मिति २०७६/१२/७
हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । यो विज्ञप्ती तयार गर्दासम्म विश्वभरका १८२ देशका २७६००० भन्दा बढी मानिसहरू यसको संक्रमणमा परेका छन् भने ११००० भन्दा बढीको मृत्यू भैसकेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा क्रमश बढ्दै गएको हुनाले नेपालमा हालसम्म यसको संक्रमण खासै नदेखिएको भएतापनि कुनैपनि वेला यसको गंभिर संक्रमणमा पर्ने खतरा रहेको छ । नेपाल सरकार लगायत विभिन्न सरोकारवाला निकायहरूले यसबाट सबै जनतालाइ यसको संक्रमणबाट जोगाउनको लागि विभिन्न तयारीहरू गरिरहेको परिप्रेक्षमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा नेपाल सरकार लगायत विभिन्न सरोकारवाला निकायहरूसँग निम्न बमोजिम अनुरोध गर्दछ ।
क) कोरोना भाइरसको संक्रमण र यसबाट बच्न हरेक व्यक्तिले अपनाउनुपर्ने उपायहरूको बारेमा जतिपनि सार्वजनिक सूचनाहरू छन सबैलाइ सांकेतिक भाषा, अडियो, भिजुअल, चित्र र सरल भाषाको प्रयोग गरेर सबैको पहुँच हुनेगरि प्रवाह गर्नुपर्ने र यो यस्तो सूचना पटक पटक प्रवाह गर्नुपर्ने ।
ख) क्वारेन्टाइन जोनहरू छनौट गर्दा वा निर्माण गर्दा उक्त स्थानहरूको भौतिक अवस्था, शौचालय र त्यहाँ उपलब्ध गराइने अन्य सेवा सुविधाहरू ह्वीलचियर प्रयोगकर्ता, बैशाखी प्रयोगकर्ता, दृष्टिविहीन व्यक्ति, बौद्दिक अपाङ्गता, अटिजम, हेमोफिलिया, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त बनाइनुपर्ने वा उनीहरूको आवश्यकतालाइ ध्यान दिनु पर्ने ।
ग) आइसोलेसन वार्डहरू वा कक्षहरू निर्माण गर्दा उक्त स्थानहरूको भौतिक अवस्था, शौचालय र त्यहाँ उपलब्ध गराइने अन्य सेवा सुविधाहरू ह्वीलचियर प्रयोगकर्ता, बैशाखी प्रयोगकर्ता, दृष्टिविहीन व्यक्ति, बौद्दिक अपाङ्गता, अटिजम, हेमोफिलिया, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त बनाइनुपर्छ ।
घ) क्वारेन्टाइनमा रहेको अवस्थामा वा कोही अपाङ्गता भएको व्यक्ति संक्रमित भएको कारणले आइसोलेसनमा राख्दा यदि उसले आफ्नो शारीरिक वा मानसिक अवस्थाको कारण कुनै नियमित औषधी सेवन वा प्रयोग गरिरहेको, कुनै स्वास्थ्य सम्बन्धी उपकरण वा सामग्री प्रयोग गरिरहेको भएमा सो कुरा नियमित हुने व्यवस्था मिलाउनुपर्ने ।
ङ) अपाङ्गता भएका व्यक्तिहरूलाइ आवासीय सुविधा दिएर राखिएका स्थान विद्यालय अन्तर्गतका होष्टेलहरूमा रहेका अपाङ्गता भएका व्यक्तिहरूमा कोरोनाको संक्रमण हुन नदिन र भएमा उचित व्यवस्था गर्न विशेष सतर्कता अपनाउनुपर्ने ।
च) क्वारेन्टाइन जोन वा आइसोलेसन वार्डहरूमा प्रवाह गरिने सूचनाहरू बहिरा व्यक्ति, दृष्टिविहीन व्यक्ति, बौद्धिक अपाङ्गता भएका व्यक्ति लगायत सबैको पहुँच हुनेगरी सांकेतिक भाषा, ब्रेल, अडियो, चित्र र पढ्न वुझ्न सबैलाइ सहज हुने भाषा र विधिबाट उपलब्ध गराउने ।
छ) पूर्ण र अति अशक्त (रातो परिचयपत्र र निलो परिचयपत्र भएका) अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेषे प्राथमिकता साथ सुविधाहरू उपलब्ध गराउनुपर्ने र उनीहरूका लागि औषधी, उपचार लगायत भाइरसको संक्रमणबाट सुरक्षित रहन यस्तो अवस्थामा हुने थप खर्चको भारलाइ विचार गरि सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने ।
ज) यदि बहिरा वा सुनाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूमा संक्रमण भएर क्वारेन्टाइन र आइसोलेसन वार्डहरूमा राखेर सेवा दिनुपर्ने अवस्थामा आवश्यकता अनुसार सांकेतिक भाषा दोभाषेको व्यवस्था गर्ने ।
झ) अपाङ्गता भएका व्यक्तिहरूमा संक्रमण देखिएको कारणले आइसोलेसनमा राख्नुपर्दा उनीहरूको अवस्था अनुसार चाहिने उपयुक्त अनुकुलता, सहायक सामग्री, सहयोगी सेवा उपलब्ध गराउनुपर्ने ।
…………………..
राजु बस्नेत
महासचिव
डाउनलोड लिङ्क