भाग्यलाई पनि जित्यो कर्मले

विहान ७ बजेको छ । मान्छेहरु झुरुप्प बसिरहको देखिन्छन् । एक छिन त म अलमल्ल परें । कतै केही त भएको होईन भनेर । पछि बुझ्दा त पवित्राको पसलमा चिया पिउने, घरमा चाहिने सरसमान र तरकारी किन्ने मानिसहरुको भिड रहेछ । पवित्रा पनि पसलमा हतार हतार गर्दै सामान दिने, चिया पकाउने, चिया दिने, गिलास माझ्ने, पैसा लिने काममा व्यस्त थिईन् । हामीले पवित्रालाई भेट्न आएको कुरा जानकारी गरायौं । उनी मुसुक्क मुस्कुराईन् अनि बस्न अनुरोध गरिन् । करिब १ घण्टापछि क्रमैसँग भिड कम हुँदै गयो । हामी पनि चिया पिउँदै गफ गर्न सुरु गर्यौ ।

उनले भनिन् मेरो नाम पवित्रा थापा हो । म वि.सं २०३७ सालमा इलाम जिल्लामा सोयाङ गाविसमा वडा नं २ जन्मेकी हुँ । मेरो परिवारको आर्थिक अवस्था एकदमै नाजुक थियो । म जन्मदै शारीरिक अपाङ्गता भएर जन्मेकी हुँ । मेरो घरमा म समेत ७ जनाको परिवार छ । म घरको तेस्रो सन्तान हुँ ।

२ वर्ष उमेर पुग्दासम्म पनि म  ओल्टो कोल्टो गर्न सकिनछु । त्यस्तो देखेर परिवारलाई चिन्ता थपिएछ । यसै त परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यसमाथि मेरो यस्तो समस्या भएपछी परिवारमा झन् चिन्ता थपियो ।  गरिवीको कारण राम्रो ठाउँमा लगेर उपचार गराउन सक्ने उहाँहरुको अवस्था थिएन ।  गाउँमा जसो तसो सामान्य उपचार गरिएछ  । तर उपचार पश्चात पनि म राम्रोसँग हिड्डुल गर्न नसक्ने नै भएछु  । यदि मेरो घरको आर्थिक अवस्था राम्रो भएको भए मेरो उपचार हुने थियो होला । मलाई त भाग्यले ठगेछ । उनी निकै भावुक बनिन् । उनको कुरा मात्र सुन्दै गयौं । हामीले केही बोलेनौ । उनको आखाँ रसाएका थिए । कुरा गर्दा गर्दै एकछिन हामीले कुरा बन्द गर्यौ । एक सुर्को चिया पियौं ।

एकजना होचापुड्का व्यक्ति एउटा घर अगाडी उभिएको तस्बिर

पवित्राले आफ्नो  विगतलाई पुनः यसरी सम्झिईन् । घरका सबै जना विद्यालय गएको देख्दा आफूलाई पनि किताब कापी च्यापेर विद्यालय जाने रहर थियो । तर आफै राम्रो सँग हिड्न नसक्ने भएपछि के गर्ने ? रहर भएर मात्र नहुदो रहेछ । पछि मैले पढ्ने धेरै रहर गरें । यो देखेर बुबाले मलाई विद्यालय लान र ल्याउन मद्दत गर्नु भयो । जसको कारण मैले १० कक्षासम्म पढ्न सकें । १० कक्षाभन्दा माथि पढाउन सक्ने मेरो परिवारको हैसियत थिएन । जसका कारण नचाहदा नचाहदै पनि पढाईलाई पूर्णविराम लगाएँ । तर पढ्न पाएको भए म कस्तो हुन्थे होला जस्तो लाग्छ । उनले निकै भावुक मुद्रामा सुनाईन् । उनको कुरा हामीले पनि मुटु दरो पारेर सुनिरहेका थियौ । घरि घरि हाम्रो मन पनि भावुक हुन्थ्यो ।

उनी थप्छिन् । हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिले के गर्न सक्छन् ? चुपचाप घरमा बस्नु पर्छ भन्ने चलन थियो ।  अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण सकारात्मक थिएन । मलाई अपाङ्गता केहो ? यो के कारणले हुन्छ ? अपाङ्गता अधिकार के के हुन् ? यस विषयमा केही जानकारी थिएन । यतिकै घरमा पल्टेर वसिरहेको थिएँ । घरमा सकेको  सहयोग गर्थे । सामान्य जीवन चलिरहेको थियो ।

घरमा वसिरहेको थिएँ। मैले अपाङ्गता अधिकारको वारेमा जिल्ला च्याप्टर इलामले राष्ट्रिय अपाङ्ग महासंघको सहयोगमा केही काम गर्न लागेको कुरा थाहा पाएँ । लगत्तै जिल्ला च्याप्टरको सम्पर्कमा पुगें । सबै कुरा बुझें । त्यस पछि हाम्रो गाउँमा स्वावलम्वन समुहको गठन भयो । म पनि समूहको सदस्य भएँ । समुहको सदस्य भएपछि ममा केही आशा जाग्यो ।

सदस्य भएपछि अपाङ्गता अधिकारको वारेमा जानकारी पाएँ । जिल्लामा गएर अपाङ्गता परिचय पत्र पनि लिएँ । हामीले पढ्नको लागि छात्रावृत्ति पनि पाउने कुरा थाहा पाएँ । बेलामा यो कुरा बुझ्न पाएको भए म पनि आज उच्च शिक्षा पढ्ने थिए होला जस्तो  लाग्यो । तर अब समय वितिसकेको थियो ।

उनी थप्छिन्, समुहले मलाई जन वकालत तथा आयआर्जन सम्बन्धी तालिम दियो । स्थानीय श्रोत परिचालन सम्बन्धी तालिम दियो । उक्त तालिममा सहभागी भएपछि मलाई पनि अब आयआर्जन गर्नुपर्छ, आफ्नो खुट्टामा उभिनुपर्छ र समाजको लागि उदाहरणीय व्यक्ति बन्नुपर्छ भन्ने लाग्यो । शुरुमा यो चिया पसल गरें ।  विस्तारै किरानाका सामान थपें । राम्रो सँग चल्न थालेपछि अहिले तरकारी पनि राखेको छु । यसबाट सबै खर्च कटाएर मासिक १३ हजार जति बचाउँछु । घर पनि राम्रो सँग चलेको छ ।

यसको अलवा गाउँ गाउँमा अपाङ्गताको अधिकारको लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छु । हिजोआज मलाई लाग्छ अपाङ्गता भएर के भो र ? समाजमा उदाहरण बन्न सके सबैले चिन्ने र सम्मान गर्ने रहेछन् । उनी थप्छिन् म धेरै खुसी छु । एक मुठी श्वास रहेसम्म अपाङ्गताको अधिकारको लागि लड्ने छु । उनीको बहादुरी देखेर हामी पनि छक्क भयौं । शुभकामना दिँदै त्यहाँबाट उठेर हामी हिड्यौं । हाम्रो देशमा कति यस्ता व्यक्तिहरु लुकेर बसेका होलान् । आफ्नो अधिकार थाहा नभएर कति जनाको भविष्य अन्योलमा होला । जिल्ला च्याप्टर र महासंघले यस्ता व्यक्तिहरुलाई सकेसम्म चाडो वाहिर निकाल्नु पर्छ जस्तो लाग्छ । धन्यवाद छ पवित्रालाई । र धन्यवाद छ सबैलाई जसले हजारौ पवित्रालाई यसरी नयाँ जीवन दिएकोमा ।