आत्मनिर्भर बन्दै कल्छे साउद

“मेरो जीवनका ३४ बसन्त केही नगरी बिते । कहिले रुँदै हिडें । कहिले भोक मेटाउन माग्दै हिडें। दुःखै दुःखको दैनिकीमा स्वावलम्बन समुहलाई भेट्न पाएँ । यहि नै मेरा बाँकी जीवनको सहारा बन्यो । यसैले मलाई सुखी हुन र रमाउन सिकायो । म अहिले ज्यादै खुसी छु ।” बढो खुसी साथ आफ्ना कुरा सुनाए कल्छे साउदले ।

वि.सं. २०३५ सालमा कैलाली जिल्लाको मसुरिया गाविसमा गरीब परिवारमा जन्मिएका कल्छे साउद शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् ।

परिवारमा जेठो सन्तानको रुपमा जन्मिएका कल्छे साउदले आफ्नो जीवनलाई लामो समयसम्म सरापेर बसे । उनले जीवनमा कहिले पनि सुनौलो विहानीको कल्पना समेत गरेनन् । अपांगता भएपछि के नै गर्न सकिन्छ ? अरुले पनि यसले के नै गर्न सक्छ भन्ने गर्थे । समाजमा मानव भएपनि दोस्रो दर्जाको रुपमा बस्नुभन्दा मरैकै बेश लाग्दथ्यो उनलाई । उनीसँग जीवनका ३२ बसन्तसम्म निराशावाहेक केही थिएन ।

२०७० सालमा मसुरिया गाविसमा राष्ट्रिय अपाङ्ग महासंघको सहयोगमा जिल्ला च्याप्टर मार्फत अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नका लागि स्वावलम्वन समुहको गठन भयो । उनी पनि सबैको अनुरोधमा समुहको सदस्य भए । आफ्नो भूमिका अनुसारको सक्रिय काम गरेर देखाउन थाले । जसको कारण उनले सबैको मन जिते । आफ्नो अधिकारको वारेमा बुझेपछि जिल्लामा गएर अपाङ्गता परिचय पत्र तथा नागरिकता लिए । आफ्नो हातमा प्रमाण पत्र पाएपछि आफ्नो अधिकारको लागि सक्रिय हुन थाले । उनको मनोवल पनि बढ्न थाल्यो । केही गर्न सकिने र समाजमा एउटा उदाहरणीय व्यक्ति बन्ने कुरामा उनी ढुक्क थिए । उनले आफ्नो लागि मात्र होइन आफू जस्तै अपाङ्गता भएका व्यक्तिको अधिकारको लागि पनि सचेतना जगाउने तथा अधिकारको लागि वकालत गर्न सुरु गरे । यस कामले उनलाई समाजमा चिनाउन थाल्यो । समाजले हेर्ने दृष्टिकोण पनि क्रमशः सकारात्मक हुदै गयो ।

उनले स्वावलम्बन समुहको पहलमा आय आर्जन गर्नका लागि एउटा छाप्रामा व्यापार गर्न थाले । जसको लागि स्थानीय महिला बचत सहकारी संस्था र स्थानीय व्यक्तित्व सँग सहकार्य गरी रु.१५ हजार बिना धितो, बिना व्याज ५ वर्षको लागि ऋण लिए । जुन ऋणबाट व्यापार बढाए । अहिले उनले दैनिक २ सय देखि ३ सयसम्म आय आर्जन गर्न थालेका छन् । उनले आय आर्जन गर्न थालेपछि उनको पारिवारिक एवं सामाजिक सम्बन्धमा परिवर्तन आएको छ । उनी आफू पनि आत्मनिर्भर बनेको महशुस गर्न थालेका छन् ।

उनी भन्छन् स्वावलम्बन समुहको वकालती कार्यक्रम र राष्ट्रिय अपाङ्ग महासँघको सामाजिक समायोजन कार्यक्रमले अपाङ्गता क्षेत्रमा नौलो आयाम थपेको महशुस गरेको छु । यदि यो कार्यक्रम मसम्म नआएको भए आज आफ्नै घरमा जीवनलाई धिकार्दै बसिरहेको हुन्थे होला ।