हार नखाई जितेकाः जितबहादुर
सान, मान, इज्जतमा वसेका जितबहादुर २०४६ सालको माघ महिनामा आइपुग्दा अन्ततः हारे । भर्खरका लालाबालालाई हुर्काउनु त छदैं थियो । अर्कोतिर परिवार पनि चलाउनु थियो । त्यसकारण घरमा वस्तुभाउ पालिएको थियो । तर रुखमा घास काट्न चढेका जितबहादुर एक्कासी भूईंमा बजारिए । उपचार गराउने ठाउँ तथा आर्थिक समस्याको कारणले गर्दा उनी शारीरिक अपाङ्गता भएका व्यक्ति बन्न पुगे ।
२०१५ सालमा सिन्धुपाल्चोक जिल्लाको इर्खु पोखरीमा जन्मेका जितबहादुर गिरी रुखबाट झरेसँगै उनको जीवन कठिन बन्न पुग्यो । बाँच्नुभन्दा मर्नु बेस भन्ने लाग्थ्यो उनिलाई । गरिवीको मारमा त उनि पहिले नै थिदै थिए त्यसमाथि अपाङ्गता थपिन पुग्यो । सँगै मर्ने र सँगै बाच्ने कसम खाएकी श्रीमति पनि विस्तारै टाढा हुन थालिन्, वास्ता समेत गर्न छाडिन् । मर्दा पर्दा काम लाग्ने दाजु भाइ पनि टाढा हुन थाले । समाजका व्यक्तिले धन्न मरेनछ भन्ने भन्दा अरु केही सहयोग गरेनन् । दुखाईको पिडा त सहन कोसिस गरिरहेको थिएँ । तर मानसिक तनाब भने विर्सन सक्ने अवस्था थिएन । उनी भन्छन् । जीवन कसरी जिउने, अब के गर्ने मलाई केही थाहा थिएन । २ छोरा र २ छोरीको पालन पोषण कसरी गर्ने ? सोच्न समेत सकिन । सुखमा त सबैको साथ थियो । तर दुःखमा सबै टाढा भए । आफू काम गर्न नसकेपछि सबैको हेलामा परियो ।
उनी थप्छन्, जब मेरो ढाड एकाएक दुख्न थाल्यो । भाइले पठाइदिएको विजुलीको तेलले माड्न लगाए । त्यसले त निको गर्ने होइन झन् विगारेछ । धेरै दुखेपछि जिल्ला अस्पतालमा आए । तर उपचार हुन नसकेपछि अन्ततः मेरो ढाड बाङ्गियो । म पूर्णकालिन अपाङ्गता भएको व्यक्ति भए ।
विस्तारै सामान्य हिडडुल गर्न थालें । ई.स. २०१३ मा मेरो गाउँमा अपाङ्गता भएको व्यक्तिहरुको स्वावलम्वन समुह निर्माण भयो । यसबाट मैले अपाङ्गता अधिकारको वारेमा जानकारी पाएँ । स्थानीय श्रोतको उपलब्धता र श्रोत परिचालन विधिको कुरा सिके । त्यसपछि मेरो मनमा केही गर्न सकिन्छ भन्ने हिम्मत बढ्यो ।
समुहको सिफारिसमा मेडेम संस्थाले सञ्चालन गरेको ७ दिने लघु उघमी तालिममा सहभागी हुने मौका पाएँ । जहाँ पाउँ (लप्सी क्याण्डी) बनाउने सीप सिकें । क्रमशः ३ पटक गरेर २१ दिनको तालिम पाए पछि मैले पाउँ बनाउन सुरु गरें । जसका लागि मेडेपले ५ हजार र घरेलुबाट १५ हजार ऋण लिएर सानो उघोग शुरु गरें । सुरुमा त यस्तो काम गरेर पनि हुन्छ भनेर परिवारबाट सहयोग नै पाइन तर विस्तारै बुझ्दै गएपछि सहयोग गर्न थाले । मेरो निरन्तर मेहनतको कारणले मेरो कामलाई सम्मान गर्दै दोलखा, दाङ, नुवाकोट, सिन्धुपाल्चोक जिविसबाट नगद पुरस्कार तथा सम्मान पत्र पाएँ ।
उनले मासिक १ सय किलोभन्दा बढी पाउँ उत्पादन गरी जिल्ला र जिल्लाबाहिर लगेर बेच्ने गरेका छन् । मासिक रुपमा १० हजार भन्दा बढि नाफा कमाउन थालेका छन् । अहिले उनको उघोगको ९ लाखभन्दा बढी मोल पर्छ । यसका साथै उनले यसैको आम्दानीबाट करिब २ लाख ३० हजारको जग्गा किनेका छन् । हालको मोलमा हेर्न हो भने उक्त जग्गाको १० लाख भन्दा माथि पर्छ । यसका साथै कान्छो छोरालाई ७ लाखभन्दा बढी खर्च गरेर इन्जिनियर बनाएका छन् । भर्खरै उनले भुकम्प प्रतिरोधात्मक घर समेत बनाइसकेका छन् ।
हिजो बढो हेला गर्ने दाजु भाइ आज सम्मान गर्छन् । केही काम गर्नु परेमा सोध्छन् । समाजमा गुमेको मान, सान र इज्जत सबै फर्केको अनुवभ गर्छन् जितबहादुर ।
उनी निकै खुसी छन् । महासंघको जिल्ला शाखाले मलाई सहयोग नगरेको भए यतिखेरसम्म म मरी सक्ने थिएँ होला । घरभित्रै सड्ने थिए होला । स्वावलम्वन समुहलाई पनि धन्यवाद दिन्छन् । यदि यस समुहमा म बस्न नपाएको भए जिल्लामा गएर आफ्नो अधिकारको कुरा पनि गर्न सक्ने थिईन होला । यो भनाईमा उनको निकै खुसीको मुस्कान देखिन्थ्यो । अहिले पनि स्वावलम्वन समुह सक्रिय बनाउन समेत उनको अहम भूमिका छ ।
महासंघका पूर्व अध्यक्ष अम्बरबहादुर घले भन्नुहुन्छ, जितबहादुर गिरी निकै फुर्तिलो हुनुहुन्छ । उहालाई हामीले सिकाए पछि तुरुन्त व्यवहारमा उतार्न सक्ने खुवी उहाँमा थियो । अपाङ्गता भएको व्यक्तिहरुको जिल्लाको सान नै भएका छन् जितबहादुर । महासंघले उहाँलाई आगामी दिनमा समेत आवश्यकता अनुसारको निरन्तर सहयोग गर्ने बचन दिनुहुन्छ ।