कर्णेबाट कर्णदाई

गाडि ढ्याक्क रोकियो । कर्ण दाई भन्ने आवाज आयो । एक जना व्यक्तिको सानो घरभित्रबाट हजुर भन्ने आवाज आयो । गाडिबाट उत्रेका व्यक्तिले कर्ण दाईलाई चुङ्गी करबापतको पैसा दिए । कर्ण दाईले वील दिए । यसपछि गाडि फेरि अगाडि बढ्यो । यस्तै दैनिकका साथ जीवन अघि बढिरहेको छ कर्णबहादुरको ।

कर्ण वहादुर सार्की आजभन्दा ४१ वर्ष अगाडि सुर्खेत जिल्लामा जन्मेका हुन् । उनी शारिरीक अपाङ्गता भएका व्यक्ति हुन् । सानै उमेरमा पोलियो रोगका कारण अपाङ्ग बनेका कर्णबहादुरको जीवन निकै दुःख र कष्ट साथ वितेको थियो ।

उनका बुबा जय वहादुर सार्कीको आफ्नो पुर्ख्यौली घर सल्यान हो । त्यहाँ बाट हातमुख जोर्न समस्या भए पछि २०२४ सालमा सुर्खेतमा वसाई आउनु भएको थियो । नदीको किनारामा नदीले छोडेको जग्गामा सामान्य रुपमा खेतिपाती गर्दै २ छोरा र ३ छोरी सहितको परिवार दुःखसाथ पालन पोषण गर्दै थिए उनी । दुःख भए पनि घर परिवार त खुसी नै थियो ।

एकास्सी जेठा छोरालाई (कर्ण वहादुर सार्की) पोलियो रोग लाग्यो । जसको कारणले उनको एउटा खुट्टा निष्क्रिय भयो । उपचार गर्न अस्पताल पनि धाइयो । तर भनेजस्तो उपचार हुन सकेन । आर्थिक रुपमा सम्पन्न भएको भए राम्रो ठाउँमा उपचार गराउन पाएको भए ठीक हुन्थ्यो की । आर्थिक अभावको कारणले गर्दा उ अपाङ्गताको जीवन जिउन वाध्य हुने भयो । उनका बुबा जयबहादुर भन्नु हुन्छ ।

कहाली लाग्दो गरिवी अनि समाजे भन्ठान्ने कथित अछुत जाति । त्यसैमा कर्ण वहादुरको शारीरिक अपाङ्गताले पुरै परिवार दुखित तथा विचलित थियो । यस्तो परिस्थितिमा जय वहादुरले छोराको भविष्य सोची पिठीउँमा वोकेर ३ कि.मी टाढा रहेको सिद्धेश्वर उच्च मा.वि.मा कक्षा ८ सम्म अध्ययन गराउनु भयो ।

जसका कारण उनी सामान्य पढ्न लेख्न सक्ने भए । यद्यपी उनलाई अपाङ्ग अधिकारको वारेमा जानकारी भने थिएन । उनीसँग अपाङ्गता परिचय पत्र पनि थिएन । राष्ट्रिय अपाङ्ग महासंघबाट सञ्चालित कार्यक्रमको स्थानीय स्वावलम्वन समुहमा आवद्ध भए पछि उनले अपाङ्गता परिचय पत्र पाए ।

यसको साथै समुहको सहयोगमा २०७० साल भाद्र ८ गते राष्ट्रिय अपाङ्ग महासँघ जिल्ला च्याप्टरद्वारा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्व विकास तथा निर्वाचन प्रक्रियामा सहभागितात्मक विषयको कार्यक्रममा सहभागी हुने उनलाई मौका मिल्यो । जहाँ सहजकर्ताले अपाङ्गताको अधिकार र सहभागिताको सवालमा सचेतनामूलक विषयमा छलफल गराए । त्यसमा सामुदायिक वनका पदाधिकारी र स्थानीय उपभोक्ता समितिहरुको समेत सहभागिता रहेको थियो । वनका पदाधिकारीहरुले कार्यक्रममा अपाङ्गता भएको व्यक्तिहरुको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कर्णबहादुरले यो कुरा सुनेपछि स्थानीय समुदायिक बनमा सहयोग पाउने आशामा पुगे । स्वावलम्वन समुहको पटक पटक छलफल र अनुरोध पछि उनलाई चुङ्गिकर संकलनमा संकलनकर्ताको रुपमा नियुक्त गरिदियो । जसका लागि मासिक रु ६ हजार तलबमान तोकियो । उनी धेरै खुसी भए । यस आम्दानीले आफ्नो परिवारमा सहयोग दैनिकीमा सहयोग पुग्यो।

स्वावलम्वन समुहले गरेको वकालत पछि उनले जागिर मात्रै पाएनन् । अहिले यस ठाउँमा अपाङ्गता भएको व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण पनि बद्लिएको छ । कुनै पनि नयाँ समुह गठन भएमा सकेसम्म अपाङ्गता भएका व्यक्तिलाई समेत सहभागिता गराउने चलन समाजमा बढेको छ । स्वालम्वन समुहले धेरैभन्दा धेरै काम गरेको छ । ती मध्येका एक उदाहरण हुन् कर्णबहादुर सार्की । आज तिनै व्यक्ति हिजोको कर्णेबाट आज सबैका कर्णदाई बन्न सकेका छन् ।