भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूका लागि राष्ट्रिय अपाङ्ग महासंघको पहल
सम्पादकीय टोली
भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाका बारेमा निरन्तर सूचनाहरू सङ्कलन गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो स्रोत-साधन, संरचना, मानवशक्ति, सञ्जाल सबैको सकेसम्म उपयोग गरी विपद्का कारणले समस्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सकेसम्म उद्धार तथा राहतमा पहुँच पुर्याउने काममा आफूलाई संलग्न गरायो । त्यस क्रममा गरिएका केही काम यस्ता रहे-
१. सूचना तथा तथ्याङ्क सङ्कलन
भूकम्प गएको २ दिनपछि बाटै राष्ट्रिय अपाङ्ग महासंघले अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाका बारेमा जानकारी लिन औपचारिक सुरूवात गर्यो । शक्तिशाली पराकम्पनहरू निरन्तर गइरहेको अवस्थामा कार्यालय खोलेर र कार्यालयमा बसेर काम गर्नसक्ने वातावरण नभएको हुनाले टेलिफोन सम्पर्ककै भरमा केही सहज, सुरक्षित महशुस हुने खुला स्थानमा भेटेर कामहरू सुरु गरियो । तत्कालीन अवस्थामा सबैजना आपसमा भेटेर कुरा गर्न सक्ने परिस्थितिसमेत नभएको हुनाले जति जना भेट्न सकिन्छ, भेटेर आफ्नो विवेक र अनुभव उपयोग गरेर काम अगाडि बढाइयो । तत्कालका लागि सूचना सङ्कलन गर्न एउटा सामान्य ढाँचा निर्माण गरियो । त्यो ढाँचा अनुसार इमेल र फोनमार्फत सूचनाहरू लिने काम सुरू गरियो ।
सूचना सङ्कलनलाई अझ प्रभावकारी बनाउन महासंघको फेसबुक आइडी र वेवसाइटवाट सूचना जारी गरेर कसैलाई भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूका बारेमा केही जानकारी भएमा उपलब्ध गराउन वा फेसबुकको वालमा लेख्न अनुरोध गरियो ।
चौथो दिनपछि महासंघको वेवसाइट खोलेर अनलाइन सूचना उपलब्ध गराउन सकिने व्यवस्थासमेत गरियो । तथ्याङ्क सङ्कलनसम्बन्धी कामलाई अझ प्रभावकारी बनाउन वैशाख १५ गते काठमाडौंमा उपलब्ध र सम्पर्क हुनसकेका कार्य समिति सदस्य महासंघका कर्मचारी, नेपाल अपाङ्ग महिला संघ, अपाङ्ग मानव अधिकार केन्द्र, इन्डिपेन्डेन्ट लिभिङ सेन्टर, आर.सी.आर.डी. नेपाल, नेपाल नेत्रहीन संघ, राष्ट्रिय शारीरिक अपाङ्ग संघ र अन्तर्राष्ट्रिय गैर सरकारी निकायका प्रतिनिधिहरूसमेत सँग भृकुटीमण्डपको खुल्ला चौरमा छलफल गरी तथ्याङ्क सङ्कलनको एउटै फारममा सहमति गरियो । सबैले त्यो फारम उपयोग गरेर सकेसम्म तथ्याङ्क र सूचनाहरू सङ्कलन गर्न सहयोग गर्ने सहमति भयो । सङ्कलित तथ्याङ्कहरूलाई तत्कालीत अवस्थामा प्रशासकीय व्यवस्थापकको इमेलमा संकलन गरी सामान्य फर्म्याट बनाएर एक्सल सिटमा इन्ट्री गराउने व्यवस्था गरियो । तथ्याङ्क सङ्कलनका लागि सदस्य संस्था, महासंघका संरचनाहरू, समितिहरू, वर्गीय संस्थाहरूलगायत अपाङ्गता अधिकारका लागि काम गरिरहेका अन्य संस्था र अधिकारकर्मीहरूलाई सकेसम्म परिचालन गर्ने सहमति गरियो । सूचना र विवरणहरू सङ्कलन गर्ने काममा आवश्यक समन्वय र व्यवस्थापन गर्न महासचिव टीका दाहाल र प्रशासकीय व्यवस्थापक मनिष प्रसाईंलाई जिम्मेवारी तोकियो ।
सहमति अनुसार विवरण सङ्कलन गर्ने काम हालसम्म पनि चलिरहेको छ । प्राप्त विवरणका आधारमा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई सकेको राहत उपलब्ध गराउन र विभिन्न क्षेत्रबाट भइरहेका राहत वितरणमा पहुँच पुर्याउन सजिलो भएको छ । अझ सीबीएम र युनिसेफसँग तत्काल अगाडि बढेको साझेदारी अन्तर्गत १४ जिल्लाका तथ्याङ्क र सूचनाहरू अझ विस्तृतरूपमा आउन सक्ने विश्वास गरिएको छ ।
२. पैरवी तथा लविङ
भूकम्प गइसकेपछि तत्काल हुने खोजी, उद्धार र राहतका कार्यक्रमहरूमा विभिन्न कारणले अपाङ्गता भएका व्यक्तिहरू विभेदमा पर्ने वा बिर्सिइने वा कसैको ध्यानमा नपुग्ने सम्भावना प्रशस्त थियो । त्यसैले भूकम्प गएको पर्सिपल्ट अर्थात वैशाख १४ गते महासंघका तर्फबाट प्रेस विज्ञप्ति जारी गरेर रेडियो नेपाललगायत विभिन्न सञ्चार माध्यममार्फत प्रसार गरियो । प्रेस विज्ञप्तिमा खोजी, उद्धार र राहतका कामहरूमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, बिरामीहरूलाई प्राथमिकतामा राखेर काम गर्न नेपाल सरकार तथा संलग्न सबैमा अनुरोध गरियो । सोही प्रेस विज्ञप्तिमार्फत भूकम्पका कारण ज्यान गुमाउन पुगेका व्यक्तिहरूको आत्माको चीर शान्तिको कामना गर्नुका साथै परिवारजनमा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरियो ।
वैशाख १५ गते भृकुटीमण्डपमा बैठक बसिरहेको अवस्थमा पनि ठूला ठूला पराकम्पन आइरहेको अवस्थामा सहमति भएको हो । त्यस्तो समयमा सबै कर्मचारी तथा पदाधिकारी कार्यालयभित्र बसेर काम गर्न सक्ने मानसिकतामा थिएनन् । त्यसैले खुला ठाउँमा बसेर वा आफू जहाँ, जसरी सुरक्षित बसिरहेको छ, त्यही स्थानबाट कामहरू गर्ने र ठूला पराकम्पनहरू आउञ्जेलसम्म कार्यालय नखोल्ने निर्णय गरियो । अध्यक्षलगायत सचिवालय सदस्य र काठमाडौंमा उपलब्ध तथा काम गर्न सक्ने परिस्थितिमा रहेका केन्द्रीय सदस्य विभिन्न निकायसँग पैरवी र लविङ बैठकहरूमा सहभागी हुने सहमति गरियो ।
वैशाख १२ गते भूकम्प गएपछि निरन्तर ठूला ठूला पराकम्पन आइरहेको हुनाले तत्काल राष्ट्रिय अपाङ्ग महासंघको संयन्त्रले कार्यालय खोलेर काम गर्न सक्ने अवस्था थिएन । तैपनि, तत्काल एक-अर्कामा सम्पर्कमा आउन सकेका कर्मचारी तथा पदाधिकारीले आ-आफ्नो ठाउँबाट काम शुरू गरे । सर्वप्रथम महासंघ परिवारभित्रका सदस्यहरूको जानकारी हासिल गर्ने प्रयास गरियो भने त्यसपछि निरन्तररूपमा प्रभावित जिल्लाहरूमा सम्पर्क गरेर अपाङ्गता भएका व्यक्तिहरूले के कस्तो क्षति बेहोर्नुपर्यो भन्नेबारेमा थाहा पाउने प्रयासहरू गरियो । यसका लागि टेलीफोन, इमेल, फेसबुक र वेवसाइटलाई माध्यम बनाउने प्रयास गरियो ।
वैशाख १६ गते महासंघका अध्यक्षद्वारा सार्वजनिकरूपमा राहत र उद्धारमा संलग्न सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, राष्ट्रसंघीय निकायलगायतलाई सीआरपीडीको धारा ११ को प्रावधानसमेत पुनःस्मरण गराउँदै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका कामहरू गर्दा अपाङ्गता भएका व्यक्तिहरूलगायत अन्य जोखिममा रहेका समूहलाई विशेष प्राथमिकतामा राखी काम गर्न अपिल जारी गरियो । यस अपिललाई इमेलमार्फत सबैतिर पठाइयो भने जानकारीका लागि महासंघको आधिकारिक वेवसाइटमा समेत राखियो । यसैगरी महासंघका अध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारीबाट विपद् व्यवस्थापनमा काम गर्ने सरोकारवालाहरूसँग समन्वय गर्ने र भेटघाटलाई तिब्रता दिइयो ।
वैशाख १८ गते महासंघका अध्यक्ष सुदर्शन सुवेदीको नेतृत्वको टोलीले गृहमन्त्री बामदेव गौतमसँग भेटेर राहत र उद्धारका कामहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्न अनुरोध गर्दै महासंघका तर्फबाट ज्ञापनपत्र बुझायो । सोही दिन बिहान ११ बजे काठमाडौँमा रहेर अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि काम गरिरहेका राष्ट्रियस्तरका संस्थाहरू, अपाङ्गता क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिसँग भृकुटीमण्डपको खुला चौरमा बैठक गरियो । त्यो बैठकले निम्न अनुसारका निर्णय गर्यो ।
- महासंघले विपद्बाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई राहत तथा पुनःस्थापना सेवामा पहुँच पुर्याउन आवश्यक कामहरू गर्न केन्द्रमा एउटा कार्यदल र डेस्क स्थापना गर्ने,
- विभिन्न जिल्लामा रहेका सदस्य संस्था, क्षेत्रीय कार्यालय र जिल्ला च्याप्टरहरूमार्फत विभिन्न जिल्लाबाट भूकम्प प्रभावित र ज्यान गुमाउन पुगेका अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्ने,
- हाल राज्यमार्फत र अन्य विभिन्न सरोकारवालामार्फत भइरहेका खोजी, उद्धार तथा राहतका सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्न सबै सरोकारवाला निकायसँग पैरवी, लविङ एवं बैठक गर्ने, ज्ञापनपत्रहरू दिने र सञ्चार माध्यमबाट यो सवाललाई उठाउने,
- महासंघले सबै सरोकारवाला र सदस्य संस्थाहरूसँग समन्वय गरी राहत सङ्कलनका लागि काम अगाडि बढाउने र हाल असाध्यै अप्ठ्यारो अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई तत्काल उपयुक्त सेल्टरको व्यवस्था गर्न र त्यहाँ सार्न पहल गर्ने ।
बैठकपछि विज्ञप्ति जारी गरी भएका सहमति वेवसाइटमा राखियो र फेसबुकमार्फत पनि जानकारी गराइयो । १८ गतेसम्म प्राप्त सूचनाका आधारमा विभिन्न जिल्लामा भूकम्पका कारण ज्यान गएका र भौतिक क्षति बेहोरेका अपाङ्गता भएका व्यक्तिहरूको सूचनासहितको एउटा प्रतिवेदन फेसबुक र वेवसाइटबाट सार्वजनिक गरियो ।
त्यस अवधिसम्म प्राप्त जानकारीका आधारमा त्यसै दिन बेलुका भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूका बारेमा प्रारम्भिक स्ट्याटस तयार गरी फेसबुक र वेवसाइटमा राख्ने काम गरियो । थप सूचना दिनका लागि पुनः सबैलाई अनुरोध गरियो ।
यस अवधिमा नेपाल सरकार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, गृह मन्त्रालय, योजना आयोग, प्रधानमन्त्री कार्यालय, स्थानीय विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग विपद्को अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत तथा उद्धारका कामहरूमा प्राथमिकतामा राख्न आह्वान गर्नका लागि पटक पटक बैठक र भेटघाट गरियो ।
यसैगरी विपद्पछि स्वतः सक्रिय भएका विभिन्न राष्ट्रसंघीय क्लष्टरहरूमा अपाङ्गताको सवाललाई समेट्नका लागि UNOCHA, Unicef र WHO सँग बैठकहरू आयोजना गरियो । यसको फलस्वरूप UNOCHA सँग सिधै सम्बन्ध रहनेगरी एउटा छुट्टै Inclusion Cluster निर्माण गरी त्यस अन्तर्गत अपाङ्गतालाई समेट्ने र Protection Cluster अन्तर्गत पनि समेट्ने निर्णय भयो । यसबाहेक महासंघले हरेक क्लष्टरमा अपाङ्गताको सवालमा पैरबी गर्नसक्ने प्रतिनिधि पठाउनसमेत महासंघले आवश्यक प्रक्रिया थलिसकेको छ ।
प्रभावित जिल्लामा सक्रिय रहेका सदस्य संस्थाका प्रतिनिधि वा सक्रिय अपाङ्गता अधिकारकर्मीहरूलाई बैठकबाट भएका उपलब्धिहरूका बारेमा जानकारी गराइयो भने राहतका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिदेखि वडा नागरिक मञ्चसम्म आवश्यक सम्पर्क राख्न अनुरोध गरी सूचनाहरू सम्प्रेषण गरियो ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि काम गरिरहेका अन्तर्राष्ट्रिय गैर सरकारी निकायहरूसँगको बैठकलाई निरन्तरता दिइयो । एक-अर्कासँग समन्वय र सहकार्य गरी अपाङ्गता भएका व्यक्तिहरूलाई राहतमा पहुँच पुर्याउन र राहत उपलब्ध गराउन काम गर्ने सहमति भयो । यसैबीच डीपीओडी र एफएफओ नर्वेसँग सञ्चार गरी दुवै संस्थासँगको साझेदारीमा सञ्चालनमा रहेका परियोजनाको प्रशासनिक खर्चबाट कट्टी हुनेगरी केही रकम खर्च गर्न अनुमतिसमेत लिइयो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई राहत वितरणमा कसरी प्राथमिकतामा राख्ने भन्ने बारेमा १५ बुँदे जरूरी अपील अंग्रेजी र नेपाली भाषामा निर्माण गरी इमेलमार्फत प्रवाह गरियो र सबैलाई सहज हुनेगरी वेवसाइटमा पनि राखियो । महासंघको वेवसाइट र फेसबुकलाई सूचनाहरू लिनका लागि धेरै सरोकारवालाले उपयोग गरेको समेत हामीलाई जानकारी प्राप्त भएको छ । वेवसाइटमा राखिएका अत्यावश्यक सूचनाहरूलाई UN र USAID ले समेत आफ्ना वेवसाइटमा लिङ्क राखी जानकारी फैलाउन सहयोग गरेका छन् ।
३. राहत वितरणमा महासंघको संलग्नता
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले एकातिर भैरहेका राहत वितरण र सहयोग कार्यक्रमहरूमा भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुर्याउन आवश्यक समन्वय र पैरवीहरू गरिरहेको छ भने अर्को तिर प्रभावित क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न निकायसँग समन्वय गरि राहत नपुगेका स्थानहरूमा राहत सामग्री पनि उपलब्ध गराइरहेको छ ।
यसै क्रममा महासंघले विभिन्न प्रभावित जिल्लामा जिल्ला स्थित सदस्य संस्थाका प्रतिनिधिहरूसँग सूचना माग गरि माग भएका राहत सामग्रीहरू विभिन्न निकाय, व्यक्ति र सरकारी निकायबाट सङ्कलन गरि त्रीपाल, चामल लगायतका खाद्यान्न सामग्री, सहायक सामग्री, सेनिटरी किटहरू उपलब्ध गराई सकेको छ ।
यस अवधिमा नुवाकोट, धादिङ, गोरखा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, दोलखा जिल्लाका विभिन्न गाउँविकास समितिहरूमा ६०० थान त्रीपाल, १०० थान सहायक सामग्री ४० क्वीन्टल भन्दा बढी चामल, २५० प्याक अन्य हल्का खानाको प्याकहरू, २५० थान स्यानिटरी किटहरू, ६५ थान म्याट्रेस र तकियाहरू, १०० थान जति कम्बल वितरण गरिसकिएको छ । यसरि वितरण गरिएको राहत सामग्रीहरूबाट प्रत्यक्ष रूपमा लगभग १००० जना अपाङ्गता भएका व्यक्ति र अरू थप तिनका परिवारका सदस्यहरू लाभान्वित भएका छन् ।
यसैगरी काठमाडौंको शहरी क्षेत्रभित्र भूकम्पबाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूका लागि इन्डिपेन्डेन्ट लिभिङ सेन्टरसँग समन्वय गरी जाउलाखेलमा अस्थायी सेल्टर स्थापनाका लागि सहयोग, नेपाल अपाङ्ग महिला संघसँग मिलेर भृकुटीमण्डपमा सेल्टर राख्न, जोरपाटी पुनःस्थापना केन्द्रको प्राङ्गणमा सेल्टर लिइरहेका १५० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूका लागि वाटर एडसँग समन्वय गरी मैत्रीपूर्ण अस्थायी शौचालय निर्माणका लागि आवश्यक सहयोग गरिएको छ ।
ललितपुर जिल्लाको गोटीखेल गाउँ विकास समितिमा अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका लागि ८ वटा अस्थायी घर (टनेल हाउस) बनाउन आवश्यक समन्वय गरियो ।
४. भूकम्प प्रभावित व्यक्तिहरूलाई सेवा पुर्याउन साझेदारी
भूकम्पले अत्यधिक प्रभावित १६ जिल्लामा सघनरूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्न आकस्मिक प्रतिकार्य (Disaster Response) सम्बन्धी कार्यक्रमहरूमा हालसम्म CBM र Unicef सँग साझेदारी अगाडि बढिसकेको छ । सी.बी.एम.सँगको साझेदारीमा काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुपाल्चोकमा मे महिनाको दोस्रो हप्ताबाट काम सुरू भइसकेको छ भने युनिसेफसँगको साझेदारीमा बाँकी १३ वटा जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, गोरखा, दोलखा, रसुवा, लमजुङ, रामेछाप, ओखलढुंगा, सोलुखुम्बू, सिन्धुली) मा काम गर्नेगरी युनिसेफसँग जुन महिनाबाट सुरू हुनेगरी साझेदारी सम्पन्न भइसकेको छ । यस साझेदारी अन्तर्गत मुख्यरूपमा भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरू पहिचान गर्ने, उनीहरूको अवस्थाका बारेमा सूचना लिने, आवश्यकता पहिचान गर्ने र स्थानीयस्तरमा तत्काल उपलब्ध हुन सक्ने सेवा-सुविधामा पहुँच पुर्याउने र विशेष सेवा सुविधाका लागि सम्बन्धित निकायहरूमा प्रेषण गर्ने कामहरू गरिनेछ ।
यसैगरि एफ.एफ.ओ. नर्वेसँग पनि प्रभावित अपाङ्गता भएका व्यक्तिहरूका लागि अस्थायी घर र टहरा निर्माणमा सहयोग गर्ने सवालमा साझेदारीको प्रयास भइरहेको छ ।