नाम र परिचय
यो महासन्धिको अंग्रेजी नाम “Convention on the Rights of Persons with Disabilities” (कन्भेन्सन अन द राइट्स अफ पर्सन्स विथ डिसेविलिटिज) हो । यसलाई छोटो रूपमा CRPD वा UNCRPD भन्ने गरिन्छ । नेपालीमा यसलाई “अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि” भनेर अनुवाद गरिएको छ भने नेपाली भाषामा पनि “सीआरपीडी” एउटा चलनचल्तिको शब्दावली बनिसकेको छ ।
यो संयुक्त राष्ट्रसंघले जारी गरेको एउटा अन्तर्राष्ट्रिय कानुन हो । २० मे २००८ देखि यो कानुन संसारभरि लागू भइसकेको छ । यस कानुनलाई कुनै देशको संसद्ले अनुमोदन गरिसकेपछि यो त्यस देशको कानुन बन्छ र त्यस देशको सरकारले यसलाई अनिवार्यरूपमा लागू गर्नुपर्छ । नेपालको संसद्ले यो कानुनलाई अनुमोदन गरिसकेको हुनाले यो अब नेपालमा पनि लागू भइसकेको छ ।
यस दस्तावेजको मुख्य आशय सबै मानव अधिकार अपाङ्गता भएका व्यक्तिहरूले पनि समानरूपमा उपयोग गर्न पाउनुपर्छ भन्ने हो । त्यसैले यसमा अन्य नागरिकलाई जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई मानव अधिकारहरू दिलाउन विभिन्न कानुनी व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूका विशेष अधिकार पनि यस कानुनमा उल्लेख गरिएका छन् । सरकारले अपाङ्गता भएका व्यक्तिहरूका लागि के कस्ता सेवा सुविधा उपलब्ध गराउनुपर्छ भन्ने बारेमा पनि यस दस्तावेजमा उल्लेख गरिएको छ र ती सेवा सुविधा सरकारले कसरी उपलब्ध गराउनुपर्छ भन्ने बारेमा समेत यसमा निर्देशनहरू दिइएको छ । अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने विभिन्न प्रकारका भेदभाव, उपेक्षा, दुर्व्यवहार र हिंसाहरू अन्त्य गर्न र उनीहरूले भोगिरहेका विभिन्न समस्या र पीडाहरूबाट उनीहरूलाई मुक्त गर्न सरकारले गर्नुपर्ने कामहरूका बारेमा यसमा उल्लेख गरिएको छ ।
यस महासन्धिमा अपाङ्गता भएका व्यक्तिहरूको हितका लागि ५० वटा मुख्य कानुनी व्यवस्था (जसलाई धारा पनि भनिन्छ) गरिएको छ । यी ५० वटा व्यवस्थाभित्र अरू थुप्रै व्यवस्था पनि छन् ।