भविष्यको वारे सोच्न पनि सकिनः यम रसाईली

कैलाली जिल्लाको दुर्गम ठाउँ बलिया गाविस वार्ड नं. ४ लम्कीमा वि.सं. २०३६ सालमा यम रसाईलीको गरिब परिवारमा जन्म भएको थियो । यम जन्मदै शारीरिक अपाङ्गता भएर जन्मिन् । अरु अपाङ्गता भएको व्यक्तिको जस्तै उनको पनि आफ्नै कथा छ ।

मेरो अभिभावकले परिवार चलाउनको लागि ज्याला मजदुरी गर्नैपर्थौ । त्यस माथि कहिले नेपाल बन्द, कहिले बजार बन्द । यसले दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरुलाई हैरान नै बनाएको थियो । कतिदिन त हामीले खान पनि पाईएन । गरिवी कै कारण हाम्रो घरको कसैले पनि पढ्न सकेका थिएनन् । म पनि त्यहि मध्येमा एक थिएँ ।

तर मलाई भने पढ्न असाध्य मन थियो । अरु विद्यालय गएको देख्दा मलाई पनि पढ्न जाउँ जाउँ लाग्दथ्यो । एक दिन मैले बुबा आमालाई आफ्नो पढ्न जाने इच्छा सुनाए । मेरो इच्छालाई उहाँहरुलाई स्वीकृत गरिदिनु भयो । बुबाको काधमा चढेर रमाउदै विद्यालय जान थालें । म पनि निकै मेहनत गरेर पढिरहेको थिएँ तर गरिवीको कारणले गर्दा १० कक्षाभन्दा माथिको अध्ययन गर्न सकिएन । यसको अर्को कारण भनेको अपाङ्गता हुनु पनि थियो । म हिडेर विद्यालयसम्म पुग्न सक्दिन थिएँ । विद्यालयमा तिर्नु पर्ने खर्च पनि परिवारले थेग्न सकेन । जसका कारणले मैले पढाईलाई निरन्तरता दिन सकिन । अब भने म घरमै परिवारलाई सकेको सहयोग गर्दै बसिरहेको थिएँ । अवसरको खोजीमा थिएँ । यसै बीच आफ्नो गाउँमा अपाङ्गता अधिकारको लागि केही काम हुन लागेको जानकारी पाएँ । त्यसको वारेमा चासो राखें । सहभागिता जनाउने प्रतिवद्धता पनि गरे ।

उनी थप्छिन्, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र जिल्ला च्याप्टर कैलालीको आयोजनामा अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक समावेशीकरण नामक कार्यक्रम वि.सं २०७० वाट सञ्चालन भयो । जस परियोजना अन्तर्गत भगवती स्वाबलम्वन समुह गठन भयो । सबैको सल्लाह अनुसार म त्यस समुहको संयोजक हुन पुगें । सुरुमा त संयोजकको काम के हो ? के गर्नुपर्छ भन्ने मलाई केही थाहा थिएन । हुन त समुह गठन गर्दा नै यस वारेमा वताइएको थियो । तर पनि मैले खास बुझेको थिइन । मलाई मानिसको अगाडि गएर बोल्न पनि डर लाग्थ्यो । बोल्न जान्दिन थिएँ । समुहमा आए पछि, नेतृत्व विकास तथा अधिकारमा आधारित र अन्य विभिन्न प्रकारका तालिमहरु पाएँ । यसबाट अपाङ्गताको अधिकार, सुसासन तथा अन्य सम्बन्धी जानकारी भयो । यसका साथै आफ्नो ठाउँका अपाङ्गता भएका साथीहरुको मनोभाव, समस्याहरु बुझ्ने मौका मिल्यो । स्थानीय स्तरमा अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिचान गर्न, समस्या समाधान गर्न स्थानीय निकायमा सबै मिलेर वकालत गर्ने काम शुरु गरियो । हामीले स्थानीय निकायमा पनि अपाङ्गता भएको व्यक्तिको लागि आएको रकम छुट्टाउन दवाव दियौं । जसका कारण गाविसले २ लाख ८५ हजार बजेट विनियोजन गर्यो ।

प्राप्त बजेट मार्फत अपाङ्गता भएको व्यक्तिको जीवनस्तर सुधार हुने खालको आयमूलक कामजस्तैः वाख्रापालन, कुखुरापालन, सिलाईबुनाई तालिमको आयोजना भयो । मैले पनि सिलाई बुनाईको तालिम पाएँ । यस तालिमले मलाई आयआर्जन गर्ने बाटो खुलाइदियो । शुरुमा सिलाई बुनाईको काम गरें र त्यसवाट भएको आम्दानीवाट पछि कपडाको पसल पनि थपें । यस व्यवसायबाट अहिले मासिक रुपमा १० देखि १२ हजारसम्म सहकारीमा बचत गर्ने गरेको उनी बताउछन् ।

मैले स्वाबलम्वन समुह मार्फत अपाङ्गता अधिकार सम्बन्धी सचेतना गर्ने र सरोकारवालासँग वकालत गर्ने तथा नेतृत्व विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्ने काम गरिरहेकी छु । यी मध्ये कतिपय तालिमहरुमा सरोकारवाला निकायहरुको समेत सहभागिता गराइरहेको छु । यसले गाउँमा अपाङ्गता अधिकारको वारेमा चासो बढ्न थालेको छ । हाम्रो अभियानलाई सरोकारवालाहरुबाट पनि राम्रो सहयोग मिलेको छ । हामी बोल्दा हाम्रो पक्षमा बोलिदिनेको संख्या पनि बढेको छ । यसमा म धेरै खुसी छु ।

उनी अहिले स्वावलम्वन समुहमा मात्र हैन बजार व्यवस्थापन तथा समुदायको सरसफाइ समितिमा सदस्य पनि बनेकी छिन् । नियमित बजार व्यवस्थापन तथा बजार सरसफाइ हुने गरेको छ । उनी पनि कपडाको पसल साथै सिलाई कटाईको कामलाई निरन्तरता दिईरहेकी छिन् । जसका कारणले गर्दा समाजमा उनलाई हेर्ने दृष्टिकोण वद्लिएको छ ।

उनी भन्छिन् “ स्वाबलम्वन समुहले मेरो जीवनमा नयाँ आयाम थपिदिएको छ । जुन मैले कल्पनासम्म पनि गर्न सकेको थिएन ।”

यसरी अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन समुहले सचेतना अभियान संगै सामाजिक समायोजनको कुरालाई लिएर अपाङ्गता भएका व्यक्तिहरुको मनोभावना, कार्यक्षमता र दैनिकीमा नै क्रमिक रुपले परिवर्तन भएको देख्दा स्वाबलम्वन समुहको प्रभावकारिता प्रष्ट देखिन्छ । यस्तो कार्यक्रम पहिले नै लागु भईदिएको भए म पनि अपाङ्गता अधिकार सम्बन्धी जनवकालत बेलै देखि गर्न सक्थें । पढाईलाई पनि निरन्तता दिन सक्थें उनी भन्छिन् । भविष्यमा समेत अपाङ्गता अधिकारको लागि गाउँ, जिल्ला, क्षेत्र र राष्ट्रिय स्तरसम्म वकालत गर्ने लक्ष्य उनमा छ । हाम्रो पनि शुभकामना ।