Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

निर्मलाको संघर्षको कथा

April 25, 2025May 7, 2025

विगतमा गृहिणीको रूपमा सिमित कैलालीकी निर्मला विष्टले यतिबेला संस्थाको नेतृत्व गर्न गरिरहनु भएको छ । विभिन्न कार्यक्रममा सहभागी हुनथालेपछि आफूमा ज्ञानको स्तरमा निकै बढेको उहाँ बताउनुहुन्छ । कुनैबेला नयाँ मान्छेहरूसँग बोल्नसमेत डराउने निर्मला आज आफ्नो छोरा र अन्य बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार स्थापित गर्न स्थानीय सरकार तथा प्रदेश सरकारसँग पैरवी गर्ने कार्यमा निकै अगाडि हुनुहुन्छ ।

Boy standing at photo studio

आफ्नो क्षेत्रका महिलाको प्रेरणास्रोत बनेकी निर्मला हाल राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको सहसचिव जस्तो गरिमामय जिम्मेवारीसमेत उत्तिकै उत्कृष्ट ढंगले निर्वाह गरिरहनु भएको छ । एक सामान्य गृहिणीबाट महासंघको प्रदेश सहसचिवसम्मको उहाँको यात्रा साँच्चै नै संघर्षमय र प्रेरणादायी छ । उहाँको स्नेह पाएका उहाँका छोरा प्रशान्तको जीवनशैली पनि निकै फेरिएको छ ।
एक समय थियो जतिबेला प्रशान्तलाई आफ्नो शरीरमा कपडा भए/नभएको समेत थाहा हुँदैन थियो । उहाँको छेउमा कोही गयो कि कोपर्ने र चिथोर्ने गर्नुहुन्थ्यो तर आज उहाँ एक सामान्य मानिससरह जीवनयापन गरिरहनु भएको छ । आधारभूत तहको अध्ययनसमेत पूरा गरेका प्रशान्त सूचना प्रविधिको प्रयोगमा समेत आफ्ना साथीहरूभन्दा अगाडि हुनुहुन्छ । यसरी उहाँलाई सामाजिकीकरण गर्न उहाँकी आमाको योगदान अतुलनीय छ ।

धनगढी उप-महानगरपालिका- ३ निवासी निर्मला विष्टले आजभन्दा करिब १९ वर्ष अघि अर्थात २०६२ सालमा आफ्नो जेठो सुपुत्रको रूपमा प्रशान्तलाई जन्म दिनुभयो । पहिलो सन्तानको रूपमा छोरा भएपछि उहाँलाई परिवारका सबै सदस्यहरूको अत्याधिक माया प्राप्त हुनथाल्यो । त्यसले उहाँलाई हर्षित बनाउनु त स्वाभाविक नै थियो । यसरी उहाँको वैवाहिक एवं पारिवारिक जीवन निकै सुखमय ढंगले अगाडि बढिरहेको थियो ।

समय बित्दै जाँदा उहाँका छोरामा बौद्धिक अपाङ्गता भएको थाहा भएको निर्मला बताउनुहुन्छ । सुरुमा त बौद्धिक अपाङ्गताबारे जानकारी नभएकी निर्मलालाई छोराले गर्ने व्यवहारप्रति आश्चर्य लागेछ । छोरा ठूलै हुँदासम्म पनि शरीरमा कपडा भए/नभएको थाहा नपाउने, मानिसहरूलाई चिथोर्ने जस्ता गतिविधिले प्रशान्तका आमा-बुबा आजित भएका थिए ।
आफ्नो छोराको यस्तो व्यवहारबाट चिन्तित रहेका उहाँहरूले छोराको उपचारका लागि धेरै ठाउँ धाएको जानकारी निर्मलाले दिनुभयो । अन्ततः उहाँको छोरामा बौद्धिक अपाङ्गता भएको र त्यसको उपचार सम्भव नरहेको भन्ने कुरा थाहा पाएपछि यो तीतो सत्यलाई स्वीकार गर्नुको विकल्प त्यस परिवारसँग रहेन ।

छोरोलई जन्म दिँदा सबैको मायाको पात्र बनेकी निर्मला छोरामा बौद्धिक अपाङ्गता देखिएपछि भने सबैको हेयको पात्र बन्न थाल्नुभयो । समाज तथा परिवारका सदस्यहरू त छँदै थिए श्रीमानले समेत उहाँलाई कुटपिट गर्दै यातना दिनथाले । एकातिर छोराको त्यस्तो अवस्थाले चिन्तित बनेकी निर्मलालाई परिवार र समाजको व्ययहारले झन पीडा थपिदिएको उहाँ बताउनुहुन्छ ।

समय बित्दै जाँदा उहाँको भेट राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशकी प्रदेश व्यवस्थापक प्रिया खड्कासँग भयो । खड्काले निर्मलालाई महासंघका कार्यक्रममा सहभागी हुन प्रेरित गर्नुभयो । पहिलो पटक कार्यक्रममा सहभागी हुन आग्रह गर्दा लाज र डरका कारण आफू सहभागी नभई बहिनीलाई सहभागी गराएको उहाँले जानकारी दिनुभयो । बहिनीबाट कार्यक्रमको प्रभावकारिताबारे सुनेपछि त्यसपछिका कार्यक्रममा आफैँ सहभागी हुन थाल्नुभयो । त्यसपछि उहाँको जीवनमा नयाँ मोड आयो ।

पहिलो पटक कार्यक्रममा सहभागी हुँदा आफ्ना छोराहरू जस्तै थुप्रै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू देखेपछि आफूमा सकारात्मक उर्जा पैदा भएको उहाँको अनुभव छ । निरन्तर कार्यक्रमहरूमा सहभागी हुँदैजाँदा अपाङ्गतामैत्री व्यवहार र विशेष गरी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह र उनीहरूमैत्री व्यवहारबारे राम्रो ज्ञान पाएको उहाँले बताउनुभयो ।
निर्मला विष्टका अनुसार उहाँका छोरा प्रशान्तको मानसिक अवस्था अरू बच्चा जस्तो छैन । आँखा पनि अलि कम देख्नुहुन्छ, जुन अवलोकन गर्दा हामीले पनि थाहा पायौँ । आफूले छोरालाई बौद्धिक अपाङ्गता विशेष विद्यालयमा राख्न नचाहेको कारणमा निर्मलाले भन्नुभयो- त्यस्ता अपाङ्गता विशेष विद्यालयमा प्रशान्तको राम्रो हेरचाह नहुने मेरो बुझाइ छ ।

निर्मलाका दुई छोरा छन् । प्रशान्त उहाँका जेठा छोरा हुनुहुन्छ । प्रशान्तले नजिकैको श्री केदार बोर्डिङ्ग विद्यालयबाट कक्षा ८ सम्मको अध्ययन गर्नुभएको छ । तर प्रधानाध्यापकलाई कक्षा उन्नतिका लागि आग्रह गरी कक्षा ८ सम्म पुर्‌याएको भन्ने उहाँका आमा-बुवाको भनाइ छ । आफूसँगैका साथी माथिल्लो कक्षामा गएको तर आफू चाहिँ एउटै कक्षामा सीमित रहेको भनी प्रशान्तलाई हीनताबोध नहोस् भनेर यसो गरेको जानकारी आमा निर्मलाले दिनुभयो । यहाँ पनि विद्यालयले भर्ना गर्न आनाकानी गरेको थियो । शुल्क तिर्ने शर्तमा मात्र प्रशान्तको भर्ना लिइएको थियो । यद्यपि उनी भाइको विद्यालयमा भाईसँगै पढ्ने भनेर जिद्दी गर्दथे ।

परिवारबाट प्रशान्तलाई कुनै किसिमको अपहेलना छैन । परिवारका सबै सदस्य उनलाई अपाङ्गता भएको नै सोच्दैनन् । प्रशान्तमा अपाङ्गता भएको भनी समाजमा कसैलाई पनि थाहा नदिएको र परिचयपत्र पनि नबनाएको अवस्था थियो तर राष्ट्रिय अपाङ्ग माहासंघको पहलमा प्रशान्तको अपाङ्गता परिचयपत्र बनेको छ । निर्मला भन्नुहुन्छ- मेरो छोरामात्रै किन यस्तो भयोहोला, अरूको त छैन भन्ने सोच्दा धेरै नराम्रो लाग्ने गर्दथ्यो । हाल बुझ्दै जाँदा यसलाई सामान्य रूपमा लिन थालेकी छु । घरमा आफूमैत्री वातावरण पाउन थालेपछि प्रशान्तले पनि धेरै कुरा सिक्न थाल्नुभयो । नयाँ मानिसहरूसँग घुलमिल हुनथाले । यतिबेला त प्रशान्त जोकोहीसँग पनि सजिलै अन्तरक्रिया गर्न सक्ने हुनुभएको छ । तरकारी काट्ने, पिठो मुछ्ने, पानी बोक्ने, आफ्नो कोठा सफा गर्ने जस्ता घरायसी कामसमेत गर्दै आउनुभएको छ ।

प्रशान्त विष्ट यतिबेला बौद्धिक अपाङ्गता अभिभावक संघ कैलालीद्वारा गठित स्ववकालतकर्ताहरूको समूहमा समेत आबद्ध हुनुहुन्छ । पैरवीका लागि विभिन्न कार्यालयहरूको भ्रमणसमेत गर्नुहुन्छ । कार्यक्रमका क्रममा खिचिएका तस्बिर तथा भिडियोहरूको भ्लग तयार पारी युट्युबमा समेत अपलोड गर्नुहुन्छ ।

प्रशान्तको सक्रियता त्यतिमा मात्र सिमित छैन । उहाँ सीबीएम ग्लोबलसँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशमा संचालित “हामीलाई पनि समावेश गर” परियोजना अन्तर्गत गठन गरिएको प्रदेश परियोजना कार्यदलको सदस्यसमेत हुनुहुन्छ । उहाँ त्यस कार्यदलको बैठकमा निरन्तर उपस्थित भएर आफ्ना विचार व्यक्त गर्न रुचाउनुहुन्छ । त्यस्तै, कार्यदलले गर्ने नियमित वकालत तथा पैरवीका गतिविधिहरूमा समेत उहाँ संलग्न हुँदै आउनुभएको छ ।

प्रशान्तलाई यो अवस्थासम्म पुर्‌याउन उहाँकी आमा निर्मलाले निकै ठूलो संघर्ष गर्नुभएको छ । निर्मलाको संघर्षको यात्रा त्यतिमा मात्र सीमित छैन । उहाँले राष्ट्रिय अपाङ्ग महासंघसँगको समन्वयमा आफ्नो क्षेत्रमा सर्वेक्षण गरेर अन्य बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई समेत समावेश गरी बौद्धिक अपाङ्गता अभिभावक संघ कैलाली स्थापना गर्नुभएको छ । यसबाट आफ्नो छोरा जस्तै अन्य बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास र अधिकार प्राप्तिका लागि वकालत गर्न सहज भएको छ ।
यसबीच सीबीएम ग्लोबलसँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संचालन गरेको “हामीलाई पनि समावेश गर” परियोजनाबाट उहाँको संस्थाले अनुदान रकम प्राप्त गर्‌यो । परियोजनाको उद्देश्यबमोजिम प्राप्त अनुदान रकमबाट संस्थाको कार्यालय स्थापना गरी आवश्यक भौतिक सामग्रीसमेत खरिद गर्न सहज भयो । त्यस्तै, एक जना कर्मचारीसमेत राख्न पाउने भएपछि त झन कार्यालयको नियमित गतिविधि अगाडि बढ्न थाल्यो ।

बौद्धिक अपाङ्गता अभिभावक संघ कैलालीले यतिबेला बौद्धिक अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरूको क्षमता विकासका लागि निरन्तर कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । त्यसका साथै स्थानीय तहसँगको समन्वयमा समेत विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । निर्मलाको नेतृत्वमा संचालित यस संस्थाले अब प्रदेश सरकारसँग समेत समन्वय गरी कार्यक्रमहरू संचालन गर्ने लक्ष्य लिएको छ । हाल निर्मला विष्टको पहलमा सुदूरपश्चिम प्रदेशका अन्य केही जिल्लामा समेत बौद्धिक अपाङ्गता अभिभावक संघका शाखाहरू संचालनमा छन् । त्यस्तै उहाँ पनि विभिन्न कार्यक्रममा सहभागी भई बौद्धिक अपाङ्गताका सवालहरूलाई उठान गर्ने गर्नुहुन्छ । आ.व. २०८१/८२ का लागि स्थानीय तह तथा प्रदेश सरकारसमक्ष बजेट तथा कार्यक्रमका लागि प्रस्तावसमेत पेस गरेको जानकारी उहाँले दिनुभएको छ ।

यसरी कुनैबेला बौद्धिक अपाङ्गता भएको छोरालाई जन्म दिएकै कारणले समाज र परिवारसमेत बाट अपहेलना खप्नु परेकी निर्मलाको जीवनमा आज राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र “हामीलाई पनी समावेश गर” परियोजनाले गर्दा निकै परीवर्तन आएको छ । आज उहाँ आफ्नो समाजमा एक कुशल नेतृमात्र हुनभएको छैन, आफू जस्तै अन्य अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूका लागि प्रेरणाको स्रोतसमेत बन्नुभएको छ । उहाँको यो कार्यमा उहाँका श्रीमानले समेत मन खोलेर साथ दिँदै आउनुभएको छ ।
जीवन रहुञ्जेल आफूलाई यस क्षेत्रमा समर्पित गरिरहने उहाँ बताउनुहुन्छ । उहाँका छोराले पनि अहिले खुसीका साथ आफ्नो जीवन व्यतित गरिरहनु भएको छ । रचनात्मक एवं दैनिक जीवनका गतिविधिहरू गर्दै उहाँको जीवनशैली चलिरहेको छ ।

Boy seating on chair and holding mobile

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search