अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस, डिसेम्वर ३ – एक परिचय
सामग्री सङ्कलन तथा प्रस्तुति : राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, समावेशीकरण, शसक्तिकरण र अपाङ्गताका विविध सवालहरूमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय दिवस सन १९९२ वाट मनाउन थालिएको हो । यो दिवस हरेक वर्ष विभिन्न अन्तराष्ट्रिय नाराहरूका साथ डिसेम्वर ३ मा मनाउने गरिन्छ । यस वर्षको अपाङ्गता दिवस २४ औँ हो र यस पटकको अन्तराष्ट्रिय नारा अङ्ग्रेजीमा “Inclusion Matters : access and empowerment for the people of all abilities.” भन्ने रहेको छ ।
“Full Participation and Equality” अर्थात “पूर्ण सहभागिता र समता” भन्ने मुल नाराका साथ संयुक्त राष्ट्रसंघले वर्ष १९८१ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा घोषणा गर्यो र अपाङ्गता भएका व्यक्तिहरूको लागि अवसर समानीकरण (opportunity equalization), पुनर्स्थापना र अपाङ्गताको रोकथाममा जोड दिँदै अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्योजना निर्माण गर्न आह्वान गरियो । यसै वर्ष अपाङ्गता सम्बन्धी विश्व कार्ययोजना (World Program of Action Concerning Disabled Persons) निर्माण गरियो र सन १९८२ डिसेम्वरमा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट पारित गरियो (यस कार्ययोजनाको वारेमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीको प्रस्तावनामा पनि उल्लेख गरिएको छ ।)। उक्त कार्ययोजना सन १९८३ बाट लागू गरियो र १९८३ देखि १९९२ को कार्यान्वयन अवधिलाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दशकको रूपमा घोषणा गरियो । सन १९९२ को अक्टुवरमा अपाङ्गता सम्बन्धी विश्व कार्ययोजनाको कार्यान्वयनको एक दशक पुरा भएको अवसरमा कार्यान्वयनको प्रगति समिक्षा गर्दै साधारण सभाले प्रत्येक वर्ष डिसेम्वर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गर्यो । सुरूमा यस दिवसको नाम अंग्रेजीमा “International Day of Disabled Persons” भनेर राखियो भने अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी पारित गरिसकेपछि सन २००७ मा यस दिवसको नाम पनि परिवर्तन गरि “International Day of Persons with Disabilities” राखियो र नयाँ परिवर्तन गरिएको नाम पहिलोपटक सन २००८ को दिवस मनाउँदा प्रयोग गरियो ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसलाई मुख्य गरेर विश्वभरी अपाङ्गता अधिकार प्रवर्द्धनमा योगदान पुगोस भनि समाजमा जनचेतना जगाउन, विगत वर्षमा गरिएका प्रगतिहरूको समिक्षा गर्न, नयाँ वर्षका लागि नयाँ अठोट र प्रतिवद्धताहरू गर्नको लागि मनाउने गरिन्छ । अपाङ्गता प्रति समाजमा विद्यमान नकारात्मक धारणाहरूमा न्यूनिकरण गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति समाज र सरोकारवालाहरूको व्यवहारमा परिवर्तन गराउन पनि यो दिवसले निकै राम्रो भूमिका खेल्दै आएको छ । यो दिवसमा गरिने कृयाकलापहरूलाई सञ्चार माध्यमदेखि लिएर सबै सरोकारवाला निकायहरूले कुनै न कुनै रूपमा महत्व दिने हुनाले जनचेतना अभिवृद्धिमा यसको महत्व धेरै रहेको छ ।
सन २०१५ को लागि तय गरिएको मुख्य नारालाई नेपालीमा “अर्थपूर्ण समावेशीकरण: सबै क्षमताका व्यक्तिहरूको लागि पहुँच र शसक्तिकरण ।” भनि भावानुवाद गरिएको छ । विश्वमा ठूलो सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरू मानवअधिकारको समान उपयोग, सेवा सुविधा र अवसरमा समान पहुँच र निर्णय प्रकृयाहरूमा समान प्रतिनिधित्वबाट बञ्चित हुनु परेको अवस्था छ । विभिन्न अवरोधहरुको कारण उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक संरचना, सञ्चार, यातायात जस्ता आधारभूत सेवा र अवसरहरूलाई अन्य सरह उपयोग गर्न पाएका छैनन । उनीहरूसँग पर्याप्त क्षमता हुँदाहुँदै पनि विभिन्न अवरोधऽ विभेद र नकारात्मक सामाजिक सोचका कारण आफ्नो पूर्ण क्षमताका साथ समाजमा योगदान गर्न पाएका छैनन । त्यसैले हरेक व्यक्तिमा रहेको शारीरिक वा मानसिक अवस्थालाई होइन उसको क्षमतालाई हेरिनुपर्छ र समाज र जीवनका हरेक पक्षमा समान पहुँच सुनिश्चित हुनुपर्छ र यसको लागि हरेक व्यक्तिको शसक्तिकरण गरिनुपर्छ । सबै मानिसमा क्षमताहरू हुन्छन र समाज र यसको विकासमा सबै क्षमताका मानिसहरूको सशक्तिकरण र पहुँचले मात्र साँचो अर्थमा समावेशीकरणको उद्देश्य पुरा गर्न सकिन्छ भन्ने सन्देश र अभिप्रायका साथ यस वर्षको अन्तर्राष्ट्रिय नारा तय गरिएको हो । यस मूल नारासँगै अन्य तीनवटा सहायक नाराहरू छन्, जो यस प्रकार छन् ।
क) शहरहरूलाई सबैकालागि पहुँचयुक्त बनाऔँ
ख) अपाङ्गता सम्बन्धी तथ्याङक र सूचनाहरूमा विकास गरौँ
ग) वाहिर नदेखिने किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई समाज र विकासमा संलग्न गराउँ ।
सन्दर्भ सामग्री
१. http://www.un.org/disabilities/default.asp?id=1637
२. https://en.wikipedia.org/wiki/United_Nations%27_International_Day_of_Persons_with_Disabilities
३. http://www.timeanddate.com/holidays/un/international-day-persons-disabilities