प्रगतिको पथमा अपाङ्ग महासंघ जिल्ला च्याप्टर झापा

झापा पूर्वी तराईको एक जिल्ला हो । यो जिल्ला राजनीतिक, शैक्षिक र आर्थिक हिसावले समुन्नत पनि छ । यस्तो जिल्ला भएपनि अपाङ्गता भएको व्यक्तिहरुको अवस्था भने आशातित सुधार हुन सकेको थिएन ।

जिल्लामा अपाङ्गताको क्षेत्रमा कामगर्ने संस्थाहरु थिए । तर सबैले आफ्नो हिसावले काम गर्थे । कसैको चासो थिएन, चासो हुनेहरु पनि चुप थिए । अपाङ्गता भएका व्यक्तिहरु वीच नै एकता थिएन । किनकी आफ्नो अधिकारको वारेमा कसैलाई चेतना थिएन । अझ भन्ने हो भने जिल्लाको विभिन्न गाउँमा बस्ने कतिपय अपाङ्गता भएका व्यक्तिहरुले यसको वारेमा कुनै सूचना पनि पाएका थिएनन् । अपाङ्गता भएका व्यक्तिको हक अधिकारका वारेमा दुर दराजमा वस्नेहरु कत्ति पनि जानकार थिएनन् । वास्तवमा भन्नु पर्दा अपाङ्गता भएका व्यक्तिहरुको एकतामाथि प्रश्न थियो ।

यसपछि, जिल्लाका केही अपाङ्गता भएका अगुवा व्यक्तिहरुले एउटै छातामुनि बसेर हिड्नुपर्ने आवश्यकता महसुस गरे । जस अनुसार जिल्ला समन्वय मञ्च गठन भयो । तर आर्थिक अवस्थाको कारणले मञ्च संचालन गर्न कठिनाई भयो । त्यसबेला जिल्ला च्याप्टरको गठन पनि भएको थिएन ।

समन्वय मञ्चका लागि सहयोगीको रुपमा तत्कालिन जिल्ला विकास समितिभन्दा अरुकोही पनि थिएनन् । जिल्ला विकास समितिबाट प्राप्त सहयोगले अभियान सञ्चालनका लागि पर्याप्त थिएन । त्यसकारण यसको भविष्य पनि अन्योलमा नै थियो । अब के गर्ने भनेर सोच्दा सोच्दै राष्ट्रिय अपाङ्ग महासंघका तत्कालिन महासचिव श्री सञ्जय वान्तवासँग कुराकानी भयो । झापा जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समायोजन नामक परियोजना सञ्चालन भयो । यसपछि महासंघसँगको सहयोग र उत्प्रेरणामा वि.स. २०६६ सालमा जिल्ला च्याप्टरको स्थापना भयो ।

यसको स्थापना पश्चात नियमित बैठक र अपाङ्गताका सवालमा छलफल हुन थाल्यो । यसै गरी बार्षिक साधारण सभा सम्पन्न हुन थाल्यो । यसले गर्दा जिल्ला भरि छरिएर रहेका अपाङ्गता भएको व्यक्तिहरुको सूचना वाहिर आउन थाल्यो । अपाङ्गता भएका व्यक्तिहरुको समस्याको समाधानको लागि पहल हुन थाल्यो । अपाङ्गता भएका व्यक्तिले पनि आफ्नो अधिकार पाउन सकिने रहेछ भन्ने कुरा बुझ्न थाले । जसका कारण जिल्लाभित्र रहेका सबै अपाङ्गता भएका व्यक्तिहरु सलबलाउन थाले । सचेत हुन थाले । च्याप्टरले सबैसँग समन्वय गर्न सजिलो होस भन्ने उद्देश्यले एउटा कोठा भाडामा लिएर काम सुरु गर्यो । यसबाट समन्वय गर्न झन् मद्दत्त पुग्यो । सो कुरा जिल्ला च्याप्टरका तत्कालिन अध्यक्ष श्री खगेन्द्र भट्टराई बताउनु हुन्छ ।

अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक समायोजन दोश्रो चरणको परियोजना सन् २०१३ वाट शुरु भयो । जस अन्तरगत १० गाविसमा १० वटा स्वावलम्वन समुह गठन गर्नुपर्ने योजना थियो । तर जिल्ला च्याप्टरको सक्रियतामा अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी २५ गाविसमा २५ वटा स्वावलम्वन समुह गठन भयो । अपाङ्गता अधिकारको वारेमा गाउँ गाउँमा आवाज उठाउन थालियो । स्वाबलम्वन समुहका सदस्यहरुलाई विभिन्न तालिमहरु प्रदान गरे लगत्तै उनिहरुको आत्मनिर्भरता बढ्दै गयो । स्थानीय श्रोत परिचालन गरी अपाङ्गता भएका व्यक्तिहरु एकातिर आत्मनिर्भर वन्दै गए भने अर्कोतिर उनिहरुको आय आर्जन पनि वढ्दै गयो । यसले परिवार र समाजले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण वद्लिन थाल्यो । यसैसँगै सन् २०१५ देखि एन.एल.आर. र करुणा फाउन्डेसनको समन्वयमा ४ वटा गाविसमा अपाङ्गता भएको व्यक्तिको हेरचाहका लागि उत्प्रेरणा परियोजना संचालन भयो । । संस्थाले पहिले भाडामा लिदै आएको दुइकोठे फ्ल्याटवाट फराकिलो कम्पाउन्ड भएको ४ वटा कोठा भएको प्ल्याट भाडामा लिएर कार्यालय संचालन गर्न थाल्यो । अन्य आवश्यक मानव श्रोतको पनि व्यवस्था भयो । गाउँ गाउँमा गएर काम गर्न सजिलो बनायो । यसका साथै जिल्ला भरी नै अपाङ्गताका भएका व्यक्तिहरुको विकासे क्रियाकलापमा सक्रियता सहभागिता बढ्न थालेको छ । स्थानीय निकायमा राम्रो प्रभाव पनि परिरहेको कुरा जिल्ला च्याप्टरका अध्यक्ष श्री सचिन निरौला वताउनुहुन्छ ।

जिल्लाका पदाधिकारीले सरोकारवाला निकायहरु, अपाङ्गतासम्बन्धी काम गर्ने संस्थाहरुसंग समन्वय गर्दै अपाङ्गता परिचयपत्र वितरणमा सहजिकरण भइरहेकोछ । हाल स्थानीय तहको पुनरसंरचना भएपश्चात झापा जिल्लामा १५ वटा स्थानिय तह बनेको छ । उक्त स्थानिय तह मध्ये ६ वटा स्थानिय तहमा गाउपालिका तथा नगरपालिकास्तरिय स्वावलम्वन समुह गठन गरिसकिएको छ । यी सबै समुह मार्फत अपाङ्गता भएको व्यक्तिको अधिकारको लागि स्थानीय स्तरमा वकालत गरिरहेको छ । यी कार्यले जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित मात्र नभएर समुदायले गर्ने सम्मान पनि पाइरहेका छन् । अझै गर्न त धेरै बाँकी छ । हाम्रो उपस्थिति सबै ठाउँमा सबैसमक्ष चाहेको मात्रामा पुग्न सकेको छैन । श्रोतको कमी छ । जिल्ला भरिका सबै अपाङ्गता भएको व्यक्तिको अधिकार सुनिश्चित गर्न हामी सबै जना लागि परिरहेको कुरा जिल्ला च्याप्टरका अपाङ्गता अभियानकर्ता पिताम्बर घिमिरे बताउनुहुन्छ ।