शिक्षाको ज्योति बाल्दैः विष्णुप्रसाद
विगतका दिन सम्झदै विष्णु भन्छन् । पढ्न त पढियो तर जागिर कहाँ खाने ? जागिर कसले दिन्छ ? निकै चिन्तामा थिएँ । जागिरका लागि धेरै भौतारिएँ । धेरै आश्वासन पाएँ । तर कसैले पनि जागिर दिएनन् । जिन्दगी देखि दिग्दार लागिरहेको थियो ।
३२ वर्षिय विष्णुप्रसाद उपाध्यायले आफ्नो विगतको व्यथा सुनाए । कपिलबस्तु जिल्लाको पटना गाउँमा सामान्य परिवारमा जन्मनु भएको विष्णुप्रसाद उपाध्याय । जसका दुवै आखाँ न्यून दृष्टिविहीन छ । यसको अर्थ राम्रो देख्न नसक्नु हो । आखाँ राम्रो नदेखे पनि स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएको छ उहाँले । घरमा उहाँ सहित ८ जनाको परिवार छ ।
आखाँ राम्रोसँग देख्न नसक्ने भए पछि मलाई समाजले कुनै कुरामा विश्वास गरेन । हाम्रो अधिकारको कुरामा कसैको ध्यान गएन । हामी जस्ता व्यक्तिको जीवन हुनु भन्दा त नहुनु नै बेस लाग्दथ्यो । सोच्दा पनि दिक्क लागेर आउथ्यो । भौतारिदै हिडिरहेको थिएँ । यसैबेला गाउँमा अपाङ्गता भएको व्यक्तिहरुको समुह गठन भयो । राष्ट्रिय अपाङ्ग महासंघको सक्रियतामा जिल्लामा यस समुह मार्फत अपाङ्गता सम्बन्धी जनचेतना जगाउने कार्यक्रम भयो ।
समुहमा म पनि सदस्य भएँ । सदस्य भएपछि निरन्तर रुपमा बैठकमा भाग लिन जान्थे । अपाङ्गता भएको व्यक्तिको राज्यले दिने सेवा सुविधाका वारेमा जानकारी हुन्थ्यो । आफ्ना अधिकारका लागि हामी योजना बनाउने तथा वकालतका लागि सम्बन्धित निकायमा जाने गरिन्थो । आफ्ना समस्याहरु समुहमा छलफल हुन्थ्यो । समाधानका उपायहरु खोजिन्थ्यो । उनले भने । समुहका सबै जनाले तिमी त पढेका छौ जागिर खाउ भन्थे । तर भने जस्तो सजिलो थिएन । कसले दिन्थ्यो मलाई सजिलै जागिर ? उनी घन चक्करमा थिए ।
एउटा नजिकैको विद्यालयमा शिक्षक आवश्यकता भएको जानकारी आयो । मलाई पनि कताकता भाग्यले साथ दिन लागेको हो की जस्तो लाग्यो । जुन कुरा मैले, तत्कालै महासंघका जिल्ला अध्यक्षलाई जानकारी गराएँ । अध्यक्षबाट पहल गरिदिने आश्वासन पाएँ । जसको कारण म धेरै खुसी भए । त्यहाँबाट पनि राम्रै पहल भएछ । अन्ततः सफल भइयो । शुरुमा म अस्थायी शिक्षकको रुपमा निम्न माध्यमिक तहमा काम शुरु गरें । केही समयपछि शिक्षक सेवा आयोगबाट स्थायी सिफारिस भई महासंघकै पहलमा घर पायक विद्यालयमा अध्यापन सुरु गरें ।
यदि महासंघले पहल नगरिदिएको भए मेरो नोकरी घर पायक हुने थिएन । मलाई वाहिर गएर काम गर्न निकै समस्या हुन्थ्यो । मलाई आत्मनिर्भर भई स्वावलम्वी जीवन जिउनको लागि सहयोग गरिदिने महासंघको जिल्ला च्याप्टर मेरो भगवान सरह नै बनिदियो । अहिले मैले मासिक रुपमा १८ हजार ७ सय ३० रुपैया तलब थाप्छु । यसले मेरो परिवारको जीविका चलाउन मनग्य पुगेको छ ।
उनी थप्छन् , यसले मेरो जीवनमा ठूलै परिवर्तन भएको छ । त्यति मात्र होइन अहिले म नव गठित बाणगंगा नगरपालिकाको नगर स्तरीय अपाङ्गता समन्वय समितिको अध्यक्षको जिम्मेवारी पनि वहन गरिरहेको छु । कामबाट बाँकी रहेको समय अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका पक्षमा वकालत गर्दै हिड्ने गरिरहेको छु । उनी भन्छन्, सबै गाविसहरुमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वावलम्वन समुहहरु गठन गरी अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्ने काम गरिदिए समग्र अपाङ्गता भएको व्यक्तिको जीवन सहज हुने थियो ।