आत्मविश्‍वास भए जीवन चल्छ

लेख
दामोदर रिजाल
Damodar Rijal

विक्रम संवत २०३७ सालमा उर्लाबारी गाविस (हाल नगरपालिका) वडा नं. ६ मा जन्मिएकी सावित्रा अविवाहित होचापुड्का महिला हुनुहुन्छ । हात खुट्टासमेत केही लुलो भएकाले उहाँ सहजरूपमा हिडडुल पनि गर्न सक्नुहुन्न । सामान्यरूपमा मात्र हिड्नुहुन्छ । जान आउन कठिनाइ भएकै कारण उहाँले कक्षा ५ बाटै विद्यालय जान बन्द गर्नुभयो ।

दस वर्ष अगडि उहाँले घरकै आँगनमा एउटा घुम्तीमा किराना पसल सुरु गर्नुभयो । सुरु सुरुमा खासै नचले पनि उहाँले पसललाई निरन्तरता दिइनै रहनुभयो । हाल उहाँको किराना पसल राम्ररी नै चलेको छ । आठ हजार रुपियाँको लगानीमा सुरु गरेको उहाँको पसलमा राष्ट्रिय अपाङ्‍ग महासङ्घबाट सहायतास्वरूप प्राप्त १५ हजार रुपियाँका सामान पनि थपिएको छ । त्यो रकमले उहाँले पसलमा तेल, नुन, चिजबल, चाउचाउ, कुर्मुरे, अगरबत्ती, बिस्कुट, मञ्जन, ब्रस, मसला, पाउरोटी, चकलेटलगायतका सामग्री थप्नुभएको छ । यतिबेला उहाँको पसलबाट दैनिक ५०० रुपियाँसम्मका सामान बिक्री हुनेगरेको छ । यसबाट उहाँको पाँच जनाको परिवारको दैनिकी चलाउन ठूलो सहायता मिलेको छ । उहाँको परिवारको आम्दानीको अरू कुनै माध्यम छैन । आफ्नो खेती छैन । केही बाख्रा पालेको जानकारी उहाँका वुवाले दिनुभयो ।

आज यो किराना पसल उहाँको जीवन धान्ने आधार बनेको छ । उहाँ यसैलाई निरन्तरता दिइरहने सोचमा पाइनुहुन्छ भने बढ्दो प्रतिस्पर्धाले गर्दा भने उहाँलाई डर पनि लागिरहेको छ । अहिले आएर आफूलाई सिलाइ कटाइको सीप सिक्ने रहर लागेको तर अवसर नपाएको उहाँले बताउनुभयो । उहाँको शारीरिक अवस्थालाई अवलोकन गर्दा किराना पसल नै उहाँका लागि उत्तम विकल्प भएको सल्लाह दिने गरिएको पाइन्छ । हात तथा खुट्टामा पनि समस्या देखिएकाले अन्य पेशा उहाँका लागि त्यति सान्दर्भिक नहुने देखिन्छ ।

सामाजिक हिसाबमा अपाङ्‍गता भएका व्यक्तिहरूलाई हाम्रो समाजले त्यति राम्रो स्थान नदिइरहेको परिप्रेक्ष्यमा उहाँले पनि सानो उमेरमा निकै नै विभेद तथा अपशब्दहरूको प्रहार खेप्नुपरेको रहेछ । परिवारबाट चाहिँ कहिल्यै त्यस्तो नभएको उहाँ बताउनुहुन्छ । पारिवारिक रूपमा राम्रो साथ पाएकी सावित्रालाई किराना पसल सञ्‍चालन गरेर गुजारा चलाउने प्रेरणा पनि आफ्नै घर परिवारबाट प्राप्त भएको हो । आफ्नो शारीरिक अवस्थाकै कारण औपचारिक शिक्षा हासिल गर्नबाट वञ्‍चित भएकोमा भने चिन्तित र दुःखी उहाँ अन्य क्षेत्रमा भने आफू सन्तुष्ट नै रहेको बताउनुहुन्छ ।

एउटा अपाङ्‍गता भएको व्यक्तिलाई अवसर र हौसला प्रदान गर्न सकिए त्यस्ता व्यक्ति आत्मनिर्भर र राज्यको एक उत्पादनशील नागरिक बन्न सक्षम हुन्छन् भन्ने उदाहरण बन्नुभएको छ सावित्रा । विविध कारणले शिक्षाको अवसर प्राप्त गर्नबाट वञ्‍चित अपाङ्‍गता भएका व्यक्तिहरूले सावित्राले जस्तै आफूलाई मनपर्ने कुनै न कुनै पेशा अँगाल्नु जरुरी छ । त्यसो गरे कसैले पनि सामाजिक र पारिवारिक बोझको रूपमा चिनिनुपर्ने छैन ।