सहयोग विहीनहरुको सहयोगी सीताराम सर
ईलाम जिल्लाका पञ्चकन्या गाविसमा सीताराम रेग्मीको सम्पन्न परिवारमा जन्म भयो । सीताराम सरले जीवनलाई कहिले फर्केर हेर्नु परेको थिएन । आईएड पढ्दा पढ्दै उहाँ सरकारी विद्यालयमा शिक्षक हुनुभयो । आइएड पास गरेपछि स्थानीय श्री पञ्चकन्या प्राथमिक विद्यालयमा प्रधानाध्यापक हुनु भयो । यता घरमा गाई पालन तथा चिया खेति थियो । यसले उनको आम्दानी पनि राम्रो थियो । परिवारमा ५ जना सदस्यहरुको जीवन खुसीसाथ वितिरहेको थियो ।
समय पनि कति निष्ठुरी हुदोरहेछ । एकपटक ईलामवाट काठमाण्डौ जाने क्रममा बस दुर्घटना भयो । त्यही दुर्घटनाबाट उनी नराम्रोसँग घाइते भए । उनलाई हतार हतार गर्दै अस्पताल लगियो । तर जति उपचार गरेपनि ठिक भएन । अन्ततः उनको एउटा खुट्टा गुम्यो र उनी सदाको लागि शारिरीक अपाङ्गता भएका व्यक्ति हुन पुगे । शुरुको दिनहरु उनको सार्है कहाली लाग्दो भयो । करिब १ वर्षसम्म त उनी विद्यालय जान पनि सकेनन् । उनी विस्तारै आफ्नो लयमा फर्कदै गए । त्यसपछि बैशाखीको सहारामा विद्यालय जान थाले । पुनः बालबालिकालाई पढाउन थाले आफ्नो दुःख पिडालाई भुलेर।
कहिले काहीँ विध्यालयमा विध्यार्थीहरुलाई अपाङ्गता सम्बन्धी पढाएको थाहा थियो तर त्यतीखेर सम्म अपाङ्गता के हो ? अपाङ्गता भएका व्यक्तिको अधिकार केहो ? उनले राम्रोसँग बुझेका रहेनछन् । सायद चासोको विषय नै परेन की ?
जब जिल्ला च्याप्टरले राष्ट्रिय अपाङ्ग महाँसंघको सहयोगमा अपाङ्गता अधिकार सम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याउने भयो । उनले पनि चासो दिएछन् । त्यस कार्यका लागि भरपुर सहयोग पनि गरे ।
उनको काम प्रतिको लगाव देखे पछि, जिल्ला च्याप्टरले कार्यक्रममा सम्लग्न हुन अनुरोध गर्यो । अन्नतः अपाङ्गता भएको व्यक्तिहरुको अधिकारको लागि क्षितिज स्वावलम्वन समुह गठन भयो । सबैको अनुरोधमा सीताराम सरले समुहको अध्यक्ष पद जिम्मा लिए ।
जब उनी संयोजक बने, यस मार्फत गाउँमा भएका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु लाई एकै ठाउँमा भेला गराए । समुहमा बसेर अपाङ्गता अधिकारको लागि नेतृत्व विकासको तालिमका साथसाथै अन्य तालिम पनि पाए । त्यसपछि अपाङ्गताको अधिकार अझ राम्रोसँग बुझ्न पाए । यस पछिका दिनमा गाउँ, जिल्ला तथा राष्ट्रिय स्तरमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि वकालत गर्न थाले । उनको कामलाई अन्य साथीहरुले पनि सहयोग गर्दै गए ।
जिल्ला भरीका अपाङ्गता भएको व्यक्तिहरु र तिनका परिवारलाई अधिकार प्राप्तीको लागि संगठित गर्ने काम गरे । कुनै ठाउँमा पनि अपाङ्गता भएका कारण हेला, अपमान हुन नपरोस् भन्ने उनको अभियान हो ।
हिजो आज कहीँ कुनै ठाउँमा अपाङ्गताको सवालमा आवाज उठाउनु परे तुरुन्तै उनी पुग्छन् । जिल्लाको ठूलाबडालाई तुरुन्तै डाक्छन् । जिल्ला भरीमा अपाङ्गता भएका बालबालिकाको लागि समावेशी शिक्षा र छात्रवृत्तिको लागि पहल गरिरहेका छन् । यदि कुनै विद्यालयले नमाने तुरुन्तै त्यसको प्रतिकार गर्छन् । त्यसको लागि वकालत गर्छन् । स्वास्थ्य, शिक्षा र आय आर्जनका लागि अपाङ्गताले पाउने हक अधिकारका लागि तल्लीन छन् सीताराम सर । सहयोगी विहीनहरुको सहयोगी बनेका छन् उनी । आवजवीहीनहरुको लागि आवाज बनेका छन् सीताराम सर । सरको उत्साह सधै यसरीनै अघिबढी रहोस् ।