महासंघले नै ल्याइदियो पुनारामको पुनरागमन

पोहरसाल खुसी फाट्यो जतन गरी मनले जोडें । त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले जोडें, यसपाली त मन नै फाट्यो के ले सिउने के ले जोड्ने हो । यो गीतको जस्तै पिडा बन्यो पुनाराम बेल्वासेलाई । उनी आजभन्दा २८ वर्ष अगाडि कपिलबस्तु जिल्लाको भालुवाडमा जन्मेका हुन् । उनको घरमा आमा बुबा सहित ८ जनाको परिवार छ ।

परिवारको जेठो सन्तान हुन् उनी । जसले गर्दा सानै उमेरबाट नै घरको आयआर्जनमा सहयोग गर्नु पर्दथ्यो । बढो दुःखका साथ परिवारको जीविका चलिरहेको थियो । यही वेला बुबा एक्कासी विरामी पर्नु भयो । घरमा पैसा थिएन । गाउँमा गरिबलाई पैसा पत्याउने कुरा नी भएन किनकी तिर्नको लागि कुनै आम्दानीको श्रोत थिएन । जसो तसो चन्दा उठाएर भए पनि बुबाको उपचार भयो । बुबालाई राम्रो भयो ।

A person standing in front of building who lost his hand in the accident

 

त्यस पछि फेरि नयाँ भविष्य सोच्दै गरेका पुनारामलाई एक्कासी अर्को झट्का लाग्यो । जुन झट्का बाचुन्जेल रहन गयो । उनलाई २०६५ सालमा काम गर्ने शिलसिलामा उनलाई  करेन्ट लाग्यो । हतार हतार गर्दै उनलाई अस्पताल पुर्याइयो । तर के गर्ने विधिको विडम्बना उनको दुबै हात काट्नु पर्यो ।

उनी विगतलाई सम्झन्छन् । जब दुवै हात गुम्यो । मलाई संसार नै अध्यारो लाग्न थाल्यो । हात नभएको मान्छेले के गर्न सक्छ भन्ने लाग्यो । कति रात रुदै बसें । सम्झाइदिने कोही भएनन् । बाच्नुभन्दा मर्नु नै बेस लाग्यो । तर जीवनसँग हार खानु हुदैन भन्ने सोच पनि एकातिर आयो । संघर्षको बाटो रोजें । तर कहाँबाट कसरी संघर्ष गर्ने बाटो खोज्दैथिएँ । यसैवीच, मैले अपाङ्गता भएका व्यक्तिहरुको हितको काम गर्ने संस्थामा पुगे । त्यहाँबाट म गाविसमा रहेको अपाङ्गता भएको व्यक्तिहरुको समुहको सम्पर्कमा पुगे  । मैले आफूले पाएको दुःख र अपहेलनाको वारेमा सुनाए । मैले भनें,  म गाउँको विद्यालयको  परिचर हुँ । अपाङ्गता भए पछि यसले केही गर्न सक्दैन भन्ने कुरा शिक्षकहरुको बीचमा छलफल हुन थालेछ । मलाई विद्यालयवाट निकाल्ने योजना बनेको रहेछ । जुन कुरा मैले थाहा पाएँ ।  म जागिरबाट निकालिए भने कसरी परिवार पाल्ने भन्ने कुराले मानसिक चिन्ता बढिरहेको थियो । आफूले भोगेको सबै कुरा समुहमा सुनाएँ । पछि समुह मार्फत त्यो कुरा महासंघको जिल्ला च्याप्टरमा पुग्यो । महासंघका प्रतिनिधि र प्रधानाध्यापकबीच कुराकानी भएछ । मेरो जागिर बचाउन अनुरोध गरिदिनु भयो । महासंघको अनुरोधलाई स्वीकार्दै मलाई काममा निरन्तर लाग्नको लागि सहयोग पुग्यो । यदि जिल्ला च्याप्टरले पहल नगरिदिएको भए मेरो जागिर नै जाने थियो ।

मैले निकै मेहनत गरी काम गर्दै थिएँ । एक वर्ष पछि मैले काम गरिरहेको विद्यालयमा एउटा शिक्षकको  दरवन्दी खाली हुन पुग्यो । मेरो योग्यता पनि थियो । मैले शिक्षा शास्त्रमा प्रविणता पत्र तह पास गरेको थिएँ । मलाई शिक्षक भएर काम गर्ने रहर थियो । तर के गर्ने अपाङ्ग भएका कारण मलाई राख्न मान्दैनन् होला भन्ने लाग्थ्यो । तर के हुन्छ एक पटक कुरा त गरौं भन्ने लाग्यो । त्यसपछि मैले आफ्नो कुरा समुहमा भनें । त्यसका लागि समुहले पहल गर्ने बचन पाएँ । यसका लागि महासंघका प्रतिनिधिहरुले पनि धेरै पहल गर्नु भयो । अन्ततः सफल भइयो र गाउँ कै विद्यालयमा शिक्षक भएँ ।

मेरो विद्यालयमा काम गर्ने शैली फेरियो । अब म घण्टी बजाउने हैन बालबालिकालाई पढाउन कक्षा कोठामा जान थालें । म धेरै खुसी थिएँ । केही समय पछि मलाई यसले लेख्न पनि सक्दैन  भनेर निकाल्ने प्रयास पनि भयो । त्यो समयमा पनि महासंघले खबरदारी गर्यो । मैले निरन्तर रुपमा काम गर्ने अबसर पाएँ । वि.सं.२०७० सालको शिक्षक सेवा आयोगवाट स्थायी शिक्षकको लागि सिफारिस गर्यो । तर  मैले काम गरिरहेको स्थानमा अर्को शिक्षक ल्याउनको लागि विद्यालयले माग गरेछ । यसले फेरि तनाव थप्यो । घरबाट टाढा गएर बस्नु पर्ने भयो । परिवारबाट अलग हुनु पर्ने भो भन्ने लाग्यो । मलाई तनाव भएको कुरा सबै  समुहमा सुनाएँ । त्यसपछि महासंघको पहलमा  जिल्ला शिक्षा कार्यालयमा विभिन्न चरणमा बैठकहरु भए र  अन्तमा त्यही विद्यालयमा काम गर्नका लागि जिल्ला शिक्षाबाट नियुक्ति पाए । मलाई महासंघले हरेक समस्याहरुमा सहयोग गर्दै गयो । मेरो लागि निरन्तर प्रयास गर्यो ।  अहिले म त्यही विद्यालयमा शिक्षक भएर  काम गरिरहेको छु । म धेरै खुसी छु । परिवार र गाउँका बालबालिकालाई शिक्षा दिने काम गरिरहेको छु ।

यदी महासंघले यति धेरै पहल र सहयोग नगरिदिएको भए मेरो नोकरी रहने थिएन । मैले मागेर जीवनयापन गर्नु पर्ने थियो । हाल म विद्यालयमा पढाएर वार्षिक २ लाख आम्दानी गर्छु । आफ्नो परिवार राम्रोसँग चलाएकोछु ।  अरु शारीरिक अवस्था ठीक भएर पनि केही नगरेको र आफूमा अपाङ्गता भएर पनि समाजका बालबालिकालाई शिक्षा दिन पाएकोमा गर्व लागिरहेको छ ।