फेरिदै गरेको मेरो जीवन

२९ वर्ष अगाडि पाल्पा जिल्लाको भैरबस्थानमा जन्मेका बाबुराम शारिरीक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । अपाङ्गता भएको कारण पहाडमा हिडडुल गर्न अफ्ठ्यारो थियो । कुनै ठाउँ पुग्न पनि सजिलो थिएन । घरमा बस्ने बाहेक अरु कुनै काम थिएन । तराई झरे केही गर्न सकिन्थ्यो की जस्तो लाग्थ्यो । तर कसरी तराई मधेस झर्ने । उनीहरु अन्योलमा थिए । समाधान खोज्दा खोज्दै उहाँको परिवार ८ वर्ष अगाडि परिवार सहित कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा बसाई सरे ।

शारिरीक अपाङ्गता भएको पुरुष घरको बाहिर बस्दै गरेको अवस्था

जब हामी तराई वसाईं आइयो, म भुँईमा घिस्रेर हिड्न् थाले । त्यो देखेर केही मान्छेहरु मलाई विचरा भन्थे, कोही हाँस्थे , कोही के भएर यस्तो भनेर प्रश्न गर्थे । यस्ता अनेकौं प्रकारको प्रश्न र व्यवहारले मलाई बेक्कार तराई मधेस आएको भन्ने लाग्थ्यो । पहाडमा भएको भए कमसेकम धेरै मान्छे त भेट हुदैनथ्यो ।  तर पनि जिवनमा संघर्ष गरे केही हुन्छ भन्ने लाग्थ्यो, यसको लागि म अवसरको खोजीमा थिएँ ।

सन् २०१३ सालको बैशाख महिनामा मैले राष्ट्रिय अपाङ्ग महासँघ जिल्ला च्याप्टर मार्फत सञ्चालन भएको समुह छ भन्ने कुरा सुनें । मैले यसको वारेमा खोजीनीति बढाएँ । अन्ततः अपाङ्गता भएको व्यक्तिहरुको नियमित  बैठक बस्ने स्थान पत्ता लगाएँ र त्यहाँ पुगें । सबैले मलाई स्वागत गर्नु भयो अनि चिनजान गर्ने मौका पनि मिल्यो ।

भाग्यबस त्यस दिन राष्ट्रिय अपाङ्ग महासंघ  जिल्ला च्याप्टर कपिलवस्तुवाट कर्मचारी सुरज पोखरेल पनि आउनु भएको रहेछ । त्यहाँ अपाङ्गता सवालको वारेमा धेरै छलफल भयो । मैले पनि ध्यान दिएर सुनें । अन्ततः म पनि स्वावलम्बन समुहको सदस्य वन्न पुगें । अन्तमा मैले एउटा व्हिलचेयर सहयोगको लागि अनुरोध गरेँ । महासघंको कर्मचारीले पहल गर्छौं भन्ने बचन दिनु भयो । त्यस बचनले म निकै हर्षित भएँ ।  म पनि निरन्तर रुपमा बैठकमा जान थालें । जहाँ अपाङ्गता अधिकारको वारेमा छलफल हुन्थ्यो । एक अर्कालाई परेका समस्याहरुको वारेमा छलफल हुन्थ्यो र समाधानका उपायहरु खोजी गरिन्थ्यो । मैले पनि अपाङ्गता के हो ? अपाङ्गता अधिकार के हो ? अधिकारहरु कसरी सुनिश्चित गर्ने भन्ने विषयमा बुझ्दै गएँ । यसबाट मेरो कुरा गर्ने क्षमता पनि बढ्दै गयो । समाजमा मेरो हेलमेल बढ्न थाल्यो । विस्तारै मेरो गाउँमा बढेको सक्रियताले समाजका व्यक्तिहरुले पनि सम्मानजनक रुपले हेर्न थाले ।

उनी थप्छन् , निरन्तर समुहमा जान थालेपछि मैले केही समयमा एउटा व्हिलचेयर पाएँ । जसको कारण आफू पनि हिड्न सक्ने भएको महसुस गर्न थालें ।  यताउता व्हिलचेयरबाट घुम्न पाउँदा निकै खुशी लाग्यो ।  मेरो लागि परिवारका अरु सदस्यहरुको माया पनि झनै बढ्न थाल्यो । म आफू पनि अब सक्षम भएँ भन्ने भावना विकसित भयो । हिड्नका लागि व्हिलचेयर भए पछि टाढा टाढाको कार्यक्रममा समेत सहभागी हुन थालें । अब मैले पनि केही गर्न सक्छु भन्ने आत्मवल बढेर आयो । व्हिलचेयर मेरो लागि दुबै खुट्टा भए समान भयो ।

उनी थप्छन्, एक दिन महासंघबाट समुहका सदस्यहरुका लागि राखेको क्षमता अभिवृद्धि तालिममा सहभागी हुने मौका पाएँ ।  त्यस समयमा महासंघको अध्यक्षले आई.एन.एफ.को कर्मचारीसँग मेरा लागि  केही सहयोग गरिदिन आग्रह गर्नु भयो । त्यसको १ महिनापछि आई.एन.एफ.को कर्मचारीहरु मेरो घरमा आउनु भयो । मलाई अपाङ्गता मैत्री शौचालय र घर निर्माणका लागि निशुल्क रु ५० हजार सहयोग गर्ने बचन दिनु भयो । त्यही समयमा मेरो दाजुले आर्जन गरेको केही कमाइ, आइएनएफले दिएको नगद सहयोग र थोरै गाउँबाट लिएको सापटीले अपाङ्गतामैत्री घर तथा शौचालय निर्माण गरियो ।

अहिले हाम्रो घर अपाङ्गता मैत्री छ, मेरो लागि हिड्न डुल्न सहज भएको छ । हामी सबै परिवारका व्यक्ति धेरै खुसी छौं । आज हामीसँग ईष्टमित्रहरुको साथ निकै बढेको छ । भविष्यमा अपाङ्गता भएका व्यक्तिको अधिकारको वकालतका लागि सधैं लागि पर्ने कुरामा बाबुराम प्रतिवद्ध छन् ।