बलरामको बल
म भारतको दिल्लीमा एउटा कम्पनीमा काम गर्दै थिएँ । काम गर्ने क्रममा २०६२ सालमा मेरो दाँया हातको हत्केलाको भाग मेशिनमा परी काट्यो । जसको पिडाले म असाध्यै छट्पटिएँ । यसपछि मलाई हिनताबोध भयो । अर्काको देशमा बस्नुभन्दा आफ्नै ठाउँमा गई केही काम गरौं भन्ने लाग्यो । त्यही भएर म घर फर्कें । मलाई भेट्न र मेरो हालचाल सोध्न गाउँका साथीहरु मेरो घर आउँथे । तर मलाई भने उनीहरुसँग भेट गर्न मन लाग्दैनथ्यो । मलाई मेरो जीवन नै वर्वाद भयो, अब म केही गर्न सक्दिन भन्ने लाग्दथ्यो । मेरो हात काटिएपछि मलाई संसार नै अन्धकार भए जस्तो लाग्थ्यो । जीवन कसरी चलाउने ? के गर्ने होला ? मेरो चिन्ताको कुनै सिमाना नै थिएन ।
यो चिन्ता अरु कसैको नभई बलराम खरेलको थियो । उनी ४४ वर्ष अगाडि कपिलबस्तुको वाणगँगामा ठाउँमा जन्मेकाथिए । उनले नेपालमै हुदा एस एल सी सम्मको अध्ययन गरेका थिए । उनी ४ जनाको आफ्नो परिवारको भविष्यलाई उज्जवल बनाउने चाहनामा मुग्लान छिरे । तर त्यहि चाहनाले उनको हात नै गुम्यो । यो दिनको पिडा उनले चाहेर पनि विर्सन सक्दैनन् । आफ्नो देश नछोडेको भए त्यस्तो हुदैनथ्यो की । उनि पछुताउँछन् ।
समय वित्दै गयो । केही गर्न सकिएको थिईन । यसै बीच वि.सं. २०६६ सालमा हाम्रो गाविसमा अपाङ्गता भएका व्यक्तिहरुको समुह बनाउने कुरा छलफल भएछ । राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला च्याप्टरका केही अपाङ्गता भएका साथीहरु मलाई भेट्न आउनु भयो । सुरुमा म समुहमा जान मानिन । साथीहरुले धेरै सम्झाउनु भयो । अप्ठ्यारो मानी मानी हुन्छ भनिदिएँ । त्यसपछि म अपाङ्गता भएका व्यक्तिहरुको भेलामा निरन्तर रुपमा उपस्थित हुन थालें । उनले भने ।
त्यो भेलामा अपाङ्गता भएका व्यक्तिहरुका अधिकार तथा अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेका समस्याहरुका वारेमा छलफल भयो । मलाई पनि समुहको सदस्य बन्न आग्रह गरियो । मैले पनि स्वीकारें । शुरुमा म एक्लै हो की जस्तो लाग्थ्यो । पछि थाहा भयो हामीहरु धेरै रहेछौं जसले उस्तै खालका समस्याहरु भोगिरहेका थियौं । अब हामी सबै मिल्नु पर्छ भन्ने लाग्यो । यसले मलाई केही गर्नुपर्छ भन्ने बल प्राप्त भयो ।
परियोजना दोश्रो चरणमा प्रवेश गरिसकेको थियो । अब त केही गर्नैपर्छ भन्ने छलफल चलिरहेको थियो । यसै समयमा महासंघको जिल्ला च्याप्टरले प्रस्ताव पत्र तयार गरिदियो । त्यसलाई हामीले सबै मिलेर गाविसमा पेश गरियो । शुरुमा गाविसले हाम्रो प्रस्तावलाई वास्ता नै गरेन । तर मैले निरन्तर बल गरें । अन्ततः गाविसले केही रकम अपाङ्गता भएका व्यक्तिहरुका लागि विनियोजन गर्यो । शुरुमा २५ हजार १ सय बजेट विनियोजन गरिएको थियो । त्यो रकमबाट अपाङ्गता सम्वन्धी जनचेतनामुलक कामगर्ने मौका मिल्यो । क्रमशः हामीहरु समुहमा बैठक गर्ने, छलफल गर्ने र जिल्ला च्याप्टरसँग समन्वय गर्न थालियो ।
यसका साथै समुहलाई अझ बलियो बनाउन हामीले मासिक १ सय रुपैया समुहमा बचत गर्न थाल्यौं । २०७१ सालमा सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारीको शेयर सदस्य पनि बनें । पछि अपाङ्ग उत्थान समाजले सञ्चालन गरेको साना व्यवसाय तालिममा सहभागी हुने मौका पाएँ । त्यो तालिमबाट मैले केही व्यवसाय गर्नु पर्दछ भन्ने प्रेरणा मिल्यो । मैले शुरुमा सहकारीबाट रु १० हजार ऋण लिई किराना पसल सञ्चालन गरें । व्यवसाय राम्रै चल्यो । मासिक ३ हजार जति आम्दानी हुन थाल्यो । विस्तारै व्यवसायलाई बढाउँदै लगें । अहिले मलाई समाजका साथीहरुले राम्रो व्यवहार गर्दछन् । समाजमा हुने सामाजिक गतिविधिमा समेत सहभागी हुने मौकाहरु पाएको छु । अहिले मलाई म अपाङ्गता भएको व्यक्ति हुँ भन्ने जस्तो लाग्दैन । ममा आत्मबल बढेर आएको छ । ४ जनाको सानो परिवार खुशीका साथ बसेका छौ । निरन्तर रुपको बलले नै आज म सबैको प्रिय बलराम बन्न सकेको छु । उनीले प्रसन्न मुद्रामा सबैकुरा खोलेर भने ।