खाना पकाउने भाडा भित्रको जिन्दगी

मनिष चौधरीको कैलाली जिल्लाको साडेपानी गाविसमा बि.सं. २०६४ सालमा जन्म भएको थियो । उनी जन्मजात बहु अपाङ्गता भएका व्यक्ति हुन् । उनको शरिरका कुनै पनि भाग चल्दैन थियो । अब केहि गर्न सकिदैन होला भनेर उनका परिवारले आशा मारिसकेको थियो । कहिले मर्छ अनि लगेर फालिदिने भनेर बाटो कुरेर बसेका थिए । आफूले खाना खाने समयमा सामान्य खाना खुवाइदिने गर्थे । तर राम्रोसँग खाए नखाएको कसैलाई वास्ता थिएन । बास्तवमा भन्नुपर्दा मनिषको हेरचाह गर्ने जागर कसैलाई पनि थिएन ।

लडेर मर्छकी त्यस्तो भयो भने पाप लाग्छ भनेर मनिषलाई भात पकाउने भाडोमा भित्र हालिदिने र आफूहरु काममा वाहिर निस्कन्थे । उसलाई कस्तो छ? के भइरहेको छ ? भोक लाग्यो की? विरामी भयोकी कसैलाई केही चासो वा चिन्ता थिएन ।

न त बोल्ने सक्थे । न त कराउन । उनलाई पशुसरह व्यवहार गरिएको थियो । वर्षौंदेखि नुहाएको थिएन उनको शरीरले । राम्रो लुगा लगाउन पाएको थिएनन् । उनी बालबालिकाले पाउने अधिकारबाट पूर्णरुपमा बञ्चित थिए ।

राष्ट्रिय अपाङ्ग महासंघको सहयोगमा गाउँमा वकालतको लागि स्वावलम्वन समुह गठन भएको थियो । यो समुहले अपाङ्गता भएको व्यक्तिहरुको अधिकारको लागि काम शुरु गरिसकेको थियो । यसै क्रममा मिति २०७० माघ २५ गतेको दिन मतदाता शिक्षाको समीक्षा गर्नको सबै समुहका सदस्यहरुको बैठक भेला भएको थियो ।

बैठकमा एक जना सदस्यले मनिष चौधरीको वारेमा सुनाए । यस्तो सुनेर सबैजना अचम्ममा परे । यसपछि उनको उद्धारको लागि एउटा योजना बन्यो । यसै अनुरुप संयोजक र एक जना सदस्य बालकको घरमा गए । उनको परिवारलाई भेटी सबैकुरा बुझे । संयोजकले बालकको अभिभावकलाई यसरी भाँडा भित्र राख्न नहुने, समयमा खाना खुवाउनु पर्ने तथा व्यक्तिगत सरसफाइ गर्नको लागि सुझाव दिए । राम्रोसँग सम्झाई बुझाई गरी समुहका संयोजक र सदस्य आफ्नो बाटो लागे । १ हप्तापछि त्यसको अनुगमनको लागि मनिषको घरमा दुबै जना पुगे । त्यहाँ पुग्दा मनिष पहिलेकै अवस्थामा देखिए । पुनः सम्झाउन खोज्दा परिवारका सदस्य उल्टै झगडा गर्न थाले । तर पटक पटक छलफल पछि परिवारका व्यक्तिहरु मनिषलाई ध्यान दिने कुरामा सहमत भए । अन्ततः मनिषको सफाई हुन थाल्यो । नियमित खान पाउन थाले । शरीरिक अंग नचले पनि उनी हेर्दा सफा र राम्रो देखिन थाले । सबैको मायालु देखिन थाले ।

यसपछि समुहले बालकको परिचयपत्र भए नभएको बुझ्न परिवार सँग छलफल गरे । शरीरको कुनै पनि अंग नचल्ने, खाना खान भोक लाग्यो सम्म पनि भन्न नसक्ने बालकलाई (ग) श्रेणीको पहेलो परिचय पत्र दिईएको रहेछ । यस्तो देखे पछि समुहले जिल्लामा गएर क वर्गको परिचय पत्र निकाल्न सहयोग गरिदिए । यसपछि मनिषले मासिक १ हजार भत्ता पाउन थाले । यस्तो प्रयासले घरमा खुसी छायो । बालकको पोषणको लागि उसले नै पाएको मासिक सामाजिक सुरक्षा भत्ताले पुग्न थाल्यो । भात पकाउने भाडाको जिन्दगीबाट अब घर भित्र बस्ने तथा सफा सुग्घर भएर रमाउन थालेका छन् मनिस चौधरी । अधिकार पाउनु सबैको अधिकार पनि हो ।