प्रेस विज्ञप्ती: उच्च जोखिममा रहेका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखि खोज उद्धार र पुर्नस्थापना कार्यका लागी अपिल
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण देशका पूर्वी तथा पश्चिमी तराइ एवम् पहाडका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानका कारण थुप्रै जन-धनको क्षति भइसकेको छ । यो विज्ञप्ति तयार हुँदै गर्दा विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए बमोजिम देश भर कम्तीमा ४९ जनाको मृत्यु भइसकेको छ भने, कैयौँ बाढी तथा पहिरोमा परी हराइरहेका र हजारौं घरबार विहीन भएका छन् । परिस्थिति यसरी भयावह बनिरहेको छकि उद्धार र खोजी कार्य समेत प्रभावकारी ढङ्गबाट अघि बढ्न सकिरहेको छैन ।
सदैव प्रकोपको उच्च जोखिममा रहने अपाङ्गता भएका व्यक्तिहरू, जेष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाहरू अहिलेको परिस्थितिमा समेत अन्य नागरिकहरू भन्दा बढि जोखिममा छन् । प्रकोप प्रभावित विभिन्न स्थानमा सम्पर्क गर्न प्रयास गरिएको भए पनि खाँसै सम्भव हुन सकेको छैन । तथापि केही ठाउँबाट प्राप्त जानकारी अनुसार यस किसिमका मानिसहरूले थप पिडा झेल्नु पर्ने परिस्थितिको सिर्जना भइरहेको छ । पर्याप्त पुर्व तयारी नभएका कारण उद्धार तथा खोजी कार्यमा समस्या भइरहेको छ भने राहत वितरण एवम् पुनर्स्थापना कार्यमा उनीहरूलाई समेटेर अघि बढ्ने काम थप चुनौती पुर्ण बनिरहेको छ । त्यसमा पनि पुर्ण असक्त र अति असक्त अपाङ्गता भएका व्यक्तिहरूको अवस्था निकै दयनीय बनिरहेको छ । यसरी उच्च जोखिममा रहेका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखि खोज उद्धार र पुर्नस्थापना कार्यमा मद्दत पुर्याउने खालका कार्यक्रमहरू यथासिघ्र सञ्चालन गर्न नेपाल सरकार लगायत यस कार्यमा निरन्तर लागी रहेका सबै निकाय, संघ-संस्था तथा सरोकारवालाहरुमा राष्ट्रिय अपाङ्ग महासँघ नेपाल हार्दिक अपिल गर्दछ ।
………………….
राजु बस्नेत
केन्द्रीय महासचिव