Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

दुई वर्षको संघर्षपछि दिनेशले जिते एकैपटक तीनवटा मुद्दा

April 27, 2025May 7, 2025

आफू अपाङ्गता भएको व्यक्ति भएकै कारण घरपरिवारबाट विभेदमा पर्दै आएका दिनेश मण्डलले जिल्ला अदालत धनुषाबाट अंशवण्डा, जालसाजी र वकस-पत्र फिर्तासम्बन्धी मुद्दा जीत्नुभएको छ । उहाँले घरपरिवारका सदस्यहरू क्रमश बुवा, दाजु र भतिजीविरूद्धको मुद्दा जीत्नु भएको हो ।

Man standing and wearing yellow shirt and blue pant

मधेश प्रदेशको धनुषा जिल्ला, औरही गाउँपालिका वडा नं. ६ का ३८ वर्षे मण्डल “ग” वर्गमा पर्ने शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँका बायाँ हात र दायाँ खुट्टामा कार्यगत सीमिततता रहेको छ ।

“हामीलाई पनि समावेश गर” परियोजना अन्तर्गत गरिएका अन्तक्रिया, छलफलका साथै सचेतनाका लागि वितरण गरिएको IEC Material र स्थानीय एफएम रेडियोहरूबाट प्रचार-प्रसार भई समुदाय तहसम्म फैलिएको अपाङ्गतासम्वन्धी सूचना तथा सन्देशहरू दिनेशले पनि थाहा पाउनुभएको रहेछ !

दिनको करिब एघार बजेको समयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको कार्यालयमा पुगेर उहाँले परिचयसहित आफ्ना कुरा यसरी राख्नुभयो- “मेरो नाम दिनेकुमार मण्डल हो, म आफैँ अपाङ्गता भएको व्यक्ति हुँ । अपाङ्गताका विषयमा केही पम्प्लेट पढ्न पाएँ, रेडियोमा पनि सुनेँ र केही व्यक्तिले पनि सुनाएको हुँदा म आफैँ अन्यायमा परेको व्यक्ति भएकाले मेरो समस्यामा पनि सहयोग मिल्ने आशा राखेर म यहाँ आएको हुँ ।”

थकित र हतास मुद्रामा रहनुभएका दिनेशलाई केही समय विश्राम गर्न दिएर आफ्ना कुरा राख्नका प्रेरित गरियो । उहाँले आफूले भोग्नुपरेका पीडा र समस्या क्रमश यसरी व्यक्त गर्नुभयो – “मैले बाल्यकालदेखि नै घरपरिवारबाट हेला, होचो र अपमानका अनगिन्ती ति विभेद सहँदै आउनुपरेको छ । घरपरिवारको विभेद र यातनाहरू सहन नसकेर ७\८ वर्षको उमेर हुँदा घर छाडेर अर्काको घरमा गोठालो बसेँ । गोठालो बसेर नै एसएलसीसम्मको पढाइ पनि पूरा गरेँ । अध्ययनको क्रमसँगै उमेर र आँट-साहस पनि वढ्दै गयो । यसर्थ अध्ययनपछि घर फर्केर छुट्टिएर भैंसीगोठमा बसें । विवाह गरेँ । वस्तुभाउ र खेतिपाति गरेर हाल आफू र आफ्नो परिवारको जीविका चलाउँदै आएको छु ।”

दिनेशकुमारले हालसम्म बुवाबाट अंश नपाएको जानकारी दिँदै पुराना कुरा यसरी सुनाउनुभयो- वुवा र दाजुसँग बेलाबेला मैले पाउने अंशका बारेमा कुरा गर्थेंं तर उहाँहरूले मेरो कुरालाई कहिल्यै वास्ता गर्नुभएन । मैले पटक-पटक अंशको कुरा गरेपछि दाजुले वुवाको नाममा रहेको संगोलको जग्गावाट भतिजी नीभालाई वकसपत्र गरेर दिइसक्नुभएकाे रहेछ !”
आफूलाई अंश नदिई छोरीलाई किन वकस-पत्र गरी जग्गा दिएको भनेर दाजुसँग कुरा राख्दा दाजु-भाउजू, भतिजी सबै मिलेर आफूलगायत आफ्ना परिवारमाथि कुटपिट भएको जस्ता शारीरिक र मानसिकरूपमा अन्याय र अत्यचार भोग्दै आएको कुरा उहाँले सुनाउनुभयो ।

दिनेशकुमारका सुनेपछि संस्थाका तर्फबाट सक्ने र हुनेसम्मको साथ दिने, सहयोग गर्ने जानकारी गराइयो । त्योभन्दा पहिला तपाईंका विषयमा हामी सँस्थागतरूपमा छलफल गरेर तपाईंसँग समन्वय गर्ने भन्ने आश्वासनसहित त्यो दिन उहाँलाई बिदा गरियो ।
दिनेशकुमारले भनेका कुराबारे वास्तविकता थाहा पाउन गाउँ-सामाज तथा दिनेशलाई चिन्ने अपाङ्गता क्षेत्रका सामाजिक व्यक्तिहरूसँग केहीलाई भेटेर र केहीलाई फोनबाट पनि सोधखोज गरियो । केही दिनसम्म निन्तर गरिएको सोधखोजपछि यथार्थमा दिनेशलाई अन्याय नै भएको रहेछ भन्ने बुझियो । साथै, दिनेशको न्यायका लागि गाउँ-समाज र स्थानीय न्यायिक समितबाट समेत पहल गरिएको भए तापनि दाइको हेपाहा प्रवृत्ति र असमझदारीका कारण सामाजिक पहलहरू असफल भएका रहेछन् भन्ने जानकारी भयो ।
दिनेशलाई यन्याय नै भइरहेको कुरा यकिन भएपछि यस विषयमा संस्थाका अध्यक्ष र कर्मचारीबीच छलफल भयो । छलफल कानुनी व्यक्तिसँग समन्वय गरी दिनेशलाई समेत उपस्थित गराएर वकिलमार्फत परामर्श लिने निष्कर्षमा टुङ्गियो ।

कानुनी सल्लाह, सुझाव र सहयोगका लागि वकिलको पहिचान गरी वकिलसहितको उपस्थितिमा समन्वयात्मक छलफलका लागि समय र स्थान तय गरी छलफल आयोजना गरियो । दिनेशसहितको उपस्थितिमा आयोजना गरिएको छलफलमा वकिलले सुझाव र न्यायका लागि गरिनु पर्ने प्रक्रियाहरूका बारेमाा जानकारी गराउनुभयो । त्यति जानकारी पाएका दिनेशले जीवनभरि अन्याय, अत्यचार र थिचोमिचो सहेर बस्न नसक्ने, जस्तासुकै समस्या र चुनौती सहेर भए पनि मुद्दाकै प्रक्रियामा जाने आत्मा निर्णय लिनुभयो ।
न्यायका लागि अदालतको प्रक्रियामा जाने दिनेशको कुरापछि बुवा रामप्रसाद मण्डललाई ‘अंश’ नदिएको, दाजु रामचन्द्रलाई संगोलको जग्गाबाट छोरी नीभाकुमारी मण्डललाई वकस-पत्र गरेकोमा ‘जालसाजी’ र भतिजी नीभाविरूद्ध ‘वकस-पत्र फिर्ता’ सम्बन्धी तीनवटा मुद्दा दर्ता गराउने मौखिक सहमति भयो । सहमतिको करिब १५ दिनपछि उनै वकिलमार्फत २०७९ मङ्सिर ४ गते जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरियो ।

दिनेशको पक्षबाट दर्ता गरिएका मुद्दामध्ये जालसाजी मुद्दाको विरूद्ध दाजुले प्रतिउत्तर खापे पनि अंशबण्डा र वकस-पत्र फिर्तासम्बन्धी मुद्दाविरूद्ध हदम्यादभित्र प्रतिउत्तर दर्ता भएनन् । यसबीचमा विपक्षीले मुद्दा फिर्ताका लागि दबाबहरू परे तर दिनेशले मुद्दा फिर्ता लिन मान्नुभएन ।

विपक्षीले प्रतिउत्तर नखापेपछि मुद्दा एक्लौटी फैसला हुने र दिनेशले जित्ने पक्का जस्तै थियो । मुद्दाको फैसला नहुँदासम्म दिनेशले कानुनी प्रक्रियाहरू पूरा गर्नु पर्ने नै थियो । दिनेशलाई २७ वटा तारिख धाउँदा लागेको श्रम, समय यातायात, चिया-नास्ता, वकिलको पारिश्रमिक, राजश्व भुक्तानीलगायत खर्च धान्नका लगि ऋण खोज्नु पर्ने स्थिति आयो ।

गाउँ समाजले परेकाबेला भावनात्मक सदासयता देखाउछन् तर गरिबी, त्यसमाथि अपाङ्गता भएका व्यक्तिलाई ऋण दिनु आर्थिक क्षतिको जोखिमको रूपमा लिन्छन् । दिनेशले पनि ऋण पाउने स्थिति थिएन । मुद्दा लड्ने क्रममा दिनेशलाई आर्थिक समस्या सिर्जना भयो । आर्थिक समस्या समाधानका लागि “हामीलाई पनि समावेश गर” परियोजनाबाट दिनेशलाई अनुदानको रूपमा आर्थिक सहायता उपलब्ध गराइयो ।

यसरी दिनेशलाई न्याय दिलाउन तथा अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच अभिवृद्धि गर्नका लागि सुरु चरणबाटै समन्वयका विविध पक्षबाट साथ, सहयोगमा समन्वयकारी भूमिका निर्वाह गरियो । दिनेशमार्फत दर्ता गरिएका मुद्दामा दुई वर्षपछि फैसला आएको छ । जिल्ला अदालतबाट २०८१ असोज ५ गते फैसलाको पूर्णपाठ आउने तय भएको छ । पूर्णपाठ आएपछि जिल्ला अदालत धनुषाबाट सुरक्षाकर्मी र अमिन खटाई कानुन तथा फैसला अनुसार दिनेशले आफ्नो हकदाबी अनुसारको अंशका साथै न्याय पाउने सुनिश्चित भएको छ ।

यो ‘सफलताको कथा’ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशमा सञ्चालित “हामीलाई पनि समावेश गर” परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच वा न्यायका लागि गरिएका पहलमध्ये एउटा घटनालाई मात्र प्रतिनिधि घटनाका रूपमा लिइएको छ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search