नेपालमा होचा पुड्काहरूको अवस्था

सुन्दरी मिश्र

नेपालमा सामान्य मानिसहरूको भन्दा कम उचाइ भएका वा शरीरका अङ्गहरू पूर्णरूपमा विकास नभई बालबालिकाहरूको जस्तो कोमल र अपरिपक्‍व शारीरिक बनावट भएकाहरूलाई होचा पुड्का मानिस भनेर चिन्ने गरिन्छ । नेपाल होचा पुड्का संघको विधानमा र नेपाल सरकारको नियममा पनि यसरी नै परिभाषा गरिएको छ । नेपाल सरकारले ४ फुट वा ४७ इन्च उचाइसम्मका व्यक्तिलाई होचा पुड्का व्यक्तिको परिभाषामा राखेको छ । नेपाल होचा पुड्का संघले भने धार्मिक मान्यता अनुसार ५२ इन्चसम्मलाई मानव अवतारको रूपमा लिएको छ ।

नेपालमा होचा पुड्का व्यक्तिहरूले अनेक किसिमका समस्या भोग्दै आउनुपरिरहेको छ । सबैभन्दा मुख्य कुरो त होचा पुड्का व्यक्तिहरूको खासै पहिचान र यकीन हुनै सकेको छैन । सरकारी एवं गैरसरकारी निकाय र संघ संस्थाहरूबाट सहयोग हुनसके यो काम गर्न सहज हुनेछ । घर परिवारका साथै समाजबाट पनि होचा पुड्का व्यक्तिहरूको विकासका लागि गर्नुपर्ने जति काम हुन नसक्दा यो समुदायले अनेकखाले समस्या व्यहोर्नुपरिरहेको हो । समाजका अन्य व्यक्तिको तुलनामा अगाडि बढ्न नसकिरहेको अवस्था सिर्जना भइरहेको हो ।

नेपाली समाजमा होचा पुड्का मानिसहरूका लागि सानो हुँदा हिड्डुलमा कठिनाइ हुने गरेको छ । उनीहरूले अरूको सहयोग लिनुपर्ने वा भरपर्नुपर्ने अवस्था छ । उचाइ कम हुने भएकाले मोटर, मोटरसाइकल जस्ता सवारीका साधन चढ्ने, उत्रने अर्थात प्रयोगमा समस्या हुनेगरेको छ । शौचालयका चुकुल निकै माथि राखिने र कमोड पनि अग्ला हुने गर्नाले कम उचाइ भएका होचा पुड्का व्यक्तिहरूले सहज तरिकाले तिनको प्रयोग गर्न नसकिरहेको पाइन्छ ।

नेपाली समाजमा होचा पुड्का मानिसहरूले समान कामको समान ज्यालको विश्वव्यापी सिद्धान्त अनुसारको व्यवहार पाउन सकिरहेको अवस्था छैन । उनीहरूको श्रमशोषण हुने गरेको छ । त्यसैगरी, मानिसहरूले हास्यको पात्रको रूपमा लिने गरेका छन् । आमा बाबुलगायतका अभिभावकले इज्जतको डरले होचा पुड्का मानिसहरूलाई घरबाट बाहिर निकाल्न हिचकिचाउने जस्तो गलत सोचमा परिवर्तन आउन सकिरहेको छैन ।

होचा पुड्का शारीरिक अवस्था भएका मानिसहरूले पनि समाजमा अरू व्यक्तिहरूसरह जीवनयापन गर्न पाउनु उनीहरूको नैसर्गिक एवं मानव अधिकार हो । उनीहरूले सजिलै यस्ता अधिकार उपभोग गर्न पाउने अवस्था निर्माण गरिनुपर्छ । यस्तो अवस्था निर्माण गर्ने दायित्व घर-परिवार, समाजका साथै राज्यको हो । त्यसका लागि होचा पुड्का मानिसहरू पनि समाजका अङ्ग हुन् भन्ने समाजिक सचेतना फैलाउनु ज्यादै आवश्यक छ । प्रत्येक आमा-बाबुले अरू सन्तानसरह होचा पुड्का मानिसहरूलाई पनि माया-ममतालगायत अन्य सुविधा उपलब्ध गराउनुपर्छ ।

समाजले होचा पुड्का मानिसहरूप्रति सकारात्मक सोच राख्नुपर्छ । होचा पुड्का मानिसहरूलाई उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरिए उनीहरूमा आत्मविश्वास अरू बढेर समाजमा उदाहरण प्रस्तुत गर्न सक्छन्, जसले गर्दा समाजमा रहँदै आएका जति पनि नकारात्मक सोच छन्, ती कम हुँदै जान्छन् ।

राज्यले होचा पुड्का मानिसहरूका लागि शिक्षा, स्वास्थ्यका साथै रोजगारीको प्रत्याभूति गर्नुपर्छ । त्यसो हुनसके उनीहरू आत्मनिर्भर बन्नसक्छन् । उनीहरू आत्मनिर्भर हुँनु समाजका साथै राज्यका लागि पनि लाभदायक कुरा हो । यसले मुलुकको विकासमा पनि निश्चय नै सकारात्मक प्रभाव पार्छ ।

सबैखाले भौतिक संरचना होचा पुड्का व्यक्तिलगायतका अपाङ्गता भएका व्यक्तिहरूका लागि सुविधायुक्त हुनुपर्छ । यातायातका साधनहरू पनि उनीहरूले सजिलै प्रयोग गर्न सक्ने हुनुपर्छ भने भाडामा पनि उनीहरूलाई सहुलियत प्रदान गरिनुपर्छ ।

सीप मानिसलाई आत्मनिर्भर बनाउने सबैभन्दा उपयुक्त साधन हो । होचा पुड्का मानिसहरूलगायत सबैखाले अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको अवस्था सुहाउँदा सीप सिकाउन सके त्यसबाट आय आर्जन गरी उनीहरू आत्मनिर्भर हुनसक्छन् ।

अपाङ्गता भएका व्यक्तिहरूमा पनि अपाङ्गता भएका महिलाका समस्या अझ बढी गम्भीर रहने गरेका छन् । उनीहरूको सबैभन्दा मुख्य समस्याका रूपमा परनिर्भरता र असुरक्षा रहेका छन् । त्यसैले उनीहरूलाई आत्मनिर्भर र सुरक्षित गरिनु अति नै जरुरी छ । त्यसैगरी यस्ता महिलाहरूका लागि पुनर्वासको व्यवस्था गरिनु पनि ज्यादै आवश्यक छ ।

होचा पुड्का मानिसहरूका हितमा काम गर्न सबैभन्दा पहिले उनीहरूबारेका तथ्याङ्क सङ्कलन गरिनुपर्छ । अपाङ्गतासम्बन्धी काम गर्ने सरकारी एवं गैरसरकारी सङ्घ संस्थाहरूले मुलुकभरि रहेका होचा पुड्का मानिसहरूसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न सहज हुन्छ ।

विविधता समाजको विशेषता हो । त्यहाँ सबै किसिमका मानिसको वसोवास रहेको हुन्छ । उनीहरूका क्षमता एवं आवश्यकता फरक फरक हुने गर्छन् । यति हुँदाहुँदै पनि राज्यका लागि सबै समान हुन्छन् । त्यसैले सरकारी निकायबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिने कार्यक्रम होचा पुड्का मानिसहरूका लागि पनि छुट्याइनुपर्छ ।