परिवर्तनकी वाहक सविना

पुर्वी नेपालको अत्यन्तै रमणीय जिल्ला ईलाम । जहाँ सुन्दरताको वयान गरेरै साध्य छैन । हो यहि ठाउँको कन्याम गाविस वडा नं ८ मा सविना राईको वि.सं. २०५२ सालमा जन्म भएको थियो । उनको परिवारको आर्थिक अवस्था सामान्य थियो । ७ जनाको परिवार चलाउन उनको बुबा आमालाई त्यति सजिलो थिएन । त्यस माथि सविना जन्मदै अपाङ्गता भएर जन्मेको कारण परिवारलाई औषधी उपचार गर्न र उनको हेरविचार गर्न पनि त्यति सजिलो थिएन ।

सविना भन्छिन् सुन्दर र मनमोहक ठाउँमा जन्म भए पनि म भित्र एक प्रकारको छुट्टै पिडा र दर्द थियो । हिड्न अरुको सहारा चाहिन्थ्यो । अरुकै सहारामा जीवन वित्ने भो जस्तो लाग्थ्यो । उनी विगतलाई यसरी सम्झिन्छिन् ।

उनी थप्छिन्, १२ वर्ष जतिको हुदा म अलि अलि हिड्न सक्ने भएँ । त्यसका लागि लौरोको सहारा लिनै पर्दथ्यो । घर नजिकैको विद्यालयमा पढ्न जान्थे। साथीहरुले के भएर यस्तो भयो प्रश्न गर्थे, विचरा तिम्रो त भन्थे । यस्तो कुराले मलाई सधै सताइरहन्थ्यो । उत्तर पनि कतिलाई दिनु । के भन्नु । कतिले त अपशब्द बोल्थे, के गर्नु, सुन्ने मात्र काम हुन्थ्यो । मैले केही गर्न सक्ने स्थिति पनि थिएन ।

घरमा बुबा आमालाई मेरै चिन्ता थियो । तिमीले कसरी गरिखान्छौ होला भनेर आमाले भन्नु हुन्थ्यो । आमाको कुराले कहिले काहीँ मलाई पनि केही गर्न पनि सक्दिन की जस्तो पनि लाग्थ्यो । कहिलेकाहीँ हामी आमा छोरी अँगालो मारेर रुन्थ्यौं । आखाँबाट आसुका धारा बग्थे । आसुको मुल्य हामीलाई सायद थाहा थिएन होला । हामी मुल्य नै नबुझी आसुका धारा बगाइरहेका थियौं । मेरो बुबाले धेरै उदाहरण दिनु हुन्थ्यो, प्रेरणा दिनु हुन्थ्यो । बुबाको कुरा सुनेर मलाई पनि केही गर्न सकिन्छ की जस्तो लाग्थ्यो ।

जसो तसो दुःख गर्दै पढाइलाई निरन्तरता दिइनै रहेको थिएँ । मेहनतका साथ पढें । एस एल सी उत्तीर्ण गरे । यसपछि मैले पनि केही गर्न सक्छु भन्ने लाग्यो । यसबेलासम्म मलाई अपाङ्गताको वारेमा केही थाहा थिएन । अपाङ्गता अधिकार बुझेको थिईन । जब म एस एल सी पास गरेर कन्याम स्थित श्री कृष्ण आश्रम उमाविमा भर्ना भएँ, त्यसबेला गाउँमा अपाङ्गता अधिकारको लागि स्वावलम्वन समुह गठन भयो । त्यसमा म पनि सदस्य भएँ । यसपछि मात्र मैले आफू कस्तो प्रकारको अपाङ्गता भएको व्यक्ति हुँ भन्ने कुरा बुझें । नेतृत्व विकास तालिम मार्फत आफ्नो अधिकार बुझ्ने मौका पाएँ ।

समुहको सक्रियतामा फिजियोथेरापी तथा सहायक सामग्रीको मद्दत्तले अरु जस्तै विना लौरौ हिड्न सकें । यसले मेरो जीवनमा खुसियाली छायो । मैले पनि अब अपाङ्गताको अधिकारको लागि केही गर्नु पर्छ भन्ने लाग्यो । गाउँ गाउँमा धेरै अपाङ्गता भएका व्यक्तिहरु छन् । उनीहरु त्यतिकै नबुझेर बसेका छन् । तिनीहरुलाई सानो सहयोग गर्न सकेमा उनीहरुको जीवन पनि मेरै जस्तो सुन्दर हुने थियो भन्ने लाग्यो ।

मैलै आफ्नो ठाउँलाई पकेट क्षेत्र बनाई सबै अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता के हो ? अपाङ्गता अधिकार के हो ? राज्यले दिने सुविधा के के हो ? यी विषयमा गाउँ गाउँमा गएर प्रशिक्षण दिन थालें । मेरो काम देखेर समाजले सम्मान गर्न थाल्यो । म मात्र हैन, म जस्ता अपाङ्गता भएका व्यक्ति सबैले मेरै जस्तो सम्मान पाउन थाले । त्यतिवेला देखि नै स्थानीय गाउँ विकास समितिबाट अपाङ्गता अधिकारको लागि बजेट छुट्याउन सुरु भइसकेको छ । परिचय पत्र लिनेको संख्या पनि बढेको छ । मलाई खुसी लागेको छ । मैले आफूले सकेको मात्र गरेको हो । मलाई स्ववलम्बन समुहले सिकाएको सीपलाई व्यवहारमा उतार्न खोजेको हुँ । म यसरी नै निरन्तर रुपमा लागि रहने छु । मेरो काममा परिवारको पनि सहयोग पाइरहेको छु । उनी बढो हिम्मतका साथ यस कार्यलाई आफू बाचुन्जेल गर्ने बचन पनि गर्छिन् ।

अहिले अपाङ्गता कोटाबाट छात्रवृत्ति पाएर उच्च शिक्षा हासिल गरिरहेकी सविना साच्चैनै अपाङ्गता भएका व्यक्तिको परिवर्तनको वाहक बनेकी छिन् । उनलाई हाम्रो पनि शुभकामना छ ।