नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययन
फिचर
नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययनसम्बन्धी प्रतिवेदन काठमाडौंमा यही वैशाख २४ गते एक कार्यक्रमबीच सार्वजनिक गरियो ।
देशका ५९ वटा जिल्लाका १०० वटा क्षेत्र (क्लस्टर) निर्धारण गरेर ४ हजार घरधुरीमा २ हजार अपाङ्गता भएका व्यक्ति र २ हजार अपाङ्गता नभएका व्यक्तिबीच तुलनात्मक नमूना सर्वेक्षणसहित यो अध्ययन गरिएको हो ।
नर्वेजियन अपाङ्गता भएका व्यक्तिहरूको महासङ्घ (FFO-Norway) को आर्थिक सहयोगमा यो अध्ययन गरिएको हो । नर्वेको सिन्टेफ नामक अन्तर्राष्ट्रियस्तरको अनुसन्धान संस्थाले नेपालको अध्ययन/अनुसन्धानमा संलग्न संस्था भ्याली रिसर्च ग्रुपसँग प्राविधिक साझेदारी र राष्ट्रिय अपाङ्ग महासङ्घसँग व्यवस्थापनकीय साझेदारी तथा नेपाल सरकार, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको नेतृत्वमा अन्य विभिन्न विषयगत मन्त्रालय, योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागसमेतको समन्वयमा यो काम सम्पन्न भएको हो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको आयोजनामा भएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा विभिन्न मन्त्रालय, विकास साझेदार, विश्वविद्यालय, अपाङ्गता भएका व्यक्तिहरूका सङ्घ संस्थाका प्रतिनिधका साथै सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा सिन्टेफ नर्वेका प्रोफेसर आर्ने हेनिङले प्रतिवेदनका सिफारिससम्बन्धमा जानकारी गराउनुभयो भने महासङ्घका प्रशासकीय व्यवस्थापक मनिष प्रसार्इले प्रतिवेदनको आगामी प्रयोग र उपयोगिताबारे प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा एफएफओ नर्वेका हाना विट्सनले वर्तमान प्रतिवेदनले देशभित्र अपाङ्गताका सवालमा थुप्रै काम गर्नुपर्ने स्पस्ट देखिएको र त्यस्ता काममा सघाउन नर्वे सरकार एवं नर्वेजियन अपाङ्गता भएका व्यक्तिहरूको महासङ्घसमेत तयार रहेको बताउनुभयो ।
यो अध्ययन घरधुरी सर्वेक्षणका रूपमा दुर्इ चरणको तह गत (stratified) नमूना प्रयोग गरेर गरिएको छ । यसमा निम्न प्रकृतिका प्रश्नावली प्रयोग गरिए :
- नाप जाँच/ सूचीकृत गर्ने प्रक्रियाका लागि अपाङ्गता तथ्याङ्कसम्बन्धी वासिङ्टन समूहले तयार गरेका ६ प्रश्न (Screening questionnaire),
- अपाङ्गता भएका एवं नभएका व्यक्तिहरू रहेका घरधुरीमा सोधिने प्रश्नावली (Households questionnaire),
- नाप जाँच/सूचीकृत गर्ने प्रक्रियाबाट छानिएका अपाङ्गता भएका व्यक्तिलाई सोधिएका व्यक्तिगत प्रश्नावली (Case individual),
- अपाङ्गता नभएका व्यक्तिहरूलाई सोधिएका प्रश्नावली (Control individual) ।
अध्ययनले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययन गर्न प्रयोग गरिएका प्रश्नावलीहरूले सामाजिक-आर्थिक सूचकाङ्कहरू, आर्थिक क्रियाकलापहरू, आम्दानी, स्वामित्व एवं भौतिक संरचना, प्रजनन स्वास्थ्यसँगै सामान्य स्वास्थ्य, स्वास्थ्यसम्बन्धी जानकारीमा पहुँच, सेवाहरूमा पहुँच, सूचनामा पहुँच, शिक्षा, सामाजिक सहभागिता र विभेद एवं दुर्व्यवहारबाट मुक्ति जस्ता जीवनस्तरका विभिन्न सूचकाङ्कलाई समेटेको छ ।
वर्तमान अध्ययन प्रतिवेदनले मुख्यरूपमा निम्न कुराहरूको खुलासा गरेको छः
- अन्य व्यक्तिहरूको तुलनामा अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न आधारभूत सेवा/ सुविधामा हुने पहुँच ७० देखि ९० प्रतिशतसम्म फरक परेको देखिन्छ । अर्थात्, नीतिगतरूपमा व्यवस्था भए पनि अधिकांश अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न सेवा/ सुविधामा पहुँच पुग्नसकेको छैन । व्यावसायिक पुनःस्थापना र कानुनी सल्लाह जस्ता सेवा प्राप्त गर्ने कुरामा सबैभन्दा बढी फरक देखिन्छ ।
- अपाङ्गता नभएका व्यक्तिहरूमा भन्दा अपाङ्गता भएका व्यक्तिहरूमा सामान्य स्वास्थ्य समस्या, सूचनामा कम पहुँच, बेरोजगारीको दर, निरक्षरताको दर, विद्यालय छाड्ने दर, घरमा हुने न्यूनतम सेवाहरूको कमी जस्ता कुरा बढी पाइएको छ ।
- अपाङ्गता भएका व्यक्ति रहेका परिवारमा पारिवारिक सदस्यहरूको सङ्ख्या बढी भएको पाइयो भने करिब ८ मा १ जना अपाङ्गता भएका व्यक्तिले मात्र सहयोगी सामग्री प्रयोग गरेको पाइएको छ ।
- लैङ्गिक आधारमा हेर्दा अपाङ्गता भएका पुरूषभन्दा महिला निकै कम विद्यालय जाने, कम साक्षरता दर, कामकाजी जीवनमा कम सहभागिता, सहयोगी सामग्रीमा कम पहुँच, न्यून सामाजिक सहभागिता र बढी दीर्घरोग लिएर बाँचिरहेको पाइयो भने केहीले सार्वजनिक सेवामा विभेद अनुभव गरेको पनि पाइयो ।
- अध्ययनले ग्रामीण र शहरी क्षेत्रबीचको जीवनस्तरमा स्पष्ट फरकहरू देखाएको
छ । गएको अन्तिम निर्वाचनमा भोट खसालेका मध्ये अपाङ्गता भएका र नभएका व्यक्तिबीच १२ प्रतिशतको फरक देखिन्छ । - अपाङ्गता भएका र नभएका व्यक्तिबीचको फरक देखाउने प्रमाणहरू स्थापित गर्नु मानव अधिकारको प्रवर्द्धन एवं अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्ने कार्यका लागि एउटा महत्वपूर्ण कदम हो ।
वर्तमान अध्ययनले वकालतसम्बन्धी क्रियाकलापहरू अभिवृद्धि गर्न, प्राथमिकताहरू निर्धारण गर्न, असरहरू मापन गरेर नीति निर्माण गर्न, अवस्थाको अनुगमन गर्न र अपाङ्गता भएका व्यक्तिहरू एवं सर्वसाधारणमा ज्ञान अभिवृद्धि गर्ने जस्ता अवसरहरू प्रदान गर्न सिफारिस गरेको छ ।
(अध्ययनको विस्तृत प्रतिवेदन http://nfdn.org.np/living-condition-survey-pwd-2016 मा उपलब्ध छ ।)