उमाको हिम्मत

ईलाम जिल्लाको बरबोटे गाविस वडा नं ४ मा आज भन्दा ३५ वर्ष अगाडि उमादेवी घिमिरेको जन्म भएको थियो । उनको परिवारमा उनी सहीत ११ जना सदस्य रहेका छन् । सामान्य खेतीपाती गर्ने परिवारमा जन्मेकी उमाको परिवारमा दुई छाक खान भने चटारो थिएन ।

जन्मेको ३ वर्षसम्म केही पनि नबोलेपछि परिवारले उनलाई अस्पताल पुर्याए । धेरै उपचार गर्दा पनि उमाको स्वर आएन ।

उनी भन्छिन् मेरो उमेर बढ्दै गइरहेको थियो । बोल्न नसक्ने भईयो । त्यसपछि परिवार र साथीभाईसँग आफ्ना मनको कुरा भन्न पनि सकिन । त्यसकारण गाउँका साथीभाइ भन्दा टाढा बस्नु परेको अनुभव उनीसँग छ । त्यती मात्र कहाँ हो र ? समाजका व्यक्तिले गरेको अपमानजनक व्यवहारले उनको मुटु नै चस्स दुख्थ्यो । किन मलाई यस्तो भनेको होला भन्ने लाग्थ्यो । रिस उठ्थ्यो । तर जवाफ फर्काउन सक्दिन थिएँ । उनले आफ्ना भावना कापीमा लेखेर देखाइन् ।

अरु साथीहरु झोला बोकेर विद्यालय गएको देख्दा आफूलाई पनि जाऔं जाऔं लाग्दथ्यो । एक दिनको कुरा हो, मैले आफू पनि विद्यालय जाने कुराको इसारा गरें । आमा बुबाले बुझ्नु भयो । धेरै कर गरेपछि मलाई पनि  विद्यालयमा भर्ना गरिदिनुभो । अनि म खुसी हुँदै नियमित विद्यालय जान थालें ।

A women with disabilities is sharing her feelings about her life

विद्यालयमा गएको सुरुका दिनहरु त सबैले जिस्काउथे, नराम्रो ठान्थे । मैले ईशारा गरेको देखेर  साथीहरु खित्का छोडेर हास्ने गर्दथे । गुरुले कक्षामा पढाउदा धेरै कुरा भन्न मन लाग्दथ्यो । तर  बोल्न सक्दिन थिएँ । बोल्न मन लागेको कुरा बोल्न नसक्दा । आफूलाई धेरै दुःख लाग्दथ्यो । मलाई नै किन यस्तो भएको होला। म पनि अरु जस्तै कहिले बोल्न सक्छु होला भन्ने कुरा मनमा खेलिरहन्थ्यो ।

निकै लगन र मेहनतको साथ पढें । मेरो पढाइ पनि अरु भन्दा कम थिएन । विद्यालयमा राम्रो नम्बर ल्याएको देख्दा विस्तारै गुरु तथा साथीभाइबाट माया पाउन थाले । यद्यपी हाम्रो समाजले अपाङ्गता भएको व्यक्तिलाई हेर्ने दृष्टीकोण भने त्यति राम्रो थिएन । यिनीहरु भनेको पृथ्वीको भार मात्र हुन् भन्ने चलन थियो । यीनीहरुले केही काम गर्न सक्दैनन् भन्ने गर्दथे  । परिवारका सदस्य कही जानु परेमा  मलाई घरमा नै छोडेर जान्थे । कुनै कार्यक्रममा गईयो भने पनि चुपचाप घर फर्कनु पर्ने हुन्थ्यो । के गर्ने पिडा त छदैथियो जुन पिडा आफैसँग संगालेर राखेको  थिएँ ।

यसै वीच मैलै २०५५ सालमा एसएसी दोस्रो श्रेणीमा पास गरें । उच्च शिक्षाको लागि ईलाम फाउण्डेसनमा भर्ना भए । त्यतिखेर सम्म बोल्न नसके पनि चेतनाको विकास भइसहेको थियो । अब मलाई विस्तारै समाज परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो । समाजले अपाङ्गता भएको व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण वद्लिनु पर्छ भन्ने अभियान सुरु गर्न मन लाग्यो । यसको बारेमा मेरा मिल्ने साथीहरु मार्फत कलेजमा कुरा उठाउन थालें । तर सुनिदिने कोही भएनन् । म निरीह भएँ । अवसरको खोजीमा थिएँ । मैले बुझ्ने जस्तो अरुले बुझ्न पनि सकेनन् । मलाई कसले साथ दिन्छ होला भनेर खोजी रहेको थिएँ ।  यसैबीच राष्ट्रिय अपाङ्ग महासंघ र जिल्ला च्याप्टर ईलामले अपाङ्गता अधिकारको लागि काम गर्न लागेको कुरा थाहा पाएँ । म जिल्ला च्याप्टर कार्यालयमा पुगेर यस सम्वन्धी विस्तृत कुरा बुझें ।

हाम्रो गाउँमा पनि अपाङ्गता अधिकारको लागि केही काम हुन लागेको जानकारी पाएँ । त्यसपछि जिल्लाका पदाधिकारीहरुलाई आफ्नो गाउँमा निमन्त्रणा गरें । उहाँहरुको सक्रियतामा अपाङ्गता अधिकारको लागि स्वावलम्बन समुह गठन भयो । म पनि त्यस समुहमा सदस्य बनें । यसमा नियमित रुपमा अपाङ्गता अधिकारको लागि छलफल, वहस हुन थाल्यो । अझ हाम्रो ठाउँमा भएको अपाङ्गता भएको व्यक्तिहरुको वास्तविक समस्याहरु छलफल हुन थाल्यो । जिल्ला च्याप्टरबाट जनचेतनामूलक तालिम, क्षमता तथा नेतृत्व विकास तथा अन्य तालिमहरु प्रदान गर्नु भयो । यसबाट मैले अपाङ्गता भनेको के हो ? कस्ता व्यक्तिलाई कुन खालको अपाङ्गता रहेको व्यक्ति भन्छन् ? अपाङ्गता अधिकार के हो ? राज्यले अपाङ्गता भएको व्यक्तिलाई दिने अधिकार सेवा सुविधा के के रहेका छन् भन्ने वारे जानकारी पाए । फलस्वरुप, हामीले हाम्रो अधिकारको लागि वकालत गर्न शुरु गर्यौं । गाउँ गाउँमा लुकेर बसेका अपाङ्गता भएको व्यक्तिहरुको आवाज सरोकार निकायसम्म पुर्याउन थाल्यौं । घरवाट वाहिर निस्कन नचाहने अपाङ्गता भएका व्यक्तिहरुलाई वाहिर निकाल्न सफल भयौं । फलस्वरुप अपाङ्गता भएका व्यक्तिले पाउने शैक्षिक छात्रवृत्ति, अपाङ्गता परिचय पत्रहरु सजिलै पाउन थाले । यति मात्र कहाँ हो र ? स्थानीय निकायले समेत अपाङ्गता अधिकारको लागि बजेट विनियोजन गर्न थाल्यो । यसले अपाङ्गता भएको व्यक्तिहरुको अधिकारमा पहुँच पुग्न थालेको छ ।

म गाउँ गाउँमा पुगेर अपाङ्गताको अधिकारको लागि सचेतना जगाउने काम गरिरहेको छु । साथै आफ्नो पढाईलाई पनि निरन्तरता दिइरहेको छु । अहिले म ईलाम फाउण्डेसनमा स्नातकको अन्तिम वर्षमा अध्ययन गर्दैछु  । घरलाई अर्थिक भार नहोस भनि समुहले दिएको सीपलाई व्यवहारमा उतार्न आफैं तरकारी खेती पनि गर्दैछु । यसले मेरो सामान्य दैनिकी पनि चलेको छ ।

मलाई खुसी लाग्छ । हिजो मलाई हेला गर्ने समाजले सम्मान गर्न थालेको छ । हिजो अपमानजनक शब्द बोल्ने व्यक्तिले माया र प्रेम दर्साउन थालेका छन् । मलाई मात्र कहाँ हो र ? म जस्ता सबैको लागि समान व्यवहार देखिन थालेको छ । यस्तो देख्दा म र मेरो समुहका साथीहरुलाई गर्व लाग्छ । गर्यो भने सबथोक हुदो रहेछ भन्ने हिम्मत पनि बढेको छ । अझ म सशक्तरुपमा अपाङ्गता अधिकारको लागि निरन्तर लड्ने छु ।