समन्वय गर्न सके सम्भव रहेछ
आर्थिक अवस्था कमजोर भए पछि कसको के लाग्छ ? पैसा नै नभए पछि कैलाली जिल्लाको बौनिया गाविसका ३५ जना अपाङ्गता भएका बालबालिकाहरुले पढ्दा पढ्दै विद्यालय छोडे । यस गाविसमा कूल ४५० जना मध्ये ८७ जना विध्यार्थीहरु विद्लायमा अध्ययनरत थिए । जसमध्ये १० जना अपाङ्गता भएका विद्यार्थीहरुको घरको आर्थिक स्थिति एकदमै दयनिय थियो । उनिहरुले किन विद्यालय छोडे ? यसको वारेमा कसैको चासो पुगेन । तर स्थानीय स्तरमा भएको स्वावलम्वन समुहले चासो राख्यो । अभिभावकसँग भेटघाट् गर्यो । विद्यालयमा भेटघाट गर्यो । यसको मुल कारण गरिवी हो भन्ने कुरा थाहा भयो । विद्यालयमा निःशुल्क भए पनि उनीहरुलाई शैक्षिक सामग्री कापी, कलम, किताब र स्कूल ड्रेस किन्ने हैसियत उनीहरुमा थिएन । जुन अभावले उनिहरुलाई विद्यालय छोड्न बाध्य बनायो ।
यसका लागि स्वावलम्वन समुहले घरदैलो कार्यक्रम गर्यो । अभिभावकहरुलाई सम्झायो र अपाङ्गता भएका वालवालिकालाई विद्यालयमा भर्ना त गरायो । तर कसरी अध्ययनलाई निरन्तरता गराउने उनीहरुको ठूलो चिन्ता थपियो । अभाबको कारण फेरि पनि उनिहरुले विद्यालय छोड्ने सम्भावना प्रवल थियो । शैक्षिक सत्रको शुरुमा त शैक्षिक सामग्रीको व्यवस्था गर्न स्वावलम्वन समुह लागि परेको थियो । तर समुहको समेत आर्थिक अबस्था कमजोर भएको कारण निरन्तरता दिन सम्भव भएन ।
स्थानीय स्वावलम्वन समुह साझेदार संस्थाको खोजिमा जुट्यो । लामो समयको अथक प्रयास पछि एन.एल.आर. धनगढीमा पुग्यो । सो संस्थालाई सबै बालबालिकाको पृष्ठभूमि अवगत गराईयो । त्यसपछि एन.एल.आर.ले ती बालबालिकाको वास्तविकता अध्ययन गर्यो । वास्तविकताको अध्ययनपछि १० जना विद्यार्थीलाई जनही रु. ५ हजार बराबरको शैक्षिक सामग्री प्रदान गरियो । यसका साथै ८ जना अपाङ्गता भएका छात्राहरुलाई लत्ता कपडा पनि प्रदान गरियो । जसका कारण उनीहरु सबैले विद्यालयमा निरन्तरता थाले ।
अहिले ती बालबालिकाहरुमा पढाई प्रति हौसला जागेको छ । अहिले ती विद्यार्थीहरु भन्छन् –“हामीले शैक्षिक सामग्री नपाएर नै विद्यालय छोडेका हौं, अब मेहनत साथ पढ्छौं र फेरि पनि सहयोगको अपेक्षा राख्छौं ।”
यो शैक्षिक सामग्री वितरण कार्यक्रमले अरु अपाङ्गता भएका विद्यार्थी र तिनका अभिभावकहरुमा पनि हामीले बालबालिका पढाउनु पर्दोरहेछ भन्ने चेतना जागेको छ । विद्यार्थीहरुमा पनि राम्ररी पढेमा शैक्षिक सामग्रीको खाँचो नपर्दो रहेछ भन्ने उत्प्रेरणा जागेको छ ।
आगामी शैक्षिक सत्रदेखि गाउँका सबै अपाङ्गता भएका विद्यार्थीहरुलाई विद्यालय भर्ना गर्ने अभियान चलाउँछु समाजसेवी प्रेम चौधरी भन्छन् । वास्तवमा यो स्थानीय स्वावलम्बन समुहको उदाहरणीय र उत्प्रेरणादायी कार्य हो । जसले समाजका सबै वर्ग र समुहका व्यक्तिहरुको शिक्षाप्रति ध्यानाकर्षण गराएको छ ।