आगोले खाएको सपना आगोले नै जोडिदियो

गाउँमा म सामान्य चिया पसल गरेर बसेको थिएँ । अचानक मेरो पसलमा आगो लाग्यो । जुन आगोसँगै मेरा बाँकी सपना पनि त्यही धुवासँगै उडेर गयो । अब के गर्ने होला ? कहाँ जाने होला ? कसलाई भन्ने होला ? आफू मात्र हैन् ६ जनाको परिवार कसरी पाल्ने होला । एक माथि अर्को चिन्ता बढ्न थाल्यो ।  यो भन्दा अरु काम गर्ने सक्ने सीप पनि थिएन । जिन्दगीमा कालो बादलले एकाएक ढाकिदियो । जीवन अन्धकार नै अन्धकारले घेरिएको महशुस हुन थाल्यो । अब कता जाने, के गर्ने केही थाहा थिएन । बढो भावुक हुँदै बताए दिलिप कुमार बरईले ।

शारिरीक अपाङ्गता भएका पुरुष मिठाई पसलमा बस्दै गरेको अवस्था

आज भन्दा ४७ वर्ष अगाडि कपिलबस्तु जिल्लाको फुलिकामा जन्मिएका दिलिप शारीरिक अपांगता भएका व्यक्ति हुन् । २०६६ सालमा उनले सामान्य दैनिकी चलाउने र परिवारको जीविका चलाउने उद्देश्यले सानो चिया पसल शुरु गरेका थिए । सो चिया पसलबाट मासिक २० हजार आम्दानी गर्ने गरेका थिए । तर एक्कासी चिया पसलमा आगो लाग्यो । उनको सबै सामान क्षणभरमा नै ध्वस्त भयो, केही वाँकी रहेन । फेरि पसल गर्न उनिसँग आर्थिक सार्मथ्य पनि थिएन । के गर्ने, कसो गर्ने उनले सम्झनै सकेका थिएनन् ।

आफ्नो एक्लो मात्र जीवन होइन, ६ जनाको जीवन चलाउनु त्यति सजिलो पनि थिएन । यसैबीच दिलीप २०६९ सालको बैशाख महिनामा गजेहडामा राष्ट्रिय अपाङ्ग महासँघ जिल्ला च्याप्टर कार्यालय पुगे । जहाँ उनले राष्ट्रिय अपाङ्ग महासंघका तत्कालिन जिल्ला अध्यक्ष कमल प्रसाद ढुङ्गानासँग भेटे । उनले आफ्नो विचल्ली परेको कुरा सबै सुनाए ।

अध्यक्षको पहलमा रेडक्रसको जिल्ला शाखामा उनी पुगे । अध्यक्ष मार्फत  जिल्ला रेडक्रसको  सभापतिसंग कुराकानी हुने मौका मिल्यो । सभापतिले मेरो वेदना सुनेपछि नेपाल रेडक्रसबाट केही लत्ता कपडाहरु सहयोग भयो ।  तत्काललाई मेरो समस्या समाधान भयो । म फेरी जिल्ला च्याप्टर कार्यालयमा गए । व्यवसाय सञ्चालन गर्न आर्थिक सहयोगको लागि अनुरोध गरे । जिल्ला च्याप्टरसँग त्यस्तो खालको आर्थिक सहयोग गर्ने श्रोत नरहेको जानकारी दिनुभयो । तर  उहाँहरुले विना व्याज तथा धितो सँगै रहेको सहकारीवाट रु १० हजार रुपैया उपलब्ध गराईदिनु भयो  । जुन नगदबाट पुनः चिया र मिठाईको व्यवसाय सञ्चालन गर्न सकें । मैले दुई महिनामा नै सहकारीलाई पैसा तिरें । अहिले सबै खर्च कटाएर वार्षिक १ लाख ५० हजार बचत गर्ने गरेकोछु ।

उनी थप्छन्,  मलाई जिल्लाका पदाधिकारीले पटक पटक सहयोग माग्न जाँदा चिनीसक्नु भएको थियो । मलाई जिल्लाबाट सरहरुले अपाङ्गता भएको व्यक्तिहरुको लागि केही काम गर्नको लागि स्वावलमबन समुह गठन गर्न लागिएको कुरा जानकारी गराउनुभयो । २०७० सालमा फुलिका गाउ विकास समितिमा स्वावलम्बन समुह गठन भयो । त्यस समुहको पहिलो अध्यक्ष म भएँ ।  हामीले नियमित बैठकहरु बस्न थाल्यौं । अपाङ्गता भएका व्यक्तिहरुको समस्याहरु पहिल्याउन थाल्यौं साथ साथै समाधानका उपायहरु पनि खोज्दै गयौं । गाविसबाट अपाङ्गता सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरायौं । कार्यक्रमहरु सञ्चालन गर्यौ । यी कार्यक्रमहरुले मलाई तथा म जस्ता अपाङ्गता भएको व्यक्तिलाई काम गर्ने थप हौसला मिल्दै गयो ।

अर्को तर्फ मेरो पनि जनमानससँगको सम्पर्क बढ्दै गइरहेको  थियो । जसको कारणले गर्दा आफ्नो व्यवसाय पनि बढ्दै गयो । मेरो श्रोत र साधनमा पहुँच वृद्धि हुँदैगयो । मैले गाउँ परिषदको बैठकमा समेत भाग लिने मौका पाएँ । मेरो लगनशिलताको कारणले गर्दा महासंघको जिल्ला शाखाको  सदस्यसम्म बन्न सकें । अहिले धेरै अपाङ्गता भएका साथीहरुसंग चिनजान बढेको छ । विगतमा जस्तो एक्लो महसुस छैन । म अहिले मेरा बालबच्चाहरुलाई  राम्रो शिक्षा दिन सकिरहेको छु । पसल राम्रोसँग चलिरहेको छ । म सन्तुष्ट छु । खुसी साथ जीवन विताईरहेको छु । यदि मेरो पसलमा आगो नलागिदिएको भए म जिल्ला च्याप्टर पुग्ने पनि थिइन र आजको स्थानमा आउन पनि सक्दिन थिएँ । आगोको कारण सबैसँग जोडिन पाउँदा आज लाग्छ आगोले खाएको सपना आगोले नै पुरा गरिदियो ।