Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

उदाहरणीय बन्न सफल कला !

April 25, 2025May 7, 2025

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वस्ने २१ वर्षे बौद्धिक अपाङ्गता भएकी महिला कला (परिवर्तित नाम) यतिबेला स्ववकालतकर्तासंगै परामर्शकर्ता बन्नुभएको छ । आफ्नो पीडालाई शक्तिमा बदल्दै उहाँ वीरेन्द्रनगरका धेरै अपाङ्गता भएका व्यक्तिहरूका कुरा बुझ्नसक्ने हुनुभएको छ ।

समुदायमा रहेको अपाङ्गता भएका व्यक्तिहरूले केही गर्न सक्दैन भन्ने धारणा चिर्न अपाङ्गताभित्र पनि पछाडि परेको बौद्धिक अपाङ्गता वर्गको प्रतिनिधत्व गर्दै कला यतिबेला अपाङ्गताको क्षेत्रमा उदाहरणीय बन्नुभएको छ । उनै कलासँग हाम्रो भेट जबरजस्ती करणीमा परेपछि आफ्नो न्यायको खोजीमा संघर्ष गर्दैगर्दा भएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच पुर्‌याउने उद्देश्यसहित “हामीलाई पनि समावेश गर” परियोजना संचालन गरेको छ । परियोजनाका क्रियाकलापहरूमा सहभागी भएका न्यायको क्षेत्रमा क्रियाशील व्यक्तिहरूले कलामा अपाङ्गता भएका कारण यस्तो अवस्थामा महासंघले सहयोग गर्छ भनी पठाएको उहाँकी दिदीले जानकारी दिनुभयो । कलाकी दिदीले घटनाबारे दिनुभएको जानकारी यस्तो छ- २०७९ भदौ ३ अर्थात १९ अगष्ट २०२२ का दिन साँझ ५ बजेतिर कलालाई आफ्नै छिमेकी अन्दाजी २४ वर्षका गोरे (परिवर्तित नाम) ले घरमा कोही नभएको मौकापारी ललाई-फकाई गरेर घरभन्दा बाहिर लगी जबरजस्ती करणी गरेको कुरा परिवारका सदस्यले भोलिपल्ट बिहान ९ बजेमात्र थाहा पाए । थाहा पाएपछि परिवारले तुरुन्त जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगेर जानकारी गराए । त्यसपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलले निवेदनसहित आवश्यक प्रकियाका लागि सुर्खेत स्थित आवाज संस्थामा पठायो । त्यस संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा २०७९ भदौ ४ गते 0उजुरी (केस) दर्ता गरियो ।

उजुरी दर्ता भएकै दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले प्रतिवादी अन्दाजी २४ वर्षका गोरेलाई पक्रेर अनुसन्धान सुरु गर्‌यो । कलाकी दिदीले महासंघमा पनि गुहार माग्नुभयो । त्यस अवसरमा उहाँले भन्नुभयो- प्रहरीले पक्रेर अनुसन्धान गरिरहेकै बेला प्रतिवादीका परिवारका सदस्यहरूले हामीलाई मिल्नका लागि दबाब दिन थाले । बौद्धिक अपाङ्ता भएको यसले जे पनि बोल्छे, यसको बोलीको ठेगान हुँदैन भनेर कलामाथि नै दोष लगाए । त्यही भएर आवश्यक सहयोगका लागि अनुरोध गर्न आएका हौँ ।
घटनाका बारेमा सविस्तार थाहा पाएपछि महासंघका जनवकालत अधिकृतले महासंघसहित न्यायका क्षेत्रमा काम गर्ने संस्थाहरूसँग समन्वय गरी घटनाका बारेमा प्रहरी कार्यालयमा थप छलफल गर्नुभयो । महासंघले कलाको न्यायका लागि निरन्तररूपमा सहयोग गर्दै आएको छ ।

न्यायका लागि संघर्ष गरिरहेकी कलालाई समुदायका मानिसले साथ र सहयोग दिनुपर्नेमा उल्टो झुटो लाञ्छ्ना लगाई मानसिक तनाव दिन थाले । कलालाई यस्तो अवस्थाबाट बाहिर निकाल्न “हामीलाई पनि समावेश गर” परियोजनाले निरन्तर सहयोग गरिरहेको छ ।
कलाको पीडा कम गर्न तथा अपाङ्गता अभियानका बारेमा थप सिकाउन परियोजनाको स्थानीय वकालत समूहको सदस्यमा मनोनीत गरी उहाँको वैयक्तिक क्षमता विकाससँगै वकालतका काममा सहभागी गराउँदै स्व-वकालतकर्ताको रूपमा तयार गर्न परियोजना सफलता मिलेको छ । कलाको कामप्रतिको लगनशीलता तथा नयाँ विषय सिक्ने हुटहुटी देखेर परियोजनाले महासंघका अन्य क्रियाकलाप तथा महासंघसँग समन्वय र सहकार्यमा हुने विभिन्न संघसंस्थाका कार्यक्रमले संचालन गर्ने गतिविधिमा कलालाई समावेश गर्ने गरियो । कला अहिले आफ्ना सवालहरूबारे बुझ्न र विचार राख्न सक्ने हुनुभएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सदस्य संस्था नेत्रहीन युवा संघले सीबीएम ग्लोबलसँगको सहकार्यमा संचालन गरेको Action for Change परियोजनामा यौन तथा प्रजजन स्वास्थ्य दौँतरी शिक्षकको तालिम लिई कलाले सुर्खेत जिल्लामा दौँतरी शिक्षकको रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजजन स्वास्थ्यका बारेमा सिकाउने काम गरिरहनुभएको छ । कलाको काम दौँतरी शिक्षकको रूपमा मात्र सिमित छैन, उहाँ स्थानीय वकालत समूह तथा अन्य कार्यक्रममार्फत विभिन्न समुदायका परिवारसँग गई अपाङ्गता भएका व्यक्तिहरूलाई भेट्ने, उनीहरूसँग जन्मदर्ता, अपाङ्गता परिचयपत्र, नागरिकताको प्रमाणपत्रलगायतका अन्य विषयहरूमा जानकारी लिई सम्बन्धित निकायमा जान अनुरोध गर्नुहुन्छ । ती विषयमा प्रदेश जनवकालत अधिकृतलाई जानकारी गराएर परियोजनालाई सहयोग पनि गरिरहनु भएको छ ।

तपाईंलाई यो काम कस्तो लाग्छ भन्ने प्रश्नमा कला भन्नुहुन्छ- “यतिबेला त म रमाउन थालेकी छु । मेरो अहिलेको सक्रियताले मेरो त्यो अप्रिय विगत बिर्सन मद्दत गरेको छ । महासंघले कुनै कार्यक्रममा बोलाएन भने वा मेरो वकालत समूहका साथी कुनै कार्यक्रममा गएको फेसबुकमार्फत देख्दा म किन छुटे, किन बोलाउनुभएन होला भनेर आमा र दिदीसँग सोध्छु । लामो समयसम्म वकालत समूहका साथी र महासंघ सरहरूसँग भेट गर्न पाइन भने नरमाइलो लाग्छ ।”

महासंघले विभिन्न अवसर दिएको, वकालत तथा पैरवी गर्दा स्थानीय यातायात र खाजा खर्च दिने भएकाले परिवारले पनि सहयोग गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो- मैले दौँतरी शिक्षक भएर परिवारको सहयोग गरेँ । अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सर्भे गरेर कमाएको पैसा आमालाई दिँदा मेरो कमाइ देखेर परिवारका सदस्यहरू खुसी हुनुभयो ।
“हामीलाई पनि समावेश गर” परियोजना सकिँदै छ भन्ने सुन्दा कलाले दुःखी हुँदै भन्नुभयो- मैले के गर्ने गर्ने ? कलाको कुरालाई महासंघ कर्णाली कार्यालयले मनन गर्दै अपाङ्गता भएका महिलाहरूको राजनीतिक तथा नागरिक सशक्तीकरण परियोजनाको पैरवी समूहमा जोडिदिएको छ । यस खवरबाट भने कला खुसी हुनुहुन्छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search