हार खाईन, जित्नको लागि संर्घषरत छु
मलाई लाग्थ्यो अब म बर्वाद भएँ, अब म जीवनमा केही गर्न सक्दिन होला, समाज पनि कति निष्ठूरी रहेछ, हामी जस्तो व्यक्तिलाई मान्छे नै नगन्ने । दोश्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरेको देख्दा मलाई निकै चित्त दुख्थ्यो । २४ वर्षीय हिमा वस्नेतले विगतलाई यसरी सम्झिन्छिन् । सुर्खेत जिल्लाको मैनतडा गाविस वडा नं ३ की हिमा शारीरिक रुपमा अपाङ्गता भएकी महिला हुन् ।
२/३ वर्षको हुदा उनलाई निकै ज्वरो आएको थियो अरे । जति औषधी खाए पनि तत्काल ज्वरो निकोभएन । पछि एक्कासी उनको एउटा खुट्टा लुलो र छोटो भएछ । धेरै पछि मात्र पोलियो रोग लागेको कुरा उनले थाहा पाईन् । उनलाई कहिले निको नहुने रोग लागेको रहेछ । जब उनी बुझ्ने भईन् उनलाई आफ्नोवारेमा धेरै चिन्ता लागेछ तर पनि कुनै उपाय उनीसँग थिएन ।
उनी भन्छिन्, सुरुका दिनहरुमा मलाई निकै पिडा र छटपटी भयो । अरु साथी सरह हिड्डुल गर्न नसक्दा भित्रभित्रै पिडा हुन्थ्यो । घरपरिवार तथा समाजबाट बेला बेला अपहेलित हुदाका घटना अझै पनि ताजा छन् उनका मनमा । विस्तारै बाल्य अवस्था पार गर्दै किशोरावस्थामा, युवा अवस्थामा आईपुग्दासम्म शारीरिक तथा मानसिक कष्ट भोग्नु परेको थियो उनले। घरको आर्थिक अवस्था पनि कमजोर थियो । तर पनि मैले हार खाईन । पढाईलाई निरन्तरता दिदै गएँ । अन्ततः मैले कक्षा १२ सम्म पढ्न सकें ।
इ.सं. २०१३ सालमा राष्ट्रिय अपांग महासंघ नेपाल, जिल्ला च्याप्टर सुर्खेतले हाम्रो गाविसमा काम गर्न शुरु गरेको थियो । जहाँ महासंघले अपाङ्गता भएको व्यक्तिको अधिकारको लागि स्वावलम्वन समुह गठन गर्ने कुरा थाहा पाएँ । त्यसपछि म अपाङ्गता भएका व्यक्तिहरुको समुहमा आवद्ध भएँ । जुन समुहमा बसेपछि मेरो मनोबल बढ्दै गयो । मेरो सक्रियताको कारणले गर्दा २०७० साल मंसिर महिनामा त्यस समुहको सचिब भएँ । यस सचिव पदले मेरो क्षमता वृद्धिमा ठूलै टेवा पुग्यो । मैले अपाङ्गता भएका व्यक्तिको अधिकार राम्रोसँग बुझें । अधिकार सुनिश्चित गर्नका लागि स्थानीय स्तरमा अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकारका वारेमा वकालत गर्न थालें । साथै अपाङ्गता भएको व्यक्ति पनि यस समाजको सदस्य हो भन्ने कुराको चेतना दिन सकें । यसका साथै सबै अपाङ्गता भएको व्यक्तिहरुको लागि संगठन विस्तार गर्न सकें ।
उनी थप्छिन्, स्वावलम्वन समुहको सदस्य भए पश्चात पढाई मात्र हैन अब पढाईसँगै केही काम गर्नु पर्छ भन्ने मलाई सोच पलायो । मैले निर्धन बैक बाट १५ हजार ऋण निकाली २०७१ सालमा सानो खुद्रा पसल गर्न थालें । यसले के गर्ली भन्दै गाउँलेहरुले कुरा काट्न थाले । तर अरुले के भन्छन् तिनीहरुको पछि लागिन । मैले हिम्मत नहारी अफ्नो व्यवसाय बढाउन तर्फ लागें । सानो पसलको अम्दानीले आफ्नो र बहिनीको पढाई तथा घरको ७ जनाको परिवारलाई सजिलैसँग पाल्न सकेको छु । मेरो व्यवसायले मलाई सबैसँग परिचित गराउदै गयो ।
समाज पनि विस्तारै परिवर्तन हुदैछ । मैले भोगेको जस्तो समस्याहरु अरुले भोग्नु परेको छैन । अपाङ्गता भए पनि अन्य सरह नै सम्मानजनक जीवनयापन गर्न सकेको देख्दा आफैमा दंग छु । यस्तो देख्दा आफैंमा खुसी लाग्छ ।
अझै अपाङ्गता भएका व्यक्तिहरुको समस्याको समाधानको लागि गाउँमा के गर्न सकिन्छ ? कसरी सबै अपाङ्गता भएको व्यक्तिको अधिकार सुनिश्चित गर्न सकिन्छ । यसमा निरन्तर लागेको छु । जस्तै परिस्थितमा पनि मैले हार खाईन, जित्नको लागि संर्घषरत छु । आज आफ्नो खुट्टामा उभिन पाउदा आफूलाई अपाङ्गता भएको एकरत्ती पनि महशुस छैन । आज यस ठाउँमा म मात्रै होइन म जस्ता सबै प्रकारका अपाङ्गता भएका व्यक्ति सम्मानजनक रुपमा हिड्न सकिरहेका छन् । अधिकार बुझ्ने र अधिकार प्राप्तीको लागि संगठित हुने तथा वकालत गर्ने हो भने सबै ठाउँका अपाङ्गता भएका व्यक्तिले अधिकार पाउन सक्ने थिए । त्यसका लागि म मेरो जीवनभर समर्पित रहनेछु ।