पुरा हुदै आशारामका आशाहरु
२०६५ सालको साउन महिना थियो । सिमसिम पानी पर्दै थियो । त्यसदिन आशाराम पनि नेपालगंजको यात्रामा थिए । बस चढेको १ घण्टा भएको थिएन उनी चढेको बस दुर्घटनामा पर्यो । दुर्घटनामा केहीले ज्यान समेत गुमाए । तर उनलाई भने भगवानले हात थापीदिए । उपचारले उनको ज्यान त जोगायो तर उनी हिडडुल गर्न नसक्ने भए । बास्तवमै उनी शारीरिक अपाङ्गता भएका व्यक्ति भए । आशारामले सोचे मेरो जीवनका सबै आशाहरुमा अब पूर्णविराम लाग्यो ।
आशाराम चौधरी, वि.सं. २०४४ सालमा कैलाली जिल्लाको दुर्गौली गाविसमा जन्मिएका हुन् । जन्मदा सवलाङ्ग भए पनि दुर्घटना पश्चात उनी शारिरीक अपाङ्गता भएका व्यक्ति बने । जसको कारण उनको जीवन पनि अन्योलग्रस्त भयो । के गरौं कसो गरौं भनेर उनलाई पूर्णरुपमा छटपटाहट भयो । जिन्दगी सबै अन्धकार देख्न थाले । आशाका ज्योती सबै निभे जस्तो भयो । अगाडिका जीवनका बाटाहरु उनलाई देखाइ दिएनन् ।
आशारामको परिवारको शैक्षिक र आर्थिक अवस्था नाजुक थियो । त्यस माथि अपाङ्गता भएपछि उनलाई झनै ठूलो चोट लाग्यो । यस्तै पिडा नै पिडाको वीचमा पनि उनले आफ्नो पढाईलाई भने निरन्तरता दिदै गए । विभिन्न समस्याहरुसँग जुध्दै उच्च माध्यमिक तहसम्मको शिक्षा आर्जन गर्न उनि सफल भए ।
आशाराम सम्झन्छन्, अपाङ्गता भएकै कारणले आफू कुनै पनि सार्वजनिक समारोहमा सहभागी हुन नपाएको । त्यति मात्र कहाँ होर आफ्नै परिवार तथा समाजबाट समेत अपहेलना सहनु परेको तितो यथार्थ उनले संगालेका छन् । आशाराम भन्छन्, आर्थिक अवस्था कमजोर थियो तर के गर्ने कसैले मुखमा ल्याएर माड हालिदिएन । त्यही भएर उनी अरुको खेत अधियामा कमाउन शुरु गरे, ज्यालामा काम गरे जसबाट जसो तसो सामान्य रुपमा आफ्नो र परिवारको जीवन चलाइरहेका थिए ।
आशाराम थप्छन्, के अपाङ्गता हुनु मेरो दोष हो ? अपाङ्गता भएका व्यक्ति भन्दा पनि नभएको व्यक्तिको सोच भित्र बढी अपाङ्गता देखिन्छ । कतिपय ठाउँमा जाँदा विचरा भन्ने तर कसैले पनि सहयोग नगर्ने परिपाटी अझै पनि रहेको छ । तर मानिसको जीवन हो । जो जति खेर पनि अपाङ्ग हुन सक्छ, कसैको भविष्य पनि निश्चित छैन ।
अन्योलै अन्योलको वीचमा आशारामको सानो आशा पालायो जब नेपालमा अपाङ्गता भएका ब्यक्तिहरु अधिकार सुनिश्चित गर्ने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले सामाजिक समावेशीकरण नामक कार्यक्रम शुरु गर्यो । त्यसै कार्यक्रम अन्तर्गत उनी दीगो स्वाबलम्वन समुहकामा अध्यक्ष बने । अध्यक्ष बनेपछि विभिन्न विषयमा तालिम प्राप्त गरे । यसपछि उनले अपाङ्गता अधिकारको लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्न थाले । यसका साथै स्थानीय स्तरमा अपाङ्गता अधिकार सम्बन्धी वकालत गर्न शुरु गरे । विभिन्न सरोकारवालालाई सहभागिता गराएर अपाङ्गता अधिकारको सम्बन्धमा सचेतना, नेतृत्व विकास, स्थानीय श्रोत परिचालन इत्यादि सम्बन्धी तालिमहरु संचालन गरे । जुन उनले जिल्ला च्याप्टरको कार्यक्रममा सहभागी भएर सिकेका थिए । यसका कारण अहिले यस ठाउँमा अपाङ्गतालाई हेर्ने दृष्टीकोण विस्तारै सकारात्मक रुपमा बद्लिन थालेको छ ।
निकै नै हेपिएका र अवसरबाट बञ्चित पारिएका आशारामलाई वकालत कै कारणले सक्षम बनायो । नि.मा.वि तह सम्म पढाइ हुने एक निजी बिद्यालयका प्रधानाध्यापकको जिम्मेवारी पाए उनले । अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने कुरा उनले प्रमाणित गरेका छन् । उनी थप्छन्, स्वावलम्वन समुहले मेरो जीवनमा नयाँ आयाम ल्यायो । जुन मैले कल्पना सम्म पनि गर्न सकेको थिइन । अहिले उनलाई आफ्नो परिवार धान्न कुनै चिन्ता छैन । सँगै अपाङ्गता भएको व्यक्तिको अधिकारको लागि पनि नियमित वकालत गर्दैछन् ।
उनी अहिले गाउँ विकास समितिबाट बजेट लिई अपाङ्गता भएको व्यक्तिको दैनिकीलाई सजिलो बनाउने काममा समेत सक्रिय छन् । समाजमा अन्य वर्गलाई समेत सचेतना गराउन स्थानीय स्तरमा एउटा क्लबमा अध्यक्ष समेत भएका छन् । आशारामलाई समाजका हरेक व्यक्तिले सम्मानजनक रुपमा हेर्न थालेका छन् । हाल उनी स्वावलम्बन समुहमा सकृय रुपमा काम गरिरहेका छन् । समुहले यस वर्ष गाउँ विकास समितिबाट प्राप्त १ लाख बजेट परिचालन गरिरहेको छ । जसवाट १५ जना अपाङ्गता भएका महिलाहरुको लागि सिलाई कटाई तालिम सञ्चालन गरिरहेका छन् । नियमित रुपमा सबै मिलेर अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि लड्ने हो भने समाज परिवर्तन गर्न सकिने कुरामा उनी ढुक्क छन् ।