पहुँचयुक्तताको नमुना अभ्यास सहरी विकास मन्त्रालय !
सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको कोसी प्रदेशको भवन तथा परिसर सार्वजनिक सरकारी कार्यालयमध्ये सबै नागरिकलाई स्वतन्त्ररूपमा स्वनिर्भरता पूर्वक सेवा लिन पहुँचयुक्त छ । पहुँचयुक्तताको सर्वमान्य ढाँचा अनुसार निर्माण तथा मर्मत एवं सुधार भएकाले सबै व्यक्तिलाई सेवा प्रदान र प्राप्त गर्न प्रशंसनीय एवं स्वागतयोग्य काम भएको छ ।
सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको भवन तथा परिसर मन्त्रालय जाने मूलबाटोदेखि सहायक बाटो अवरोधमुक्त कालोपत्रे पक्की गरिएको छ । सबैका लागि हिड्न सहज, पहुँचयुक्त भएकाले यो बाटोमा बालबालिका, गर्भवती महिला, बिरामी, ज्येष्ठनागरिक, सहायक सामग्रीको सहायताबाट हिड्ने र अन्य अपाङ्गता भएका व्यक्तिहरूका लागि मन्त्रालयको प्रवेशद्वारसम्म पुग्न सहज छ ।
मन्त्रालयको प्रवेशद्वारदेखि मन्त्रालय भवन, सवारी साधन पार्किङ स्थल, शौचालय, खानेपानी, चमेनागृह, प्राविधिक शाखासम्म पुग्न ट्याक्टायल, मन्त्रालय प्रवेश गर्न, शौचालय, प्राविधिक शाखासम्म पुग्न पहुँचयुक्त ढाँचाको र्याम्प, परिसरमा पहुँचयुक्त संकेत चिह्न, पहुँचयुक्त परिसर, मन्त्रालयका कर्मचारी र मन्त्रीको पहुँचयुक्त ढाँचामा विवरण, पहुँचयुक्त स्थानमा गुनासो वा सुझाव पेटिका, आगो निभाउने यन्त्र र सेवाग्राहीसँग मैत्रीपूर्ण व्यवहार प्रदर्शन हुने भएकाले पहुँचयुक्तताको एक नमुना अभ्यास भएको छ ।
सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको भवन परिसर सर्वमान्य विश्वव्यापी पहुँचयुक्तताको नमुना अभ्यास देखिनुमा राष्ट्रिय अपाङ्ग महासंघ-नेपालले सीबीएम ग्लोबलको सहकार्यमा ७ वटै प्रदेशमा सञ्चालन गरिरहेको “हामीलाई पनि समावेश गर” परियोजनाको परिणाम हो ।
महासंघको कोसी प्रदेश कार्यालयले परियोजनामार्फत मन्त्रालयका इन्जिनियरलाई पहुँचयुक्त भौतिक संरचना डिजाइन र निर्माणका सम्बन्धमा पटक-पटक गरी ३ चरणको तालिम प्रदान गर्यो । मन्त्रालयको भवन तथा परिसर पहुँचयुक्तताको अवस्था पहिचानका लागि भवन परिसरको पहुँच परीक्षण र निष्कर्षसहितको प्रतिवेदन तयार गरी हस्तान्तरण गर्यो ।
त्यसका लागि स्थानीय पहुँच परीक्षण वकालत समूहमार्फत पैरवी वकालत, परियोजना कार्यदलबाट अनुगमन, मन्त्रालयका सचिव र मन्त्रीसँग छलफल बैठक, मिडियाकर्मी परिचालन, अनुरोधपत्र हस्तान्तरण, निरन्तर फलोअप, सार्वजनिक बहस र प्राविधिक सहयोग प्रदान गर्यो । यसैको परिणामस्वरूप सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कोसी प्रदेशकै पहुँचयुक्तताको नमुना अभ्यास भएको सरकारी कार्यालय भएको छ ।
यस मन्त्रालयको परिसर, पार्किङ स्थल, र्याम्प, शौचालय, खानेपानीका संरचना, हातमुख धुने बेसिन, दृष्टि र सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि मापदण्डमा आधारित पहुँचयुक्त टेकटायल र संकेत चिह्न अवलोकन गर्दा पहुँचयक्तताको अभ्यास भएको स्पष्ट हुन्छ ।
महासंघको पैरवी वकालत हुनुभन्दा पहिले कोसी प्रदेशको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको भवन परिसरसम्म जानका लागि मूलबाटोदेखि जोडिएको सहायक बाटो खाल्डाखुल्डी भएको ग्राबेल थियो । त्यस बाटोमा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने विशेष प्रकारका तीनपाङ्ग्रे स्कुटरका साथै सहायक सामग्री प्रयोग गर्ने व्यक्तिहरूले आवत-जावत गर्न सक्ने अवस्था थिएन ।
वर्षाको मौसममा बाटो पूर्णरूपमा हिलो हुन्थ्यो । पानी जमेर मन्त्रालय पुग्ने सहायक बाटो आवत-जावत गर्न बन्द हुने गरेको थियो । मन्त्रालयको प्रवेशद्वार, परिसर, शौचालय, भवन प्रवेश गर्ने स्थान, खानेपानी, चमेनागृह, प्राविधिक शाखा, परिसरमा रहेका विभिन्न संकेत चिन्ह, सवारी साधन पार्किङ स्थल, हातमुख धुने बेसिन कुनै पनि संरचना अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न सकिने अवस्था तथा आकारका थिएनन् ।
महासंघले कोसी प्रदेश कार्यालयमार्फत सबैका लागि सर्वमान्य पहुँचयुक्त ढाँचामा सार्वजनिक सरकारी कार्यालयहरूको भवन तथा परिसर निर्माण र सुधारका लागि काम गर्यो । त्यस अन्तर्गत प्रत्यक्षरूपमा कोसी प्रदेशका मोरङ, झापा, सुनसरी र उदयपुर जिल्लाका २२ वटा कार्यालयको पहुँचयुक्ततासम्बन्धी तालिम प्राप्त प्राविधिक/इन्जिनियरसहित १० प्रकारका अपाङ्गता भएका व्यक्तिको सहभागितामा पहुँच परीक्षण गरी प्रतिवेदन तयार गर्यो ।
सुझावसमेत उल्लेख गरिएका प्रतिवेदन सम्बन्धित कार्यालयहरूमा हस्तान्तरण गरिए । कोसी प्रदेशमा पहुँच परीक्षण गरी प्रतिवेदन हस्तान्तरण गरिएका कार्यालयमध्ये सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले पहुँचयुक्तताको नमुना अभ्यास व्यावहारिकरूपमा गरेको छ ।