बाबुले अर्कैलाई टिपेर हिडेपछि विचल्ली श्रृजनाको फेरिएको जीवन

श्रृजना नेपाली, अपांगता भएकी वालिका हुन् । उनको  घर जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ५ मा छ । उनी २०६२ साउन ५ गते बुवा मुनबहादुर नेपाली र आमा नानी नेपालीको पहिलो सन्तानको रुपमा जन्मिएकी हुन् । उनीसहित उनको घरमा ६ जनाको परिवार रहेको छ । उनी स्थानीय विद्यालयमा कक्षा ३ अध्ययनरत छिन् ।

उनको बुवा नेपाली सेनामा कार्यरत हुनुहुन्छ । उनी भन्छिन्, हामीलाई बुबाले केही पनि सहयोग गर्नु हुन्न ।  ३ वर्ष अगाडि बुवाले नेपाल प्रहरीमा कार्यरत एक महिलासँग दोस्रो विवाह गर्नु भयो । यो सँगै एक मात्र भरोसा पनि सकियो । बुबा घर छोडेर  सुर्खेतमा जानु भयो । तर हाम्रो घरमा कसरी गाँस चलेको छ भन्ने कुराको कुनै ख्याल नै राख्नु भएन । हामीलाई माया नै गर्नु भएन । हामी उहाँको साथबाट अलग्गियौं । बुबाले छोड्दाको पिडा त छदैथियो तर अर्को सहन नसक्ने पिडा फेरि थपियो ।

 

अपाङ्गता भएकी बालिका आँगनमा बसेर कुरा गर्दै

उनी थप्छिन्, आज भन्दा ४ वर्ष अगाडि काम गर्ने शिलशिलामा लडेर मेरो हातमा चोट लाग्यो । पैसाको अभावमा तुरुन्तै अस्पताल पुग्न सकिएन । पछि  मेरो हातका औंला खुम्चिए । जसका कारण मलाई लेख्न समस्या भयो । हातमा दुखाई बढ्दै गयो । के गर्नु । त्यतिखेर छोडेर गएको बुबाको पनि आशालाग्यो । तर कसरी भन्ने मन नै मानेन । धेरै दुखाई पछि अलिकता पैसा सापट गरेर आमाले जुम्लाको सरकारी अस्पताल लानुभयो । तर धेरै पैसालाग्ने भए पछि उपचार सम्भव भएन । सामान्य उपचार गरेर चाडै निको हुने आशामा हामी घर फर्कियौं ।

उनी भन्छिन्, निको हुनुको सट्टा झन् झन् समस्या बढ्दै गयो। दुखाई वढेपछि मलाई हातै पुरै  विग्रेको हो की भन्ने डर लागेको थियो । जब जिल्ला च्याप्टर जुम्लाका अपाङ्गता अभियानकर्ता  हाम्रो  घरमा आउनु भयो र मेरो समस्या देख्नु भयो  उहाँले तिमीलाई फिजियोथेरापीको आवश्यकता परेको छ भन्नु भयो । अनि बल्ल मलाई  थाहा भयो  म अपाङ्ग भइसकेको रहेछु । मेरो चिन्ता झन् बढ्यो अनि घरमा एक्लै रुदै बसें ।

यसैबीच अपाङ्गता अभियानकर्ताले २०७२  असोज ११ गते आई एन एफ जुम्लाका फिजियो थेरापीष्ट बिष्णुदत्त आचार्य सँग सम्पर्क गराईदिनु भयो । उहाँले थप उपचारको लागि आ.एन.एफ जुम्लामा आउन अनुरोध गर्नुभयो । त्यहाँको उपचार पछि,  हातमा ककअप राखेपछि अलि राम्रो भयो । पहिलेको भन्दा अहिले हातको अवस्थामा सुधार आएको छ । अहिले राम्रोसँग विद्यालय गएर लेखपढ गर्न सक्ने भएकीछु  । उनी निकै हर्षित मुद्रामा बताउछिन् ।

उनी थप्छिन्, अझ पनि मेरो घर अपाङ्गमैत्री छैन र घर पनि भिरालो स्थानमा छ । मेरो हातको समस्याले गर्दा कहिलेकाही कुनै कुरो समाउन समस्या पर्छ । तर पनि म अहिले खुसी छु । मेरो पढाइलाई निरन्तरता दिनका लागि स्वालम्वन समुहले छात्रवृत्ति उपलब्ध गराएको छ । जिल्ला च्याप्टर जुम्लाले मलाई स्टेसनरी र पोसाक उपलब्ध गराईदिएको छ । जसका कारण नयाँ लुगा लगाएर विद्यालय जाने र मेहनत गरेर पढ्न थालेको छु । गाउँमा भएको स्वालम्वन समुहले गरेको सहयोगले आज म पहिलाको जस्तै भएको महसुस गरिरहेको छु । अब आमालाई दिएको बचन एकदिन पुरा गरेरै छाड्छु । बढो निर्धक्क साथ श्रृजना बताउछिन् ।