चौतर्फी पहुँच बढाउदै स्वावलम्वन समुह

पूर्वको १ नम्बर प्रदेशमा झापा जिल्ला पर्छ । झापा जिल्ला शैक्षिक, आर्थिक तथा राजनितिक हिसाबले नेपालकै सुगम मानिन्छ । यद्यपी यहाँको अपाङ्गता भएको व्यक्तिको अवस्था भने नाजुक नै थियो । राज्यबाट प्रदान गरिने सेवा सुविधा पनि पाउदैनन् थिए । यसको बारेमा चेतनाको पनि अभाव थियो ।

वि.स. २०६६ सालमा राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल जिल्ला च्याप्टर झापाको स्थापना भइसके पछि जिल्ला कै कमल गाउपालिका ( साविक लखनपुर गा.बि.स) वि.स. २०७१ सालमा गा वि स स्तरीय अपाङ्गता स्वावलम्वन समुह गठन भयो ।

 

A group of person are holding bamboo tools

जसका कारण यस ठाउँका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु समावेश हुने मौका पाए । जिल्ला च्याप्टर झापाले समुहका प्रतिनिधिहरुलाई विभिन्न नेतृत्व तथा क्षमता विकास तालिम तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई समुदायमा पुर्नस्थापन गराउनका लागि निरन्तर लागि पर्यो । जसका कारण ११ जना अपाङ्गता भएका ब्यक्तिहरुले पूर्नस्थापन हुने मौका पाए । दोश्रो चरणको परियोजना यस ठाउँमा भएका करिब १ सयजना अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो अधिकार बुझेको कुरा जिल्ला च्याप्टरका तत्कालिन अध्यक्ष श्री खगेन्द्र भट्टराई बताउनु हुन्छ । अधिकार बुझेपछि उनिहरुले राज्यका निकायमा गएर आफ्नो अधिकारको लागि बकालत गर्न थालेका छन् । सुरु सुरुमा राज्यका निकायहरुले आलटाल गर्थे । विस्तारै संगठित भएपछि भने उनीहरुको केही लागेन ।

सबैअपाङ्गता भएका ब्यक्तिहरुले परिचय पत्र सहज रुपमा पाउन थाले । अध्ययनका लागि छात्रवृत्तिको सिफारीस हुन थाल्यो । यसका साथै  सामाजिक सुरक्षा भत्ता पनि निरन्तर पाउन थाले । यस्ता कामले गर्दा यस ठाउँका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुमा एक प्रकारको हौसला बढ्न थाल्यो । संगठित भएको कारण अब कसैले पनि हेप्न नसक्ने भए । समाजमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिष्ठा बढ्दै जान थाल्यो ।

यसका साथै जिल्ला च्याप्टरले विभिन्न संघ संस्थाहरुसंग समन्वय गरी अपाङ्गता भएका ब्यक्तिहरुलाई आवश्यक सहयोग सामग्री उपलब्ध गराउने कार्य ( बैशाखी , ह्लिचेयर, सेतो छडी, ट्राईसाईकल, लगायत ) भयो । यसले गर्दा अपाङ्गता भएका व्यक्तिहरुको दैनिकी सहज हुन थाल्यो र उनिहरुको आवागमनमा पनि वृद्दि हुन थाल्यो ।

Group of persons with disabilities are working in the farm

 

जिल्ला च्याप्टरका अध्यक्ष थप्नु हुन्छ, सचेतनाले मात्र नपुग्ने भए पछि आर्थिक रुपमा पनि सशक्तिकरण गर्नका लागि क्रमैसँग सबैलाई हौसला र क्षमता बढाउदै गइयो । जसका लागि  सीप तथा क्षमता विकास तालिमहरु संचालन भए । जस्तै  अम्लिसो कुचो वनाउने तालिम, मखमलको जुत्ता र गुडिया वनाउने तालिम,  कम्प्युटर तालिम, वाँसको मुढा वनाउने तालिम, सिलाई कटाई तालिम आदि । यो तालिम पाएपछि ५० प्रतिशतभन्दा  बढि अपाङ्गता भएको व्यक्तिहरुले आफ्नो व्यवसाय सुरु गरिरहेका छन् ।

अपाङ्गता अधिकार र विकासका लागि स्थानीय निकायमा समेत पहल बढ्दै गयो । जसको कारणले आ.ब. २०७३/७४ मा गाविसबाट अपाङ्गता अधिकारको लागि १ लाख ५० हजार बजेट विनियोजन भयो । त्यस्तै जिल्ला विकास समितिबाट समेत रु १ लाख  प्राप्त भयो । यो सहयोगबाट अपाङ्गता भएको व्यक्तिको जीवनलाई थप सहज बनाउन सहयोग पुगिरहेको छ ।

७ जनाको समुहबाट शुरु गरिएको स्वावलम्वन समुहमा शुरुको दिनमा कसैको विश्वास पनि थिएन । यो समुहले के गर्न सक्छ र जस्तो सबैले गर्दथे । विस्तारै सबै अपाङ्गता भएका व्यक्तिहरु एकै ठाउँमा भेला भएपछि क्रमैसँग वकालत गर्न सकियो । हामी अहिले गाउँमा मात्रै सिमित छैनौं । जिल्लामा आइपरेका समस्याका लागि पनि एक जुट हुन्छौं । अन्यायका विरुद्धमा सामुहिक रुपमा लड्छौं । स्वावलम्वन समुहका अध्यक्ष श्री टंक बराल बताउनु हुन्छ ।