्छेले बुझ्दैनन् ? के ममा अपाङ्गता हुनु मेरै दोष हो र ? म जस्तो अपाङ्गता भएको व्यक्तिको समाजमा अरु सरह बाच्ने अधिकार छैन ? म मा यस्तै प्रकारका प्रश्नले डेरा जमाएको थियो । कहिले काही त यस्तो समाजमा बस्नु भन्दा मर्नु नै वेस जस्तो लाग्थ्यो । तर एकबारको जुनी हो, फेरि अर्को जन्म त पाईदैन नै किन मर्नु जस्तो पनि लाग्थ्यो ।
मेरो कुरा सुनिदिने, कुरा बुझिदिने कोही नै थिएनन् । यस्तो भएपछि, अन्ततः टाढा कसैले नदेख्ने ठाउँमा गएर बस्ने सोच पलायो । यस्तो ठाउँमा कहिले नफर्कने निर्णय पनि गरें । यस्तो निर्णय गर्ने कैलाली जिल्लाको मसुरिया गाविस वडा नं. ३ मा बस्ने रुपा जोशीको यो भनाई हो । वि सं २०४६ सालमा परिवारको माइली छोरीको रुपमा जन्मिएकी रुपा जन्मजात शारिरीक अपाङ्गता भएकी व्यक्ति हुन् ।
उनी थप्छिन् मैले मेरो नजिकको एक जना साथीलाई मेरो निर्णय सुनाए । उनले त्यो कुरा गाउँमा भर्खरै खुलेको अपाङ्गता स्वाबलम्वन समुहको १ जना पदाधिकारीलाई सुनाइछिन् । यस पछि समुहका छलफल भएछ । पछि समुहबाट मलाई भेट्नको लागि खवर आयो । शुरुमा मलाई जान मन लागेन । तर त्यही पनि के भन्छन् सुनौन त भनि म त्यहाँ पुगें । समुहमा म जस्तै अरु साथीहरु पनि हुनुहुन्थ्यो । मेरो समस्याको वारेमा सोध्नु भयो । मैले पनि आफूले भोगेको सबै कुरा सुनाए । उहाँहरुले भन्नु भयो, अब तिमी एक्लै छैनौ, तिम्रो साथमा हामी पनि छौ । यो कुराले मलाई हिम्मत बढायो । म पनि केही गर्न सक्छु भन्ने लाग्यो । यसैबीच मलाई पनि समुहमा सदस्य हुनको लागि अनुरोध आयो र म पनि समुहको सदस्य भएँ । यसपछि समुहले सञ्चालन गरेका हरेक क्रियाकलापमा सहभागी हुन थालें । अपाङ्गताको अधिकारको वारेमा बुझ्दै गएँ । विस्तारै घर छोड्ने कुरा विर्सदै गएँ । यही ठाउँमा केही कुरा गरेर देखाउनु पर्छ भन्ने लाग्यो ।
समुहले मलाई क्षमता विकास, अधिकार सम्बन्धीको नेतृत्व विकास तालिममा सहभागी गर्ने मौका दियो । त्यसबाट झन् आत्मवल बढ्दै गयो । स्थानीय निकायबाट पाउने अधिकारको कुरा बुझें । समाजमा आफ्नो स्थान पनि अपाङ्गता नभएको व्यक्तिभन्दा कम होइन भन्ने बुझें । यी सबै कुरा बुझेपछि फेरि समाजलाई एकपटक निहालेर हेरें । म पनि अरुभन्दा के कम भन्ने लाग्यो । अब यही ठाउँमा केही गरेर देखाउने अटोठ गरें ।
मैले सिकेको सीपलाई प्रयोग गर्दै शुरुमा मैले कुखुरापालन व्यवसाय गरे । यसले मलाई मासिक ५ हजारभन्दा बढी फाईदा दिन थाल्यो । यसबाट मलाई कामगर्ने झन् हौसला बढ्यो । मैले कुखुरा थप्दै गएँ । विस्तारै आम्दानी पनि बढ्दै गयो । आफैं कमाउने भएपछि घरका सदस्यले पनि राम्रो व्यवहार गर्न थाले । त्यतिमात्र हैन समाजका व्यक्ति जो पहिला घृणाले हेर्थे उनीहरुले पनि सम्मान गर्न थाले ।
मेरो कामको सक्रियताको कारण १ वर्षभित्रै समुहको संयोजक भए । मेरो जिम्मेवारी बढ्न थाल्यो । समुहको काम र व्यवसाय विस्तारै सँगै लान थालें । मेरो व्यवसायलाई घरबाट पनि सहयोग हुन थाल्यो । अब अझै केही गर्ने मन जाग्न थाल्यो । गाउँकै सहकारीमा सचिब पदका लागि अनुरोध आयो । सुरुमा त कसरी सम्हाल्ने होला भन्ने लागेको थियो । तर विस्तारै सहकारीको कामलाई साथीहरुको सहयोगमा सम्पन्न गर्दै गएँ । यसले पनि केही सक्ने र हिम्मतिली रहिछे भन्ने पहिचान बनाउँदै गयो । यसका साथै आफ्नो पढाइलाई पनि निरन्तरता दिने विचार गरें । फलस्वरुप कैलाली बहुमुखी क्यापसमा स्नातकोत्तर तहमा भर्ना भएँ र पढाइलाई निरन्तरता दिंदैछु ।
मलाई लाग्छ यदि त्यो दिन स्वावलम्वन समुह नभेटिएको भए मेरो जीवन कस्तो हुन्थ्यो होला ? त्यो दिन सम्झन पनि मन लाग्दैन । जेहोस राष्ट्रिय अपाङ्ग महासंघ, जिल्ला च्याप्टरको यो सहयोग विर्सन सक्दिन । आज जे छु, जहाँ छु ठीक छु र समाजले म प्रति गर्ने व्यवहारमा भएको सकारात्मक परिवर्तनको सबै श्रेय उहाँहरुलाई जान्छ । आगामी दिनमा देशभरि छरिएर रहेका अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि सदैब लड्ने छु । निकै खुसी हुदै आफ्नो कुरा सुनाइन् रुपाले ।